काठमाडौँ । बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी अन्तिम चरणमा पुगेको छ ।
अन्तिम तयारीका लागि राष्ट्रिय निकञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिष्ट बेदकुमार ढकालको नेतृत्वमा प्राविधिक टोली आइतवार नै बर्दिया पुगिसकेको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बिष्णुप्रसाद श्रेष्ठका अनुसार सोमवार र मंगलबार बाघ गणनामा सहभागी हुने प्राविधिकहरूलाई प्रशिक्षण दिने कार्यक्रम अनुरुप सोमवार प्रशिक्षण कार्यक्रम सुरू भएको छ ।
बाघ गणनामा सहभागि हुने प्राविधिकलाई प्रशिक्षण दिने कार्यमा निकुञ्ज विभागका इकोलोजिष्ट बेदकुमार ढकाल, बर्दिया राष्ट्रिय निकुञ्ज प्रमुख बिष्णुप्रसाद श्रेष्ठ, एनटीएनसीका डा. नरेश सुवेदी, डब्लुडब्लुएफका डा. कञ्चन थापा, जेडएसएलका डा. भगवान दाहाल लगायतको सहभागिता रहेको छ ।
बाँके, बर्दिया कम्प्लेक्समा निकुञ्ज भित्र र निकुञ्ज बाहिरको क्षेत्रलाई चार वटा ब्लकमा विभाजन गरि ८१६ वटा ग्रिडमा विभाजन गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्रेष्ठले जानकारी दिए ।
बाघ गणनाका लागि दक्ष प्राविधिकको सात वटा समुह निर्माण गरिएको छ । प्रति समुहमा कम्तिमा छ जना प्राविधिक राखिने भएका छन् भने फिल्डको स्थिति हेरेर सुरक्षाका लागि हात्ती तथा नेपाली सेनालाई परिचालन गरिने भएको छ ।
निकुञ्ज बाहिरको क्षेत्रमा डिभिजन वन कार्यालयको सहयोग लिइने भएको छ । ती क्षेत्रमा शसस्त्र वन रक्षक, नेपाल प्रहरी तथा शसस्त्र प्रहरीसँगको समन्वयमा गणकको सुरक्षाको व्यवस्था मिलाइएको प्रमुख संरक्षण अधिकृत श्रेष्ठले बताए ।

गणनाका लागि आवश्यक क्यामरा लगायतका बन्दोबस्ती सामानहरु फिल्डमा पुगिसकेका छन् । बाघ गणना गर्दा एक ग्रिडमा एक जोरी आधुनिक क्यामरा १५ दिनसम्म राखिनेछन् । ग्रिडमा गणक टोलीले क्याम्प बनाएर बस्ने व्यवस्था मिलाइएको छ ।
सरोकारवालाले भने : सहयोग गर्छाै
बाघ गणनाका लागि सरोकारवाला सबै निकाय, संस्थाहरुले निकुञ्ज प्रशासनलाई सहयोग गर्ने बताएका छन् ।
बाघ गणनाको पूर्व सन्ध्यामा निकुञ्जले गरेको समन्वय समितिको बैठकमा स्थानीय समुदाय, मध्यवर्ती क्षेत्र, डिभिजन वन कार्यालय, स्थानीय राजनीतिक दल, स्थानीय तहका प्रतिनिधि, स्थानीय गैर सरकारी संघ÷संस्थाहरुले यो पटकको बाघ गणना ऐतिहासिक भएकाले आ आफ्नो ठाउँबाट सबै खालको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।