काठमाडौँ । वनस्पति विभागको ६२ औँ वार्षिकोत्सव तथा २३ औँ वनस्पति दिवस मंगलबार मनाइएको छ ।
सो दिवसमा अवसरमा वनस्पतिको अध्ययन अनुसन्धानमा योगदान पु¥याए वापत प्रा.डा. कृष्णकुमार श्रेष्ठलाई राष्ट्रिय वनस्पति पुरस्कारबाट पुरस्कृत गरियो ।
वनस्पतिको अनुसन्धान र नवप्रर्वन, राष्ट्रको उन्नयन भन्ने नाराका साथ मनाइएको दिवसका अवसरमा वन तथा वातारण मन्त्री रामसहायप्रसाद यादवले नेपालका वनस्पतिलाई व्यावसायिककरण गरी देशको आर्थिक विकासमा लगाउनु पर्ने धारणा व्यक्त गरे ।
उनले वनस्पतिको दिगो विकासका लागि सरकारले चाँडै विधेयक अगाडि बढाउने प्रतिवद्धता समेत व्यक्त गरे । कार्यक्रममा मन्त्रालयका सचिव डा.पेमनारायण कँडेलले वन स्रोतको दिगो व्यवस्थापन गरी राष्ट्रको समृद्धिसँग वनस्पतिलाई जोड्ने काममा सरकार लागि रहेको बताए ।
सचिव डा. कँडेलले फलोरा प्रकाशनका लागि सरकार सम्वेदनशिल रहेकोले आगामी दिनमा वनस्पति विभागको नेतृत्वमा सबै सरोकारवाला निकायको सहयोग र समन्वयमा प्रकाशनलाई तिब्रता दिने जानकारी दिए ।
विभागका महानिर्देशक डा. बुद्धिसागर पौडेलले बंशाणु स्रोतको संरक्षण गर्दै वनस्पतिको दिगो उपयोगका लागि विभागले काम गरिरहेको बताए ।
सो अवसरमा नेपाल वन प्राविधिक संघका अध्यक्ष डा. किरण पौडेलले वनस्पतिको बासस्थान बिग्रदै जानुले रैथाने वनस्पतिको अस्तित्व जोखिममा पर्दै गरेको बताए ।

उनले चुरे क्षेत्र वनस्पति र वन्यजन्तुको बासस्थान भएकाले चुरे संरक्षणमा लाग्नुपर्ने बताए ।
विभागले नेपालमा पाइने वनस्पतिको प्रयोग गरी बनाएको दन्तमञ्जन, मच्छर धपाउने औषधी, स्यानिटाइजरको सार्वजनिकरण गरियो ।
यस अघि विभागले सेम्फु, साबुन र अत्तरको फर्मुला निकालेर नमूना उत्पादन गरिसकेको छ । ती मध्य अत्तरको फर्मुला नेपाल सरकारको स्वामित्वमा रहेको जडीबुटी उत्पादन कम्पनीलाई हस्तान्तरण गरिसकेको छ ।