तस्विर नभेटिएका सचिव

काठमाडौँ ।
असार १७ गते, बिहीवार साँझको सम्बाद
नेपालकथा ः हेलो ….मन्त्री ज्यू नमस्कार ।
वन मन्त्री (कृष्णगोपाल श्रेष्ठ) ः नमस्कार, म त बालुवाटारमै छु । पछि कुरा गरौँ है ।
नेपालकथा ः मन्त्रीज्यू, मैले छोटो कुरा गर्न चाहेको हो ।
वन मन्त्री श्रेष्ठ ः त्यसो भए भनिहाल्नुहोस् छिट्टो ।
नेपालकथा ः आज सचिवमा बढुवाको निर्णय के भयो ? कसको भयो होला मन्त्री ज्यू ?
वन मन्त्री श्रेष्ठ ः एएए.. आज त धेरै जनाको भको छ ।
नेपालकथा ः वनमा कस्को भयो भन्ने मात्र थाहा पाए हुन्थ्यो मन्त्री ज्यू
वन मन्त्री श्रेष्ठ ः एएए.. त्यसमा त त्यो हाम्रो एक जना डाक्टर साफको भयो ?
नेपालकथा ः को डाक्टर साफ मन्त्री ज्यू ? वनमा दुई जना डाक्टर साफको नाम हो सिफारिस भको ।
वन मन्त्री श्रेष्ठ ः त्यो के हाम्रो सिनियर सहसचिव डा.साफ हुनुहुन्छ नि, उसमा के ….. त्यो चुरेमा भएको डा. साफ के ।
नेपालकथा ः भनेपछि कृष्ण आचार्य डा. साफको भएको हो अर्का डाक्टर खरालको होइन नि ? म क्लियर भए हुन्छ, आचार्य सरको भएको हो अर्का डाक्टर खराल सरको होइन है त्यसो भए ।
वन मन्त्री श्रेष्ठ ः हो, उहाँको नै भयो । उहाँ सिनियर पनि हो ।
नेपाल कथाले वन मन्त्री श्रेष्ठसँग बिहीवार मन्त्रीपरिषदको निर्णयका बारेमा गरेको
सम्बाद हो यो ।

बिहीवार साँझ सात बजे बसेको मन्त्री परिषदको बैठकले वन तथा कृषि सेवा, इन्जिनियरिङ र प्रशासन सेवाको आधा दर्जन सचिव पदको नाम अनुमोदन गर्ने एजेण्डा थियो । लोकसेवा आयोगको अध्यक्ष माधव रेग्मीको सिफारिस समितिले अघिल्लो दिन केही सम्भावित सहसचिवको नाम सरकारलाई सिफारिस गरिसकेको थियो ।

बिहीवार दिउँसो १२ बजेतिर कालीगण्डकी डाइभर्सनका बारेमा सरकारका प्रभावशाली मन्त्री विष्णु पौडेलसँग नेपालकथाले कुरा गरेको थियो । सन्दर्भ कालीगण्डकीको भएपनि सचिव बढुवाको विषयमा यही मौका छोपेर थोरै कुरा भयो । मन्त्री पौडेलले यस पटक सबै सिनियर राष्ट्रसेवकलाई नै पदोन्नती गरिने, अरु आग्रह पूर्वाग्रहका रुपमा नहेरिने बताएका थिए ।

बिहीबार दिउँसो नै वन तथा वातावरण मन्त्री कृष्णगोपाल श्रेष्ठसँग नेपाल वन प्राविधिक परिषद ऐनका बारेमा नेपालकथाले कुरा गर्दा सचिव बढुवाको कुराले समेत थोरै कुरा गर्ने अवसर जुरेको थियो । उहाँले पनि बरिष्ठ व्यक्तिलाई नै प्राथमिकता दिइने बताएपछि सचिव बढुवामा एक किसिमको अड्कल गर्न सहज भएको थियो ।

दुई ÷ तीन पटक नाम सिफारिसमा परेका वन सेवाका कृष्ण आचार्य वा कृषि समुहका निरु दाहाल पाण्डेको बढुवा हुने अड्कल गरियो र बिहीवार दिउँसो नै डा. आचार्य र पाण्डेसँग सम्पर्क गरी तस्विर र बायोडाटा पठाइ दिन अनुरोध नेपालकथाले गर्यो ।

