बेद बहादुर खड्का
काठमाडौँ । केही दिन पछि हामी विश्व गैँडा दिवस मनाउन गइरहेका छौँ । गैँडा संरक्षणको इतिहास हेर्ने हो भने गैँडा गस्तीदेखि लिएर हालसम्मको अवधिमा नेपालले गैँडाको संरक्षणका लागि निकै उकाली ओराली पार गरिसकेको छ । विश्व गैँडा दिवसका सन्दर्भमा गैँडा संरक्षणका लागि विशेष गरी चितवनको यथार्थ अवस्था बारे मैले यस पटक केही शब्द कोर्ने आँट गरेको छु ।
आरम्भ : चितवन राष्ट्रिय निकुञ्जको स्थापनाकाल देखि नै सौराहा देखि पूर्वतिरका पदमपुर र अमृते गाउँ निकुञ्जभित्रकै वस्ती थिए । वस्ती रहँंदासम्म त्यस क्षेत्रका बासिन्दाले चुरे घाँचमा रहेका रसिला खोल्सा खोल्सीलाई ब्यूँताएर कुलाहरु बनाई गाउँवस्तीसम्म पानी ल्याएर चैत्र महिनामा पनि धान रोपेर खेतवारी हरिलो, भरिलो र रसिलो बनाएकै थिए । ती दुई वस्तीका किसानहरुले लगाएका बालीनालीहरु वन्यजन्तुले खाएर धेरै नोक्सानी गर्दथे भने वर्षा याममा राप्तीको बाढीले मानिसहरुको आवत जावतमा धेरै कठिनाइ हुने गर्दथ्यो ।
यसरी उत्पन्न मानव र वन्यजन्तुबीचको द्वन्द्वात्मक अवस्थालाई हटाउन नेपाल सरकारले २०५७/०५८ सालमा निकुञ्जभित्र रहेका अमृते र पदमपुर वस्ती स्थान्तरण ग¥यो । त्यसपछिका दिनहरुमा ती क्षेत्रहरुको चुरे घाँचमा दिनप्रतिदिन पानी भूमिगत हुँदै गइरहेकाले चुरे फेदीमा गैंडाको वासस्थानमा सुख्खापन बढ्दै गयो ।
पर्यटन व्यवसाय फैलाउने उद्देश्यले तत्कालिन सरकारले अमृते देखि पूर्व खगेन्द्रमल्लीमा चितवन जङ्गल लज र सुनाचुरीमा मचान वाईल्डलाईफ रिर्सोट सञ्चालन गर्न अनुमति दिएको थियो । राप्ती पारीको चुरेक्षेत्रको घाँच बाघ, गौरीगाई र जरायो जस्ता वन्यजन्तुहरु बस्ने क्षेत्र हो । यिनै वन्यजन्तुलाई लक्षित गरी चितवन जङ्गल लजले आफ्नो क्षेत्र वरपरका तालघोललाई निर्माण सम्भार व्यवस्थित गरी चुरे फेदीमा चिस्यान कायम गरेका थिए भने उता मचान वाईल्डलाईफ रिसोर्टले पनि आफ्नो होटल भन्दा पाँच कि.मी टाढाको चुरे घाँचमा रहेको मैना खोलाको पानी कुलो निर्माण गरी पानी ल्याएर ठाउँ–ठाउँमा पानी जमाउँदै ६–७ वटा पोखरी पुरानो पिपल तालबाट नरकट झाडीमा झारेर रिसोर्ट वरपरको राप्तीको नदी तटीय वनमा ल्याएर छोड्ने गरिएको थियो ।
फलस्वरुप कहींकहीं माटो गिलो हिलो, सिमसिम पानी देखिन्थ्यो । जसले सुख्खा याममा पनि रिर्सोटले पर्यटकलाई गैंडा देखाउन पाएका थिए । उनीहरुले सौराहा देखि पश्चिम भेगमा रहेका गैंडालाई आकर्षित गर्न घाँसे मैदानभित्र घोलहरु र बाटोको विकास गरी बासस्थान लोभलाग्दो पारेका थिए । बेला–बेलामा भत्किने कुलो मर्मत सम्भारको लागि दुई जना कर्मचारी समेत खटाउने गरेका थिए ।
सरकारले राप्ती पारीको पदमपुर बस्ती उठाएपछि र चलिरहेका दुईवटा जंगल रिसोर्टहरु बन्द गरे पछि अमृते, पदमपुर लगायतका क्षेत्रहरुमा सुख्खापन बढ्दै गयो र वरपरबाट आउने जाने वन्यजन्तुको बाटो थुनिएजस्तै भयो । चुरे घाँचको पानी चुरे फेदीतिर आउने उपाय भएन । पानी उतैको उतै रोकियो । पहिले जस्तो किसान वा होटलहरुले पानी डोरयाएर ल्याउने कार्यक्रम सरकारले सञ्चालन गर्न सकेन ।
