पशुपती भित्र गुठी को सत्यानास

काठमाडौं : नेपाली बृहत् शब्दकोषले गुठीको अर्थ लेखेको छ– ‘धार्मिक वा परोपकारी कार्य–सञ्चालनका लागि छुट्ट्याइएको, त्यसैबाट आउने आयस्ताले देव–पितृको पूजाआजा आदि चलाइने र जग्गा, घर, सम्पत्ति आदिको रेखदेख गर्ने सामाजिक संस्था।’

पाशुपत क्षेत्रमा दुई सय ३६ गुठी छन्। तिनको जग्गाजमिन अथाह छ। तर तिनले आफ्नो आयस्ताबाट न जात्रापर्व, पूजाआजा धानेका छन्, न सम्पत्तिको रेखदेख नै गर्न सकेका छन्। दशकौंदेखिको यो बेहालप्रति गुठी संस्थान र राज्य बेखबरजस्तै छ। गुठीको जग्गा मोहीले लिएपछि आयस्ता झन्डै आधा हुन्छ। बुझाउनु पर्ने कुत पनि एकतिहाइले बुझाउँदैनन्, जसका कारण गुठी संस्थानमातहत सञ्चालन हुने पाशुपत क्षेत्रका अधिकांश जात्रापर्व र पूजाआजा चलाउनै मुस्किल पर्छ।

यसको एउटा कारण हो, सरकारले कुतबालीलाई समयसापेक्ष बनाउन सकेको छैन। पहिले जग्गाबाट धान उत्पादन हुन्थ्यो। कुत पनि धान नै लिइन्थ्यो। ‘हाल ती जग्गा व्यापारिक प्रयोजनमा रहेका र धानको मूल्य गणना गर्दा प्रचलित जग्गाको भाडाको मूल्यमा नगरी ०६० सालदेखि धानको मूल्यका आधारमा लिने गरेको देखिन्छ,’ महालेखा परीक्षकको ५५औं प्रतिवेदनमा भनिएको छ, ‘तसर्थ समायानुकूल मूल्य र जग्गा उपयोगको प्रयोजनअनुसार कुतबाली असुल हुनुपर्छ।’

तोकिएकै कुतबाली पनि उठ्दैन। त्यसैले पाशुपत क्षेत्रका मठमन्दिरबाट सञ्चालित मूर्त र अमूर्त सम्पदा नासिने अवस्थामा पुगेका छन्। राज्यले गुठीको जग्गा प्रयोग र अधिग्रहण गरेबापतमात्रै अर्बौं रुपैयाँ तिर्न बाँकी छ। संस्थानले जति ताकेता पनि राज्य कानमा तेल हालेर बसेको छ। त्यसैले दशकौंदेखि बक्यौता थपिँदै गएको एक पूर्वकर्मचारी बताउँछन्।

पाशुपत क्षेत्रका जात्रापर्व र पूजाआजाका लागि राखिएका गुठीबारे पूर्णविवरण कसैसँग छैन। पशुपतिनाथ आसपासको रेखदेख र संरक्षणको जिम्मा पाएको पशुपति गोश्वरा शाखासँग त नामावलीमात्र छ। मुलुकभरका गुठीको विस्तृत विवरण राख्ने जिम्मेवारी पाएको केन्द्रीय लगत तथा अभिलेख शाखा भद्रकालीसँग पनि जग्गाको अभिलेख छैन। गुठी संख्या पनि फरकफरक छ।

‘जग्गाबापत उठ्ने कुतबालीको पूर्ण र अद्यावधिक हिसाबकिताब राख्न नसक्दा उठ्नुपर्ने रकमसमेत उठेको छैन’, संस्थानका प्रवक्ता सरोज थपलियाले अन्नपूर्णसँग भने, ‘रकमको अभावमा पाशुपत क्षेत्रका जात्रापर्व सञ्चालन र पूजाआजामा थुप्रै समस्या छन्।’ पशुपतिस्थित गुठीका मोही कति छन् र तिनमध्ये कतिले कुत बुझाएका छैनन्, त्यसको कुनै विवरण नभएको उनी स्वीकार्छन्।

‘पर्व, पूजा, जात्रा जेनतेन चलाइरहेका छौं, रकमीहरूले पनि न्यूनतम रकममा काम गरिरहेका छन्’, गुठी संस्थान पशुपति गोश्वारा शाखाकी प्रमुख लक्षुना शर्मा काफ्ले भन्छिन्, ‘जग्गाको कुत उठाउने अधिकार हामीलाई छैन, हामीले खर्च मात्रै गर्ने हो’, उनले भने।

संस्थानको केन्द्रीय कार्यालय र अभिलेखालयका कर्मचारीसमेत पाशुपत क्षेत्रका जग्गाको छुट्टै विवरण नभएको बताउँछन्। विगतमा तोकिएको पाथीअनुसार धान वा अन्य बाली बुझ्ने गुठी संस्थानले केही वर्षयता रकम नै तिर्ने व्यवस्था मिलाएको छ। ‘तर कसले कुतबाली तिरेन भन्ने रेकर्ड संस्थानसँग हुँदैन, तिरेको मात्र हुन्छ’, अभिलेखालयका प्रमुख राजेन्द्र दाहालले भने।

