जडीबुटी प्रशोधन केन्द्र बन्द

डोल्पा । विगत १८ वर्षदेखि डोल्पामा रहेको जडीबुटी प्रशोधन केन्द्र बन्द हुँदा यहाँका जडीबुटी व्यवसायी मर्कामा परेका छन् ।

जिल्लामै जडीबुटी प्रशोधन गर्ने उद्देश्यले त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने खातीज्युलामा विसं २०५५ मा स्थापना गरिएको त्रिपुरासुन्दरी जडीबुटी सङ्कलन तथा प्रशोधन केन्द्र बन्द हुँदा डोल्पाली जडीबुटी व्यवसायी मर्कामा परेका हुन् ।

विश्व वन्यजन्तुकोष नेपाल, बिएसपी न्युएरा र साविकको त्रिपुराकोट गाविसको आर्थिक सहयोगमा १९ लाखको लागतमा स्थापना गरिएको जडीबुटी प्रशोधन केन्द्रले स्थापनाको दुई वर्षसम्म जिल्लामा अत्यधिक मात्रामा पाइने भुल्ते (जटामसी), समायो, पिरे घाँसलगायतका जडीबुटी प्रशोधन गर्दै आएको थियो । जिल्लामा पाइने भुल्ते, समायो र पिरे घाँसलगायतका महत्वपूर्ण जडीबुटी सङ्कलन तथा प्रशोधन जिल्लामै गरिने थालेपछि यातायात र बजारको अभावमा समस्यामा परेका व्यापारीलाई सहज भएको थियो ।

दाउराबाट प्रशोधन गरिने हुँदा वनजङ्गल मासिएर सखाप हुने अवस्था आएपछि इन्धनको विकल्प खोजी गरी उद्योग सञ्चालन गरिने बताउँदै इन्धनको अभावमा प्रशोधन केन्द्र बन्द भएको थियो । जिल्लाकै ऐतिहासिक उद्योग बन्द भएको १८ वर्ष बितिसकेको छ । सिंदरबारको अधिकार गाउँघरमा आइसकेको अवस्था छ । पहिला उद्योग सञ्चालनका लागि वैकल्पिक इन्धनको रूपमा विद्युत्को खोजी गरियो । उद्योग नजिकै स्थापना भएको हाइड्रोपावरले उद्योग चल्ने अवस्था भए पनि स्थानीय सरकारले सञ्चालनका लागि खासै चासो नदेखाएको नगरपालिका–१ का दानबहादुर खत्रीले बताउनुभयो ।

“जिल्लामै प्रशोधन केन्द्र सञ्चालन हुँदा जडीबुटी पनि खरीद गरिने गरिएकाले थोरै लगानीमा घरमै बसेर जडीबुटीबाट मुनाफा कमाइन्थ्यो तर लामो समयसम्म बन्द उद्योग सञ्चालनमा नआउँदा अनेकौँ झन्झट व्यहोरेर जिल्ला बाहिर जडीबुटी लैजाँदा समस्या पर्ने गरेको छ”, जडीबुटी व्यापारी कन्नबहादुर शाहीले भन्नुभयो ।

नगरपालिकाका मेयर ओमबहादुर बुढाले बन्द उद्योग सञ्चालनका लागि अहिले प्रदेश सरकारले रु ५० लाख विनियोजन गरेकाले आवश्यक उपकरणलगायतको व्यवस्था गरी आर्थिक वर्ष २०७६÷७७ बाट नियमितरूपमा सञ्चालनमा ल्याइने तयारी भइरहेको जानकारी दिनुभयो ।

डोल्पामा ६० हजार टनभन्दा बढी जटामसी उत्पादन हुने गरेको र यसको सही व्यवस्थापनका लागि उद्योग सञ्चालनमा ल्याएर प्रशोधन गरिएमा प्रशोधित जटामसीको तेल प्रतिलिटर रु २५ हजारसम्म पर्ने र व्यापारीसमेत उद्योगमै आइपुग्ने भएकाले जडीबुटी सङ्कलक, खरीदकर्ता र व्यापारीले समेत राम्रो आम्दानी गर्न सक्ने नगरपालिका–४ का रामबहादुर बुढाले बताउनुभयो । जडीबुटी प्रशोधन केन्द्र जिल्लाकै ऐतिहासिक उद्योग भएको र यसको राम्रोसँग सञ्चालन तथा व्यवस्थापन गर्नसके नगरले जडीबुटीबाटै लाखाँै कर उठाएर आर्थिक समृद्धिले आफूलाई अगाडि बढाउन सक्ने समाजसेवी दिलबहादुर विष्टले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here