काठमाडौँ । वन तथा वातावरण मन्त्रालयका सचिव डा. पेमनारायण कँडेलले आफू नेपालको संरक्षण अभियानको एक सिपाही भएको धारणा राखेका छन् ।
३७ औँ वार्डेन सेमिनारको अवसरमा बोल्दै सचिव डा. कँडेलले नेपालको संरक्षण अभियानले विश्वजगतमा चर्चा पाएको उल्लेख गर्दै भने, विश्वमा नेपालको काँध उचो हुने काम संरक्षणको प्रयासले भएको छ । संरक्षणका लागि नेपालले अँगालेको मोडल अरुका लागि पनि अनुशारण गर्न लायक छ । म पनि यसको एक सिपाही भएकाले आफूलाई गर्व महसुस भइरहेको छ ।
सचिव डा. कँडेलले कार्यक्रमलाई सम्बोधन गर्दै भने, म २०४५ सालमा पार्कको रेञ्जरको रुपमा बर्दियामा काम गरेको हुँ । मैले रेञ्जरबाट सुरु गरेको जागिर अस्तिसम्म पनि यही विभागको डिजीको रुपमा थियो । यो मेरा लागि शौभाग्य नै हो ।
सचिव डा.कँडेलले भने, नेपालको संरक्षण अभियानका सुरुवाती अवस्थामा हामीले प्रजाति बिशेषको संरक्षणबाट अघि बढेका थियौँ । आजका दिनसम्म आइपुग्दा यो विभागको दायरा निकै फराकिलो भएको छ ।

सचिव डा.कँडेलले भने, एक्कासौँ शताब्दीको अवस्थामा आएर हाम्रा चाहना र योजनाहरुमा परिवर्तन आएका छन् । विकास हामी सबैको चाहना हो । यो आवश्यकता पनि हो । हाम्रा प्राथमिकतामा परिवर्तन आइरहेका छन् । त्यसैले त्यसको प्रभाव संरक्षित क्षेत्रमा पनि पर्नु स्वभाविकै हो । अन्तराष्ट्रिय एजेण्डामा पनि परिवर्तन भएका छन् । यस बारे हामी संरक्षणकर्मीहरुले पनि बिचार गर्नै पर्छ ।
स्वच्छ र स्वस्थ्य पारिस्थितिकीय प्रणाली विकास नगरीकन मानव समाज र सभ्यता पनि स्वच्छ र स्वस्थ्य बन्न सक्दैन भन्ने कुरा कोभिडले देखाएको छ । उनले भने, समग्र पृथ्वीको इकोसिष्टम जीवित नराखेसम्म मानव समाज पनि सहज रुपमा अघि बढ्न सक्दैन भन्ने पाठ सिकाएको छ । यो कुरा हामी संरक्षणका लागेका मानिस त कन्भिन्स छौँ । यी सिकाईलाई विशेष गरी राजनीतिक पेशाका व्यक्ति तथा अन्य सरोकारवालाहरुलाई पनि बुझाउनु आज हाम्रो गहन जिम्मेवारीमा पर्न गएको छ । विकासका आवश्यकता र हाम्रो संरक्षणको प्राथमिकतामा तालमेल मिलाउन सक्नु नै अहिलको चुनौती र अवसर दुबै हो ।

सम्बोधनका क्रममा सचिव डा. कँडेलले भने, मानव वन्यजन्तु द्धन्द्धको चुनौती थाति छन् । मध्यवर्ती क्षेत्रका समस्या यथावत छन् । बाघको आक्रमणबाट एक जना व्यक्तिको मृत्यु भएपछि सौराहामा भएको ठूलो दुर्घटना एक प्रतिनिधिमूलक घटना मात्र हो । मध्यवर्तीको अवधारणा अनुरुप निकुञ्ज बाहिरको मान्छे आफ्ना आवश्यकता पूरा गर्न निकुञ्जको कोर एरिया भित्र जानबाट कसरी रोक्ने र भित्रको जनावर बाहिर बस्तीसम्म आएर दुख्ख नदेओस भन्ने अवधारणाले मध्यवर्ती क्षेत्रको विकास भएको हो । यो उद्धेश्य पूरा हुन सक्यो कि सकेन ? यसको अध्ययन जरुरी छ । यो नै आजको बिचरणीय पक्ष हो । मध्यवर्ती क्षेत्रमा पैसा मात्र गएको छ वा त्यसले निगुरो टिप्न जानेलाई रोक्न सक्यो कि सकेन ? भित्र दाउरा गर्न जाने व्यक्तिलाई किन रोक्न सकेन ? भित्रको चोरी तस्करीलाई कति रोक्यो ? र द्धन्द्ध न्यूनीकरणमा त्यसले कति योगदान दियो भन्ने कुरा आज अध्ययनको विषय बनेको छ । आगामी दिनमा यसको अध्ययन पनि हामी गर्नेछौँ ।
डा. कँडेलको कडा निर्देशन
केही दिन अघि भएको चितवन सौराहाको घटनामा चितवन निकुञ्ज प्रशासनले भन्दा अरु व्यक्तिले आपूmलाई घटनाको बारेमा सुनाएको डा. कँडेलले बताए । डा. कँडेलले भने, त्यो घटना बारे तपाईहरु कसैले नसुन्दै सौराहाबाट एक जना संरक्षणकर्मीले मलाई घटनाको बारे सम्पूर्ण कुरा बताएका थिए । जुन घटना नहुनु पर्ने हो त्यो भयो । त्यो घटनामा मध्यवर्ती क्षेत्रका बासिन्दा र नेचर गाईडको संलग्नता देखिएको बुझियो । नेचर गाईड जसले निकुञ्जबाट फाइदा लिइरहनु भएको छ र मध्यवर्ती क्षेत्रका बासिन्दाले पनि सोही अनुसार केही न केही फाइदा पुगेको होला भन्ने हामीले सोचेको थियौँ । त्यो घटनामा उहाँहरुले सकारात्मक भूमिका खेल्नु पर्ने बेलामा उल्टो त्यस्तो भूमिका खेलेको देखियो । यस्तो किन भयो ? यस्तो अवस्था किन आयो ? भन्ने कुरा आउँदा दिनमा यो पनि सोचनीय विषय भएको छ । केही दिन अघि निकुञ्जको बाघको आक्रमणबाछ एक व्यक्तिको मृत्यु भएपछि निकुञ्जको सौराहा पोष्टमा स्थानीय व्यक्तिहरुले आक्रमण गरी तोडफोड गरेका थिए ।