रसिदका आधारमा कसले कुन कित्ताबाट कति तिरे भन्ने पत्ता लाग्छ। रसिद काटे पनि त्यसको पूर्ण विवरण कसैसँग छैन। शाखाले दिएको तथ्यांकअनुसार गत आर्थिक वर्षमा ३५ लाख ८७ हजार आठ सय ६१ रुपैयाँ कुतबापत बुझिएको छ भने गत वर्ष बक्यौताबापत ६७ लाख ४५ हजार नौ सय ६८ रुपैयाँ उठाइएको छ।

लथालिंग तथ्यांक

‘हरेक गुठीको छुट्टाछुट्टै लगत हुन्छ तर समग्रमा अभिलेख अद्यावधिक गर्ने काम हुन सकेको छैन’, प्रवक्ता थपलियाले भने, ‘संस्थान बन्दा ३० वर्षअघि पाँच सय कर्मचारी थिए। अहिले एक सय ५५ को दरबन्दी छ तर कर्मचारी त्यति छैनन्।’ कर्मचारी अभावका कारण तथ्यांक अद्यावधिक गर्न नसक्दा कुतबाली उठाउन नसकिएको उनको भनाइ छ।

‘कुतबाली उठाउने बाध्यकारी अवस्था सिर्जना गर्न नसक्दा नै जात्रापर्व सञ्चालन र पूजाआजामा समस्या भएको हो’, उनले थपे। मुलुकभर दुई हजार दुई सय ७३ गुठी छन्। खासगरी गुठीको लालमोहरिया ऐनकानुनमा परिणत हुन सकेको छैन। यसका कारण कुतबाली आयस्तामा समस्या छ।

संसाधनको केन्द्रीय कार्यालयका अनुसार पशुपतिका जात्रा गुठीअन्र्तगत ८४ वटा अमानत गुठी र ६९ छुट गुठी रहेको जनाएको छ। पशुपति गोश्वाराको मातहतमा ८१ वटा राजगुठी छन्। अभिलेख शाखा भद्रकालीले चाहिँ पशुपतिको देउपाटनमा दुई सय ३६ गुठी रहेको जनाउँछ। संस्थानका अनुसार, पाशुपत क्षेत्रमा गुठीअन्तर्गत जात्रापर्व र पूजामा कार्यरत रैरकमीको संख्या १२ सय ७५ छ।

२०२९ सालमा गुठी जग्गामा पनि मोहियानी हक लाग्ने व्यवस्था सरकारले गर्‍यो। त्यसपछि कुत रकम आधा घटेको र मोहीले कुतबाली बुझाउन छोडेको थपलिया बताउँछन्।

पाशुपत क्षेत्रमा नित्य पूजा, विशेष पूजा, महास्नानदेखि बाँदरलाई मकै छर्ने गुठीसमेत छन्। आर्यघाट पूर्वको राम मन्दिर सञ्चालनका लागि रामचन्द्र गुठीको मात्रै टोखा, धर्मस्थली, बलम्बु, भादगाउँ, धोबीखोलालगायत ठाउँमा गरी करिब दुई ७५ रोपनी जग्गा छ। पशुपतिकै गोलधुप गुठीको हाँडी, बालुवाटार, बत्तिसपुतलीलगायत ठाउँमा प्रशस्त जग्गा छ।

गुठीको जग्गा दुरुपयोग भएको छ। धेरै जग्गा अतिक्रमण भएको छ। हराएको छ। पशुपति क्षेत्रभित्र रहेका डमरु, त्रिशुल गुठीबाहेक सबैको सञ्चालन, व्यवस्थापन गुठी संस्थानले नै गर्ने व्यवस्था छ। डमरु र त्रिशुल भने पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरिएको छ।

संसदीय समितिमा चर्चा

पशुपतिको जग्गा, कुतबाली र मोहीका विषयमा संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिअन्तर्गतको भूमि व्यवस्था तथा सहकारी कार्यदलमा विषय उठान भएको छ। गुठी संस्थानका कर्मचारीसँग मंगलबार कार्यदलले गरेको बैठकमा गुठी संस्थानद्वारा सञ्चालन वा व्यवस्थापन गरिएका मन्दिरहरूको अवस्था र गुठी जग्गामा मोहीहरूको हक अधिकारको संरक्षणका बारेमा सिंहदरबारमा छलफल भएको हो। अन्नपूर्ण पोस्ट्मा सोमबार प्रकाशित तराईका चार जिल्लामा पशुपतिनाथको ११ सय बिघा जग्गा गायब भएको समाचारदेखि गुठी बिग्रिए भत्किएको साथै मोही र तिनले बुझाउने कुतबालीसम्मको विषयमा सांसदले छलफल गरेका थिए। भूमि व्यवस्था सहकारी कार्यदलको बैठकमा पशुपतिको जग्गा दुरुपयोग रोक्न पनि आवाज उठेको थियो।

साभार् अन्नपूर्ण

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here