केदार बरालले सार्वजनिक गरेको तस्विर

बिहीवार साँझ पौने नौ बजेतिर सचिव बढुवाको स्थिति थाहा भएपछि केही सिमित अनलाइन समाचारहरुले सचिव बढुवाको सूचना सार्वजनिक गरे । विषयगत अनलाइनहरुले सचिव बढुवाको समाचार प्राथमिकतामा राखेको भएपनि राजनीतिक विषयका अनलाइनहरुले यो कुरालाई खासै महत्व दिएनन् । वन तथा वातावरण क्षेत्रको विषयलाई केन्द्र भागमा राखेर स्थापित नेपालकथा अनलाइनले वन तथा कृषि समुहको सचिवमा डा. केपी आचार्यको बढुवाको समाचार पहिलो पटक सार्वजनिक गर्यो ।

यस पटकका सचिवको बढुवा सामाजिक सञ्जालमा जति चर्चा पाउनु पर्ने हो, बढुवाको समाचार जति भाइरल हुनु पर्ने हो त्यति हुन सकेन । एउटा कारण थियो, राती अबेर भएको निर्णय र अर्काे कुरा सचिव बढुवा भएका व्यक्तिको तस्बिर नै नभेटिनुको दुख्ख ।

सचिव बढुवा हुने करिब पक्का पक्की जस्तै अड्कल गरेका डा. आचार्यलाई बिहीवार दिउँसो नेपालकथाले मागेको तस्विर नै पछि सामाजिक सञ्जालमा भाइरल भयो ।


बधाई आयो तस्विर बिनाको

बढुवा हुने सचिव डा. कृष्णप्रसाद आचार्यको सामाजिक सञ्जालमा पनि खासै तस्विर भेटिएन । नेपालकथाले सचिव बढुवाको समाचार सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा बधाई दिने लुुम्बिनी प्रदेशका वन सचिव डा. राजेन्द्र केशीले त तस्विर बिनाको बधाई दिए । बर्दिया राष्ट्रिय निकुञ्जका पूर्व वार्डेन रमेश थापाले समेत तस्विर बिनाको बधाई फेसबुकमा सार्वजनिक गरे ।

नेपालकथाले सार्वजनिक गरेको तस्विर

शुक्रवार दिउँसो मात्रै बिहीवार पदोन्नती भएका सचिव कृष्ण आचार्यका नातेदार पूर्व शिक्षा सचिव विश्वप्रकाश पण्डित र पूर्व जर्नेल बाबुकृष्ण कार्कीले दुई वटा तस्विर बधाईका साथ नयाँ तस्विर सार्वजनिक गरे । डिफानका अध्यक्ष दामोदर शर्मा लगायतका व्यक्तिहरुले नेपालकथामा सार्वजनिक भएको तस्विरलाई प्रयोग गरे ।

वन मन्त्रालयका एक सहसचिवले नेपालकथासँग भने, मन्त्रालयभित्रको एक जना सिनियर अफिसर सचिव हुँदाका बखत बधाई दिन धेरै कर्मचारी, शुभचिन्तकले तस्विरको खोजी गरेको थाहा भयो । तर उहाँको सामाजिक सञ्जालमा कसैसँग सम्बन्ध नभएपछि कतिपयले फोनमा बधाई दिए । हामीले पनि सामाजिक सञ्जालमा बधाई दिन सकेनौँ । फोन गरेर चित्त बुझाइयो ।

किन भेटिएन तस्विर
निजामति सेवामा प्रवेश गरेको सबै कर्मचारीका लागि सचिव पदमा पुग्ने अन्तिम लक्ष्य हुने गर्छ । वन मन्त्रालयमा सबैभन्दा सिनियर भएर पनि सचिव पदमा बढुवा हुन नसकेका आचार्य र आचार्यका शुभचिन्तकलाई उनको सचिवमा पदोन्नतीको भन्दा ठूलो खवर केही हुन सक्दैनथ्यो । हरेक खुसीयालीलाई बाँड्ने माध्यामहरु सामाजिक सञ्जालमा डा. आचार्यको तस्विर नै नभेटिनु अचम्मको घटना भयो ।

पावरवाला चस्मा, ढाका टोपी र सुटमा चिटिक्क देखिने डा. आचार्यको मुस्कान लठ्ठ पार्ने खालको छ । उसो त फोटोका पारखी मानिन्छन् उनी ।

