काठमाडौँ । यस पटकको विश्व वन्यजन्तु दिवस (मार्च ३) बर्दियामा धुमधामका साथ मनाइने भएको छ ।
नेपालले यो दिवसलाई चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान दिवसका रुपमा मनाउँदै आएको छ ।
सो दिवसका अवसरमा आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलको नेतृत्वमा विभाग र संरक्षण साझेदार संस्थाको विशेष टोली बर्दिया बुधबार बर्दिया जाने भएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बिष्णुप्रसाद श्रेष्ठका अनुसार वन्यजन्तुको चोरी शिकार नियन्त्रण र संरक्षणमा युवाको भूमिकालाई केन्द्रित गरेर कार्यक्रम आयोजना गरिने भएका छन् ।
यस वर्षको नारा पनि युवालाई संरक्षणमा बढी कसरी लगाउन सकिन्छ भन्ने कुरामा रहेको छ । ‘वन्यजन्तु संरक्षण र पारिस्थितिकीय प्रणाली पुर्नस्थापनाका लागि युवा जागरण’ भन्ने नाराका साथ मार्च ३ बिहीबारका दिन बर्दियाको गेरुवा गाउँपालिका वडा नम्बर ४ गोलामा विशेष कार्यक्रम आयोजना गरिने जानकारी श्रेष्ठले दिए ।
उनका अनुसार सो कार्यक्रममा ५०० भन्दा बढी युवाको सहभागिता रहने भएको छ । प्रकृति संरक्षणसँग खेलकुद, संस्कृति, बानी व्यवहारलाई जोडेर कार्यक्रमहरु आयोजना हुन लागि रहेका छन् ।