धरहरा निर्माणको २६ प्रतिशत काम पुरा

काठमाडौं। भूकम्पले भत्काएको चार वर्षपछि गत पुसदेखि पुनर्निर्माण सुरु भएको ऐतिहासिक सम्पदा धरहराको निर्माणले गति लिएको छ ।

धरहरा पुनर्निर्माणअन्तर्गत धरहरा टावरको पहिलो बेसमेन्टको क्रंक्रिटिङ गर्ने कार्य पूरा भएको छ । अहिले बिम स्लाब उठाउने कार्य सुरु गरिएको छ ।

निर्माण कम्पनी जीआईईटीसी–रमन जेभीकाअनुसार पुनर्निर्माणको समग्रमा २६ प्रतिशत कार्य सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यालय सिंहदरबारमा बिहीबार धरहरा पुनर्निर्माण प्रगति समीक्षा गरिएको थियो । सो क्रममा जीआईईटीसी–रमन जेभीका कन्ट्र्याक्टर रेप्रिजेन्टेटिभ रमन महतोले समग्रमा २६ प्रतिशत प्रगति हासिल भएको जनाए । उनका अनुसार निर्माणस्थलका हिसाबले भने ६७।५ प्रतिशत प्रगति भएको छ ।

धराहरा पुनर्निर्माणअन्तर्गत सुनधाराको गोश्वारा हुलाक नै हटाएर काम अघि बढिरहेको छ । गोश्वारा हुलाक रहेका भवनहरू भत्काई त्यहाँ बेसमेन्ट बनाउनका लागि पूर्वपट्टि प्रोटेक्सन पाइलहरू हाल्ने काम भइरहेको निर्माण कम्पनीले जनाएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले विभिन्न खण्डका कार्यहरू समानान्तर रूपमा अघि बढाएर तोकिएको समयमै पुनर्निर्माण सम्पन्न गर्नुपर्ने बताए । ‘गुणस्तर कायम राख्न कुनै कसर बाँकी राख्न भएन, तोकिएकै समयमा काम सम्पन्न हुनुपर्दछ,’ उनले भने ।

समीक्षा कार्यक्रममा धरहरा पुनर्निर्माणको सुपरिवेक्षण गरिरहेको परामर्शदाता कम्पनी केज कन्सल्ट र स्वाइल टेस्ट जेभीका तर्फबाट पुनर्निर्माणका क्रममा देखिएका विभिन्न विषयबारे प्रस्तुतीकरण गरिएको थियो ।

१९९० सालको भुइँचालोअघि धरहरा ११ तलाको थियो । भुइँचालोले दुई तला भत्किएपछि नौ तलामा सीमित भएको थियो । २०७२ सालको भूकम्पले नौ तलाको धराहरा पनि भत्काइदिएको थियो ।

हाल पुनर्निर्माणका क्रममा रहेको धरहारा २९ रोपनी क्षेत्रफलमा फैलिनेछ । धरहरा परिसरमा म्युजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बगैंचा, रेस्टुराँ, पार्किङलगायतका सुविधा हुनेछन् । नयाँ धरहरामा अब लिफ्टबाट नै ‘टप’ मा पुग्ने व्यवस्था हुने जनाइएको छ ।

धरहरा बाहिरबाट हेर्दा पुरानैजस्तो देखिए पनि भित्री भाग आधुनिक हुने बताइएको छ । धरहरामा दुई तला अन्डरग्राउन्ड बेसमेन्ट पनि बनाइने भएको छ ।

धरहरा परिसरमा दुई तलाको आकर्षक म्युजियमसमेत बनाइनेछ । म्युजियममा पुराना सिक्का र सिक्का छाप्ने मेसिनहरू प्रदर्शनीमा राखिनेछ । म्युजियम जाने बाटोमा वाटर फाउन्टेन हुनेछ । वाटर फाउन्टेन ५० फिट अग्लो हुनेछ । नयाँ बन्ने धरहरा अपांगमैत्रीसमेत हुने प्राधिकरणले जनाएको छ ।

धरहरा छिर्नेबित्तिकै आकर्षक बगैंचा आउनेछ । धरहरा परिसरमा लाइब्रेरी, रेस्टुरेन्टलगायतका सुविधा पनि हुनेछन् । धरहरा परिसरमा तीन तले पार्किङसमेत हुनेछ । पर्यटकका लागि अब बन्ने धरहरा काठमाडौंको महŒवपूर्ण गन्तव्य बन्ने विश्वास गरिएको छ ।

यसैबीच, दसैंलाई लक्षित गरेर तेबहालबाट टुँडिखेल निस्कनका लागि केही दिनभित्रै अस्थायी पैदल मार्ग खोल्नेगरी काम अघि बढाइएको छ । सञ्चय कोष र साबिकको गोश्वार हुलाकको बीचमा आठ फुटे अस्थायी पैदल मार्ग बनाउन लागिएको हो । राजधानीका अनुसार खिचापोखरीदेखि तेबहालसम्म बाटो खुलिसकेको छ । अब यी दुई बाटो जोडिनेछ । पछि यहाँ स्थायी सडक रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here