आचार्यका आफन्त विश्वप्रकाश पण्डितले सार्वजनिक गरेको तस्विर

डा. आचार्यले दुई वटा आइफोन बोक्ने गरेका छन् । समारोह, जमघट तथा विशेष कार्यक्रममा उनको उपस्थिति हुने नै गर्छ । त्यस्तो जमघट तथा कार्यक्रममा तस्विर खिच्नु भनेको सामान्य जस्तै कुरो हो अचेल । तर किन उनको तस्विर उनका सयौँ आफन्तसँग भेटिएन ? र स्वयम् आचार्यसँग उनका तस्विर किन भेटिएनन् आश्चर्यजनक कुरा नै हुन पुग्यो ।

डा. आचार्य केही वर्ष पहिलेसम्म त फेसबुकका अम्मली हुन् । तर के कारणले उनले फेसबुक लगायतका सामाजिक सञ्जालबाट आफूलाई अलग गरे । त्यसको कारणले उनले बताउन चाहेनन् । वन विभागको महानिर्देशक हुनु भन्दा अघि सम्म डा. आचार्यले आफ्ना अभिव्यक्ति फेसबुकमा सार्वजनिक गर्ने गरेका थिए । डा. आचार्यको फेसबुक छ । उहाँको फेसबुक पेज निकै लामो समयदेखि अपडेट गरिएको छैन । खासगरी वन क्षेत्रका अधिकांश व्यक्तिहरुको सञ्जालमा डा. आचार्य जोडिनुभएको छैन ।

सन् २०१८ सालमा जर्मनीको हैम्बर्ग विश्वविद्यालयको जीव विज्ञान विभागबाट पीएचडी गर्नुभएका आचार्यले देश विदेश प्रशस्त घुमेका छन् । घुम्दा तस्विर खिचेको हुनुपर्ने हो । सन् १९९७ मा बेलायतका एडिनबर्ग विश्वविद्यालयको वन विज्ञानबाट एमए पास गरेका आचार्यले महेन्द्र विद्याभूषण, उपकुलपति स्वर्ण पदक, सुप्रवल जनसेवा श्री, नेपाल विद्याभूषण पीएचडी पुरस्कार समेत प्राप्त गरेका छन् । यी सभा, समारोहमा पक्कै तस्विर खिचिएका थिए होलान् । तर ती कुनै पनि तस्विर सार्वजनिक हुन सकेनन् ।

२०४७ सालमा बिएससी जनरल फरेष्ट्री पास गरेका आचार्यले २०४७ सालमा इसिमोडको अध्ययन अनुसन्धानकर्ताको रुपमा जागिर सुरु गरेका हुन् ।

पूर्व जर्नेल बाबुकृष्ण कार्कीले सार्वजनिक गरेको तस्विर

कर्णाली प्रदेशमा वन सचिवको रुपमा काम गरेर राष्ट्रपति चुरेमा सदस्य सचिवको भूमिकामा आएका डा. आचार्यसँग वन विभागको महानिर्देशक, वन मन्त्रालयको योजना महाशाखा प्रमुख हुँदा दर्जनौँ कार्यक्रममा सहभागिता जनाउँदा तस्विर खिचिएका हुनु पर्ने हो । ती कार्यक्रममा सहभागि सयौँ वन प्राविधिकसँग किन आचार्यको तस्विर भेटिएन । यो नै कौतुहलताको विषय बनेको छ ।

गुगलमा सर्च गर्दा समेत उनका पर्याप्त तस्विर भेटिदैनन् । कृष्णप्रसाद आचार्य नाम गरेको सामान्य व्यक्तिको रेकर्ड गगुलसँग भएपनि नेपाल सरकारको सचिव पदमा पुगेको व्यक्ति बारे गुगल पनि बेखवर रहेछ ।

वन अनुसन्धान विभागका सहायक अनुसन्धान अधिकृतबाट सरकारी सेवा सुरु गरेका आचार्य निकुञ्ज विभागको महानिर्देशक हुँदा एकदमै चल्ताफूर्तिला सहसचिव हुन् । समकालिन सहसचिवहरुले पनि केपी आचार्यको तारिफ गर्दै तस्विर खिचाएको देखिन्थ्यो तर ती तस्विर कसैले पनि सार्वजनिक गरेनन् । किन ?