मन्त्रालयका सचिव डा. कँडेलले भने, म संरक्षणको एक सिपाही पनि हुँ । नेपालको संरक्षणमा निकुञ्जका कर्मचारी र नेपाली सेनाको संयुक्त प्रयासमा स्थानीय बासिन्दाको साथले ठूलो काम गरेको छ । यो कुरालाई हामी सबैले स्वीकार गर्दै आएका छौँ । यद्धपी अझै थप सम्बन्ध र समन्वयको सुधारको खाँचो अझै छ भन्ने लागेको छ । चितवन राष्ट्रिय निकुञ्जको कोर एरिया भित्र प्राकृतिक कारणले मृत्यु भएको गैँडाको शरिर भेट्न ४० दिन किन लाग्यो ? चोरी तस्करीले मारेको गैँडाको तथ्य पत्ता लगाउन किन ३५ दिन लाग्यो ? यो प्रश्न मैले नेपाली सेना मात्र होइन, मैले निकुञ्ज प्रशासनका कर्मचारीमाथि पनि प्रश्न गरेको हुँ । हामी त्यतिका मान्छे त्यहाँ भित्र बसेका छौँ । अब हामी बसेको प्रभावकारीता के हो ? हामी बीचको समन्वय के हो ? यो नै अहिलेको गम्भिर र सम्वेदनशिल विषयको रुपमा खडा भएको छ । त्यसले निकुञ्ज र आरक्षभित्रको नेपाली सेना र निकुञ्जका कर्मचारीको समन्वय बारे प्रश्न उठाएको छ । यो सम्वेदनशिलता प्रति सबैले ख्याल गर्न जरुरी छ ।

सचिव डा. कँडेलले कडा निर्देशन दिदै भने, निकुञ्ज प्रशासन र नेपाली सेना बीच दरिलो र कसिलो समन्वय गर्न आवश्यक छ । यो हुन सकेन भने संरक्षणमा थप चुनौती देखिन सक्छन् । माथिल्लो निकायबाट गर्नुपर्ने कार्यमा मन्त्रालयको सचिवको ठाउँबाट मैले र सेनाका निर्देशनालयबीच कुरा भएको छ । यसमा अब कडाईका साथ जानुपर्ने स्थिति देखियो ।

सहयोगीलाई सम्झे डा. कँडेलले
सम्बोधनका क्रममा डा. कँडेलले नेपालको संरक्षण अभियानमा रचनात्मक र सिर्जनात्मक सहयोग पुरयाउने सबै साझेदार संस्था, नेपाली सेना, सञ्चारकर्मी, स्थानीय समुदायको योगदानलाई बिर्सन नसकिने धारणा स्पष्ट पारे । उनले भने, विशेष गरेर सञ्चारमाध्यमले पुर्याएको योगदानलाई मैले पुनः स्मरण गर्न चाहन्छु ।
पछिल्ला दिनका केही घटनामा संरक्षित क्षेत्रभित्र पूर्वाधारको संरचना निर्माण गर्ने विषयमा भएका लेख, टिप्पणी र समाचारमा राष्ट्रिय निकुञ्ज ऐनले व्यवस्था गरेको कुरा नै प्रमुख कुरा हो भन्ने कुरालाई स्थापित गराउन नेपालका सञ्चारकर्मीहरुले खेलेको भूमिकाको डा. कँडेलले स्रहाना पनि गरे ।



























