काठमाडौँ । करिब दुई महिनाको समय लगाएर चितवन–पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना गर्ने काम शुक्रबार देखि सकिएको छ ।
गत मङ्सिर १९ गतेबाट शुरू गरिएको चितवन राष्ट्रिय निकुञ्जबाट बाघ गणना अहिले पर्सा राष्ट्रिय निकुञ्जको पूर्वी भेगमा गणना गरेर समाप्त भएको छ ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार पर्सा राष्ट्रिय निकुञ्जका पूर्वी भेगमा राखिएका क्यामरा शुक्रबारबाट उठाउने काम भइरहेको छ ।
चितवन–पर्सा कम्पलेक्सलाई तीन वटा ब्लकमा बिभाजन गरेर गणनालाई व्यवस्थित गरिएको थियो ।
राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनका प्रमुख डा. बाबुराम लामिछानेका अनुसार यो गणनामा १०० जना दक्ष जनशक्ति र केही हात्तीको प्रयोग गरिएको छ ।
गणनामा सहभागी दक्ष जनशक्तिको १३ वटा समुह निर्माण गरिएको थियो भने करिब ६५० वटा आधुनिक क्यामरा प्रयोग गरिएको डा. लामिछानेले बताए ।
शुक्लाफाँटामा शुरू
चितवन–पर्सा कम्पलेक्समा गणना सम्पन्न भएपछि यहाँ प्रयोग गरिएका आधुनिक क्यामरा र जनशक्तिलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र आसपासमा क्षेत्रमा बाघ गणनामा परिचालन गरिने भएको छ ।
विभागका निमित्त महानिर्देशक बेदकुमार ढकालले नेपालकथासँग भने, अब चितवन पर्सा कम्पलेक्समा गणनाका कार्य सम्पन्न भएपछि त्यहाँका क्यामरा र जनशक्तिलाई शुक्लाफाँटाको गणनामा परिचालन गरिनेछ ।
ढकालका अनुसार आउने हप्ता भित्रै (सम्भवः शुक्रबार २८ गतेदेखि) शुक्लाफाँटामा क्यामरा राख्ने काम गरिने छ ।