अत्यधिक गर्मीले चिलीमा आगलागी, १३ जनाको मृत्यु

काठमाडौं । अत्यधिक गर्मीका कारण चिलीमा १३ जनाको मृत्यु भएको छ भने धेरैजसो स्थानमा ढडेलो लागेको छ ।
सरकारी अधिकारीहरुले आगामी दिनमा चिलीको अवस्था झनै बिग्रन सक्ने चेतावनी दिएका छन् ।

गर्मीको लहरका कारण चिलीका करिब १४ हजार हेक्टरमा आगो फैलिएको छ । आगलागीमा हालसम्म १३ जनाको मृत्यु भइसकेको छ । राजधानी सान्टियागोबाट करिब ५०० किलोमिटर टाढा रहेको सान्ता जुआना शहरमा अग्नि नियन्त्रक सहित ११ जनाको मृत्यु भएको सरकारी अधिकारीले बताएका छन् ।

चिलीको कृषि विकास मन्त्रालयका अनुसार आपतकालीन सहयोगका लागि आएको हेलिकप्टर पनि दुर्घटनाग्रस्त हुँदा एक पाइलट र एक मेकानिकल इन्जिनियरकोे मृत्यु भएको छ । आगो निभाउन थप सेना परिचालन गरिएको छ । देशभर आगलागीका ३९ घटना भएको र सयौं घरमा क्षति पुगेको गृहमन्त्री क्यारोलिना तोहाले जानकारी दिएकी छन् ।

बढ्दो आगलागी नियन्त्रण गर्न अर्जेन्टिना र ब्राजिलका ६३ वटा विमान आगो निभाउने प्रयासमा छन् । राष्ट्रपति गाब्रिएल बोरिकले शुक्रबारका दिनमा आफूले लिने गरेको बिदा घटाएर न्युबल र बायोबायो भ्रमण गरेका छन्। यी दुई क्षेत्रको कुल जनसङ्ख्या करिब २० लाख छ ।

आगलागीका कारण राजमार्गमा समेत क्षति पुगेको छ, जसका कारण यात्रुलाई आवतजावतमा निकै समस्या भएको छ । यस अवधिमा धेरै बस्तीहरू खाली गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले न्यूबलको अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस रहने प्रक्षेपण गरेको छ । यस अवधिमा चल्न सक्ने तीब्र हावाहुरीले स्थिति थप बिग्रने खतरा औंल्याइएको छ ।

(स्रोत बिभिन्न समाचार संस्था)

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here