भारतमा कोरोनाबाट हालसम्मकै सबैभन्दा थोरै सङ्क्रमित

नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या ४४ दिनपछि सबैभन्दा थोरै देखिएको छ ।

दैनिक सङ्क्रमितको सङ्ख्या यो महिना दुई लाखभन्दा कम भएको यो दोस्रो पटक भएको पनि अधिकारीहरूले जनाएका छन् ।

पछिल्लो समय एक दिनमा एक लाख ८६ हजार ३६४ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको पाइएको छ ।

यसअघि दैनिक तीन लाख १८ हजार ८९५ जना सङ्क्रमित भएका थिए भने एकै दिनमा तीन हजार ६६० जनाको कोरोना भाइरसका कारण मृत्यु भएको थियो ।

भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या दुई करोड ७५ लाख ५५ हजार ४५७ पुगेको तथ्याङ्क सार्वजनिक गरिएको छ ।

कुल सङ्क्रमितमध्ये दुई करोड ४८ लाख ९३ हजार ४१० जना सङ्क्रमणमुक्त भइसकेको केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ ।

भारतमा पछिल्लो समय कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या पनि बढेर ९०.३४ प्रतिशतसम्म पुगेको छ । बिहीबार मात्रै भारतमा २० लाख ७० हजार ५०८ जनाको कोरोना परीक्षण गरिएको छ ।

भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या २३ लाख ४३ हजार १५२ रहेको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here