गुगलमा भेटिएको तस्विर

१९९१ मा सहायक अधिकृतको रुपमा प्रवेश गरेका आचार्यले जीवनको एकदमै उत्तारार्धमा सचिवको पदमा बस्ने अवसर पाएका छन् । आचार्य केही महिना मात्र सचिवको भूमिकामा रहेर सेवा निवृत हुने पक्का छ ।

सार्वजनिक पद धारण गरेको व्यक्तिको तस्विर सहज रुपमा नभेटिएपछि नेपालकथाले डा. आचार्यसँग जिज्ञासा राख्दा उनले भने, म फेसबुक खासै चलाउदिन । घरमा त थुप्रै फोटो हुन्छन् । त्यहि घरमा भएको फोटोको फोटो खिचेर मैले तपाईलाई पठाइदिएको हुँ ।

डा. आचार्यका तस्विरका बारेमा
रमेश थापा, पूर्व वार्डेन बर्दिया

उहाँ सचिवका पदोन्नती भएको खवर पाउँदा खुसी लाग्यो । निकुञ्ज विभागको महानिर्देशक भएको व्यक्ति सचिव पदमा पुग्नु हाम्रो लागि खुसीको कुरो थियो । अनि तत्कालै फेसबुकमा बधाई दिन पर्यो भनेर फोटो खोजे, भेटिन । उहाँको फेसबुक पनि रहेनछ कि जस्तो लाग्यो । कतै नभेटेपछि तस्विर बिनै बधाई ज्ञापन गरे ।

डा. राजेन्द्र केशी, प्रदेश सचिव, लुम्बिनी

बिहीबार राती अबेर थाहा भयो, केपी सर सचिवमा पदोन्नती भएको । तस्विर मसँग कतै हुनु पर्ने त हो । तर खोज्दा भेटिन । उहाँको फेसबुक पनि छैन जस्तो लाग्छ । वन विभागको महानिर्देशकका रामप्रसाद लम्साल सरको स्वागत र केपी आचार्य सरको बिदाईको बेला फोटो मसँग हुनु पर्ने हो तर त्यति बेला भेटिन । अनि फोटो बिनाकै बधाई सार्वजनिक गरेको हुँ ।

बाबुकृष्ण कार्की, पूर्व जर्नेल,नेपाली सेना

कृष्ण प्रसाद आचार्य हकी स्वभावको मान्छे हो । नीति नियमले हुन्छ भने हुन्छ । हुन्न भने हुन्न भन्ने मान्छे । उहाँ निकुञ्जको महानिर्देक भएर बस्दा निकै सुधारका काम गर्नुभयो । तर उहाँसँगको फोटो भने दुर्लभ नै रहेछ । अघिल्लो वर्ष चितवनमा भएको वल्र्ड रेञ्जर सेमिनारमा उहाँ सुर्खेतबाट भाग लिनु आउनुभएको थियो । मैले एक क्लिक फोटो हानेको थिए । अस्ति तेही काम लाग्यो । उहाँको फोटोहरु खासै मैले पनि सार्वजनिक भएको देख्दिन । तस्विर जे भएपनि मान्छे चाँही सुधारबादी नै हो ।

दामोदर शर्मा, अध्यक्ष डिफान

डा. आचार्य दाईले फेसबुक चलाउनुहुन्न । त्यसैले अरु व्यक्तिको जस्तो खोजेको बेला छानेर फोटो पाउन गाह्रो हुन्छ । उहाँसँग मेरो फोटोहरु त निकै धेरै हुनु पर्ने हो । त्यसका लागि खोज्नु पर्यो । उहाँको फेसबुक भएको भए जति पनि भेटिन्थ्यो होला । फेसबुक नहुँदा मैले पनि सामाजिक सञ्जालमा खासै उहाँको फोटो देख्दिन ।

तस्विर नभेटिदाको बिखलबन्द

कुरो २०४० साल पुस महिनातिरको हो । तत्कालिन पञ्चायती कालमा नवराज सुवेदी र राजेश्वर देवकोटा उदयमान नक्षत्र थिए । राजदरबार निकट दुबै जनाका बीच दरबारसँग को नजिक हुने भन्ने होडबाजी नै थियो । राजेश्वर देवकोटा उपचारको क्रममा केही दिनका लागि दिल्ली गएको बेला राजदरबारको सम्बाद सचिवालयमा देवकोटाको तस्विरको खोजी भयो । तर भेटिएन ।

युरोप भ्रमणका लागि तत्कालै उहाँको तस्विर चाहिएको थियो । उहाँको तस्विर नभेटिएपछि नवराज सुवेदी युरोप जाने अवसर प्राप्त गरेका थिए । दरबारको चाहना सुवेदी भन्दा देवकोटालाई पठाउने थियो । त्यो घटनामा देवकोटाको तस्विर जतन गरेर नराख्ने सम्बाद सचिवालयको एक जना कर्मचारीको जागिर गएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here