बर्दियामा गैँडा गणना बुधबारदेखि सुरु

काठमाडौँ । एक सिँगे गैँडाको राष्ट्रिय गणना बर्दिया राष्ट्रिय निकुञ्जमा यही १८ गते बुधबारदेखि हुने भएको छ ।

राष्ट्रिय गणनाको शुभारम्भ चितवन पर्सा राष्ट्रिय निकुञ्जबाट यही चैत ९ गते गरिएको थियो । चितवन पर्सा क्लष्टरमा हाल गैँडा गणनाको कार्य भइरहेको छ ।

बिष्णुप्रसाद श्रेष्ठ, प्रमुख संरक्षण अधिकृत
बर्दिया राष्ट्रिय निकुञ्ज

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बिष्णुप्रसाद श्रेष्ठका अनुसार १७ गते गैँडा गणना काममा सहभागी हुने प्राविधिक टोलीलाई प्रशिक्षण दिइने भएको छ । प्रशिक्षणमा हात्तीको माउते, रेञ्जर, सहायक संरषण अधिकृत लगायतका प्राविधिकको सहभागिता रहने छ । करिब दुई हप्तामा गणना सकिने योजना बनाएको निकुञ्जले १० वटा हात्ती र ६० जना प्राविधिक जनशक्ति परिचालन गर्ने भएको प्रमुख संरक्षण अधिकृत श्रेष्ठले नेपालकथालाई बताए । बर्दियाको कर्णाली नदी तटीय क्षेत्रमा र बबई उपत्यकामा गैँडा गणनाका लागि ब्लक छनौट गरिएको छ । प्रमुख संरक्षण अधिकृत श्रेष्ठले शुक्रवार नेपालकथासँग भने, हामी गणनाका पूरा तयारीमा छौँ । आवश्यक सबै काम पुरा भइसकेका छन् ।

सन् २०१५ को गणनामा बर्दिया राष्ट्रिय निकुञ्जमा २९ वटा गैँडा रेकर्ड भएका थिए । पछि चितवन राष्ट्रिय निकुञ्जबाट पाँच वटा गैँडा स्थानान्तरण गरिएको थियो । यो समेत गरी ३६ वटा गैँडा बर्दियामा छन् । अबको गणनामा कम्तिमा ४० वटा गैँडा भेटिने अनुमान गरिएको छ ।

पछिल्ला दिनमा बर्दियामा चोरी शिकारबाट गैँडा नमरे पनि प्राकृतिक कारणले गैँडा मर्ने गरेका छन् ।

प्रमुख संरक्षण अधिकृत श्रेष्ठका अनुसार विगत चार/पाँच वर्ष यता आईडी बेस मोनिटरिङ (पहिचानका आधारमा गैँडाको अनुमगन) भइरहेकोले गैँडा गणनाका लागि खासै अप्ठ्यारो नहुने भएको छ ।

बर्दिया पछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १९ गतेबाट गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here