बजेटको बुँदा नम्बर १९९ ऐतिहासिक : वन मन्त्री

काठमाडौँ । वन तथा वातावरण मन्त्री नारदमुनी रानाले वर्तमान सरकारले ल्याएको बजेट सम्पूर्ण रुपमा उत्कृष्ट र लोकप्रिय भएपनि बजेटभित्रको बुँदा नम्वर १९९ का कारण निकै आलोचना खेपेको बताएका छन् ।

मन्त्री बनेपछि राष्ट्रपति चुरे तराई विकास समितिको ‘ब्रिफिङ’ लिने क्रममा सोमवार मन्त्री रानाले बजेटभित्र निकै लोकप्रिय कार्यक्रम समेटिको भएपनि बुँदा नम्बर १९९ले निकै आलोचना खेप्नु परेको बताए ।

उनले भने, बुँदा नम्वर १९९ ले सम्पूर्ण बजेटको लोकप्रियतामा माथि प्रश्न उठायो । यसको आलोचनाको पाटो आफ्नो ठाउँमा होला तर चुरेको सम्वेदनशिलता प्रति सिँगो राष्ट्र एकमत भएकाले देख्दा खुसी पनि लागेको छ ।

बजेटको १९९ नम्बर बुँदा नेपालको इतिहासमा एक ऐतिहासिक नम्बर हुने छ, उनको भनाई थियो । चुरे संरक्षणका लागि सबै सरोकारवालाले देखाएको चाँसोलाई सकारात्मक रुपमा लिनुपर्ने उनले धारणा राखे ।

मन्त्री नियुक्त हुने बित्तिकै चुरे संरक्षणका लागि ‘लिक्विड स्प्रे’ प्रयोग गर्न सकिने शब्दावली प्रयोग गरेर चर्चामा आएका मन्त्री रानाले सोमवारको कार्यक्रममा सो शब्दावली उच्चारण भने गरेनन् । तर उनले चुरे संरक्षणमा हाल प्रयोगमा ल्याइएको प्रविधि भन्दा फरक प्रविधिको खोजी गरेर नयाँ ढंगले काम गर्न सकिने धारणा राखे ।

उनले भने, म त पोल्टिकल साइन्सको विद्यार्थी हुँ । अलि अलि कानून पढेको हुँ । वन वातावरण विषयमा मलाई खासै थाहा छैन । त्यसैले यो क्षेत्रलाई सुधार गर्न म सधैँ सकारात्मक छु, यहाँहरुले यो विषयमा मलाई सहयोग गर्नुहोस्, मन्त्री रानाले भने ।

उनले भने, म मन्त्रीमा नियुक्त हुने बित्तिकै चुरेमा भएको बदमासीको भिडियो र फोटोहरु मलाई आउन थालेका छन् । यसको भेरिफिकेसन हुनु जरुरी छ । त्यसमा सत्यता कति छ ? ती फोटो र भिडियो नयाँ हुन वा पुरानो हुन । अब परीक्षण हुनु जरुरी छ ।

उनले चुरे विकास समितिका कर्मचारीले गर्ने काम प्रति गुनाशो सुनिन थालेको बताए । उनले भने, लम्की कैलालीको कार्यालय प्रमुख जहिले पनि भेटिदैन भन्ने जनगुनाशो व्यापक आएको छ । उपभोक्ता सम्झौता गर्न जाँदा कहिल्यै नभेटिने गरेको गुनाशो स्थानीय स्तरबाट आएको छ । यसलाई सुधार गर्न जरुरी छ । अन्यत्र पनि त्यस्तै त होला नि ?

आर्थिक घाटा पूर्ति गर्ने नाउँमा होस् वा विकासका नाउँमा चुरेमा डोजर चलाउन पाइदैन । यसलाई कडाईका साथ रोक्नु पर्छ, मन्त्री रानाले भने ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here