काठमाडौँ । चितवनको बरण्डाभार क्षेत्रमा सडक बिस्तार गर्ने क्रममा पासो थाप्ने ठेकेदारलाई गैँडा मारेको अभियोगमा चितवन राष्ट्रिय निकुञ्जले पक्राउ पूर्जी जारी गरेको छ ।
बरण्डाभार क्षेत्रको सडक विस्तारका क्रममा गत आइतवार नालीको खाडलमा परेर एकसिँगे गैँडा मरेको घटनामा ठेकेदार दोषी भएको भन्दै चितवन राष्ट्रिय निकुञ्जले इन्डो सगुन जेभीका सञ्चालक सहदेब खड्कालाई पक्राउ पुर्जी जारी गरेको हो ।
निकुञ्जले घटनाको यथार्थ छानविन गरी प्रतिवेदन पेश गर्न सहायक संरक्षण अधिकृत राजु घिमिरेलाई अनुसन्धान अधिकृत तोकेको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जले अनुसन्धान अधिकृत तोकेर सो निर्माण कम्पनीका सञ्चालक सहदेब खड्कालाई पक्राउ पूर्जी जारी गरेको छ ।
वन तथा वातावरण मन्त्रालयले वन विभागका उपमहानिर्देशक डा.राजेन्द्र केसीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिसकेको छ ।
डिभिजन सडक कार्यालय चितवनले पुल्चोकदेखि गोन्द्राङसम्म छ लेन सडक निर्माण गर्न ठेक्का लगाएको छ ।