लाटोकोसेरो महोत्सव, भयो नाँचगान

कैलाली । नेपालको पहिलो चरा आरक्ष क्षेत्र कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा लाटोकोसेरो संरक्षणको दशौँ महोत्सव शुक्रबारदेखि शुरु भएको छ ।

चरा संरक्षण नेटवर्क कैलाली र प्रकृतिका साथीहरु संस्थाको संयुक्त आयोजनामा भएको महोत्सव माघ २० र २१ गते गरी दुई दिनसम्म चल्ने छ ।

२०७६ साल माघमा स्याङ्जा जिल्लाको भैसेगौडा राङभाङमा नवौं संरक्षण महोत्सव सुरु भएको थियो भने कोभिडका कारण तीन वर्ष महोत्सव हुन सकेको थिएन । औषधि, झारफुक तथा घरमा पाल्नका लागि भारत, चीन लगायत विभिन्न खाडी मुलुकहरुमा लाटोकोसेरोका अवैध कारोबार हुने गरेको छ

एक अध्ययन अनुसार नेपालबाट वार्षिक कम्तीमा दुईहजार वटासम्म लाटोकोसेरा तथा हुचील मारिने तथा विभिन्न मुलुकहरुमा अवैध रूपमा पठाइने गरेको भेटिएको छ, नेपालमा कानुनी रूपमा लाटोकोेसेरोलाई पाल्न, दुःख दिन, बेच्न पाइदैन यदि त्यसो गरेमा एक वर्ष कैद पचास हजार रुपियाँ जरिवाना हुने कानुनी व्यवस्था गरिएको छ ।

उल्लू,लेकाली उल्लू, लोखर्के उल्लू, कोचलगाँडे लाटोकोसेरो, गोठे लाटोकोसेरो, घाँसे लाटोकोसेरो,चश्मे उल्लू, चित्री उल्लू, लघुकर्ण लाटोकोसेरो, लामकाने लाटोकोसेरो, हिमाली कोचलगाँडे लाटोकोसेरा लगायत २३ प्रजातिका लाटोकोसेरोको उत्सव स्थलमा तस्बिर अवलोकनका लागि राखिएका छन् ।

जसमध्ये ९ प्रजातीहरु नेपालमा दुर्लभ मानिन्छन् । यसमध्ये एकवटा प्रजातीलाई लामो समयदेखि नेपालमा अभिलेख गरिएको छैन् । विश्वमा करिब २२५ प्रजातिका लाटोकोेसेरा पाइन्छन् ।


नाम लाटोकोसेरो महोत्सव, भयो नाँचगान
चरा शान्त स्वभावमा बस्न रुचाउने प्राणी हो । लाटोकोसेरो संरक्षण महोत्सव नाम दिइए पनि कार्यक्रममा ठूल्ठूलो स्वरमा स्वागत गीत बजाइयो । त्यति मात्र नभई स्थानीय विद्यालयहरुको दर्जनौँ नाँच प्रदर्शन गरिए । स्थानीय साँस्कृतिक कार्यक्रमहरु मुंन्ग्रहुवा, सखिया, झुम्रा, लाठी, हुर्दुङ्गुवा, देउडा खेल, कौडा नाँचहरु गजब्बले प्रस्तुत गरिए ।

रामसार सूचीमा सूचीकृत घोडाघोडी ताल क्षेत्रमा गरिएको महोत्सवमा चरा हेर्ने भन्दा पनि सांस्कृतिक कार्यक्रमको मनोरञ्जन भएको देखियो । महोत्सवमा आउने पाहुनाहरु लाटोकोसेरोका बारेमा जानकारी लिने भन्दा पनि गीतसँग उफ्रिने र देउडामा झुम्मिएका देखिन्थे ।

नेपालमा पाइने ८९१ प्रजातीका चरामध्ये घोडाघोडी सिमसार क्षेत्रमा ३६० प्रजातिको चराचुरुङ्गी पाइने गरेका छन् । आठ प्रजातिका लाटोकोसेरो घोडाघोडी क्षेत्रमा पाइने गरेका छन् ।

कैलो टाउके हाँस, राज धनेश, राजलाहाँचे, भुरीफोर गरुड, सुनौलो तोप चरा, घेघ्री घाँसेफिस्टो, लघु महाचिल लगायतका विश्वमै दुर्लभ चरा यो सिमसारमा पाइने गरेका छन् । विभिन्न प्रजातिका चरा पाइने घोडाघोडी सिमसारलाई २०७८ साल माघमा नेपालको पहिलो बर्ड सेन्चुरी (चरा अभय आरण्य क्षेत्र ) घोषण गरेर चरा र उनीहरुको बासस्थान संरक्षणमा काम गरिएको छ ।

सन् २००३ मा विश्व रामसार सूचीमा सूचीकृत घोडाघोडी सिमसार क्षेत्रमा मगरगोही, हरिहाँस र जंगली धान सूचक प्रजाति हो । यसैगरी भारतको केरलामा पाइने नादुल हाँसले सन २०१४ देखि घोडाघोडीमा पनि ‘ब्रिडिङ’ गर्दै आएका छन् । पहिले पहिले पाहुना चराको रुपमा केरलाबाट घोडाघोडी पुग्ने नादुल हाँस अब यहाँको रैथाने भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here