बैँकक । आठौंँ आइयूसिएन एशिया क्षेत्रीय संरक्षण मञ्च (आरसिएफ) को सम्मेलनमा नेपालले संरक्षणका क्षेत्रमा हासिल गरेका सफलताका तीन बुँदे सन्देश प्रवाह गरेको छ ।
सम्मेलनमा नेपालले विशेष गरी विश्वमा दुर्लभ मानिएको पाटेबाघ, एकसिङे गैँडा, हात्ती लगायतका वन्यजन्तुको संरक्षणमा पाएको सफलता बारे आठौंँ आइयूसिएन एशिया क्षेत्रीय संरक्षण मञ्च (आरसिएफ) मा सहभागी भइरहेका सदस्य मुलुकका प्रतिनिधिसमक्ष तीन बुँदे सन्देश प्रवाह गरेको हो ।
नेपाल विकसित मुलुक पनि होइन, तर पनि विकासको काम जस्तै संरक्षणको विषय पनि प्राथमिकतामा पर्दै आएको छ । यसलाई पोलिटिकल कमिटमेन्ट राम्रो भएको मान्नुपर्छ ।
सम्मेलनमा सहभागी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक बेदकुमार ढकालले नेपालको संरक्षण क्षेत्रले सफलता पाउनुको पछाडीको प्रमुख कारण ऐन, कानून बलियो भएको उल्लेख गरेका छन् । उनले भनेका छन्, नेपालमा संरक्षणको विषय पहिले देखि नै प्राथमिकतामा पर्दै आएको छ, यसका लागि ऐन, कानूनहरु यथेष्ट बनेका छन् । ती ऐन, कानून बन्नलाई राजनीतिक नेतृत्वको प्रतिवद्धता नै प्रमुख कारण हो ।
उनले सम्मेलनमा भने, नेपाल विकसित मुलुक पनि होइन, तर पनि विकासको काम जस्तै संरक्षणको विषय प्राथमिकतामा पर्दै आएको छ । यसलाई पोलिटिकल कमिटमेन्ट राम्रो भएको मान्नुपर्छ ।
उपमहानिर्देशक ढकालले संरक्षणमा सफलताको दोस्रो शुत्रको रुपमा स्थानीय समुदायको सक्रिय सहभागिता भएको बताएका छन् । उनले संरक्षण क्षेत्र वरीपरी मध्यवर्ती क्षेत्रको व्यवस्थापन, पर्यापर्यटन प्रवर्धन, राजस्व बाँडफाँटको व्यवस्थाले स्थानीय समुदायमा अपनत्व सिर्जना हुँदा संरक्षणमा सफलता मिलेको सन्देश दिएका छन् ।
उपमहानिर्देशक ढकालले तेस्रो सन्देशको रुपमा अन्तरदेशीय सहभागिता र साझेदारीताले पनि नेपालको मात्र नभई छिमेकी मुलुक भारतमा पनि संरक्षणले सकारात्मक गति लिएको बताए । उनले सम्मेलनस्थलमा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै भने, अन्तरदेशीय सहभागिता र साझेदारिताले भूपरिधिस्तरमा संरक्षण गर्न सहज भएको छ । विशेष गरी ठूला प्रजातिका वन्यजन्तुको संरक्षणमा यो विधिले दुबै देशमा संरक्षणमा सकारात्मक लक्षण देखिएका छन् ।
नेपालले जंगली भैँसीको संरक्षणका लागि कोशी टप्पु, हात्तीको लागि पर्सा, एकसिङे गैँडाको लागि चितवन, बाघको लागि बर्दिया र बाह्रसिँगा संरक्षणका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज स्थापना गरेको हो । संरक्षणमा पाएको सफलतासँगै प्रजाति विशेष लागि संरक्षण क्षेत्र घोषणादेखि अन्तरदेशीय भूपरिधि स्तरको योजना सफलताका साथ सुरु गरेको कुरा उपमहानिर्देशक ढकालले अन्तर्राष्ट्रिय समुदायसमक्ष व्यक्त गरे ।
तीन दिनसम्म चल्ने सम्मेलनमा नेपालका तर्फबाट दुई दर्जन विज्ञ, संरक्षणकर्मी, संरक्षण साझेदार संस्थाका प्रतिनिधिले भाग लिइरहेका छन् ।