चुरेले बोलायो पूर्व पदाधिकारी र सदस्यसचिवलाई

काठमाडौँ । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिले आफ्नो गुरुयोजना परिमार्जनका लागि विज्ञ समुहसँग बिहीबार छलफल गरेको छ ।

समितिका पूर्व पदाधिकारी तथा सदस्यसचिवसँग परिमार्जनका लागि राय, सल्लाह, सुझाव माग्न छलफलको आयोजना गरिएको समितिका सदस्य सचिव डा. महेश्वर ढकालले बताए ।

छलफल कार्यक्रममा समितिका पूर्व सदस्य बिदुर भारती, पूर्व सदस्य सचिव डा. कृष्णप्रसाद आचार्य, मनबहादुर खड्का, डा. दिपककुमार खराल, हेमलाल अर्याल, नवराज काफ्ले, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा. कृष्णप्रसाद ओली लगायतले भाग लिएका थिए ।

छलफल कार्यक्रममा समितिको गठन आदेशमा संशोधन आवश्यक रहेको, गठन आदेशले समितिका पदाधिकारीको चयन र अधिकारको व्यवस्था स्पष्ट नगरेको, अरु विकास समिति भन्दा चुरे विकास समिति स्वायत्त हुन नसकेको भन्दै परिमार्जनका बेला यस सम्बन्धी स्पष्ट कुरा आउनु पर्नेमा सबैले जोड दिए ।

फिल्ड तहमा चुरेद्वारा सम्पादन गरिएका कामहरु अत्यन्तै राम्रा भएपनि नीति निर्माण तहमा बस्ने र राजनीतिक स्वार्थ नमिल्ने व्यक्तिहरुले चुरेले गरेको कामको अवमूल्यन गर्ने गरेकोले राम्रो कामको प्रचार प्रसार गर्नुपर्नेमा जोड दिइयो ।

कार्यक्रममा समितिका अध्यक्ष डा. किरण पौडेलले विज्ञहरुबाट प्राप्त भएका सुझाव, राय सल्लाहलाई गुरुयोजना परिमार्जन गर्ने क्रममा उच्च प्राथमिकताका साथ समेटिने प्रतिवद्धता व्यक्त गरे ।

२०७४ सालमा २० वर्षे गुरुयोजना स्वीकृत गरी सरकारले विकास समिति मार्फत काम गर्दै आइरहेको छ ।

गुरुयोजना परिमार्जनका लागि अध्ययन गरी सिफारिस गर्न प्रा.डा. रामप्रसाद चौधरीको नेतृत्वमा एक अध्ययन समिति निर्माण गरिएको छ । सो समितिले पाँच वटै कलष्टर र सबै प्रदेशका स्थानीय तह र प्रदेश सरकारसँग छलफल गरी राय, सल्लाह तथा सुझाव संकलन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here