फलस्वरुप गैँडा त्यहाँ आउन छाडे, जहाँ पिउनका लागि पानी छैन भने त्यहाँ वन्यजन्तु आवत जावत गर्छन् भन्ने विश्वास गर्न सकिन्छ र ? त्यसका लागि त पानी ल्याउने वातावरण बनाउनु पर्ने हो नि । हाल प्रकृतिप्रेमी तथा संरक्षणविद्धहरुले भने गैंडाहरु निकुञ्जको पश्चिम भागतिर गएको कुरा भट्टयाइ रहेको सुनिन्छ । तर किन त्यता केन्द्रित भए भन्ने कुराको कहिँ कतै छलफल र बहस भएको पाइदैन ।
कोशीटप्पु वन्यजन्तु आरक्षवाट स्थानान्तरण गरी ल्याएका अर्नाहरु चितवन राष्ट्रिय निकुञ्जको पदमपुर क्षेत्रमा ३० हेक्टर जति क्षेत्रफल घेरावार गरी राखिएका थिए । अर्ना स्वच्छ बग्ने पानीमा रमाउने प्रजाति भएकाले स्वच्छ पानीको आवश्यकता आपूर्ति गर्न तत्कालिन कार्यालय प्रमुख डा. रामचन्द्र कँडेलको समयमा चुरेक्षेत्रको पानीको मुहान सरसफाई कार्यक्रम जनसहभागिता जुटाई सञ्चालन गरिएको थियो ।
चुरे घाँचमा दबिएका रसिला खोल्सा/खोल्सीको सरसफाई गरी त्यहाँको पानीलाई पुरानो कुलो मार्फत अर्ना राखिएको खोर क्षेत्रको पोखरीमा आपूर्ति गरिएको थियो । यसरी गरिएको पानीको आपूर्तिबाट अर्ना राखिएको खोर भित्र मात्र होइन, खोर वरपरको क्षेत्रमा पनि चिस्यान हुँदा गैँडा लगायतका अन्य वन्यजन्तुलाई समेत राहत मिलेको थियो । कति दिन त्यो वरपर गैँडा बिचरण गरिरहेका हामीले देखेका थियौँ ।
तत्कालिन अवस्थामा चुरेघाँचको पानी चुरेफेदीका मैदानहरुमा ल्याउने निकुञ्जको सक्रियता देखेर पर्यटकलाई गैंडा देखाउन समस्या नहुने भयो भनेर सौराहाका पर्यटक व्यवसायीमा खुशीयाली छाएको थियो । उनीहरुले पानीको मुहान सरसफाई कार्यक्रमलाई साथ पनि दिएका थिए । पछिल्लो पिढीका सरकारी, गैरसरकारी वा सामाजिक संरक्षणकर्मीहरुले पुरानो कामको अनुशरण गर्न नसक्दा निकुञ्जको पूर्वी क्षेत्रका पर्यटन व्यवसायीलाई निकुञ्जको छेऊमा बसेर हात्ती आयो हात्ती आयो फुस्सा जस्तै बनाई दिएको छ ।
मलाई जानकारी भएसम्म चुरे फेदीका सुख्खा मैदानहरुमा चुरे घाँचको पानी प्रवाह गर्ने कार्यक्रम वरिष्ठ पशु चिकित्सक डा.कमल गैह्रे, सहायक संरक्षण अधिकृतहरु अभिनय पाठक, ऋषि रानाभाट र रेञ्जर स्मृति लामा आदि पदाधिकारीहरु निकुञ्जको पूर्वी क्षेत्रमा कार्यरत रहुन्जेल निरन्तर चलिरहेको थियो तर त्यसपछि भने के भयो ? मेरो जानकारीमा नआएको पनि पनि हुन सक्छ, पछिल्ला दिनमा के कति गतिला र असल काम हुँदैछन् त्यतातिर । तर पनि यथार्थ कुरो के हो भने राम्रा र असल कामको अनुशरण पछिल्ला पिढीले पनि गर्नै पर्छ ।
पदमपुर क्षेत्रमा ल्याईएका अर्नाहरुको आहारा उत्पादन र आपूर्तिमा पनि पानीको कमिले पक्कै असर गरेको हो भन्ने मेरो बुझाई हो । निकै मेहनतका साथ ल्याईएका र राम्रोसँंग प्रजनन् भईरहेका अर्नाहरु आहारा, पानी र सुरक्षाको कमिले गर्दा सखापै भएर गए । चितवन निकुञ्जमा घडियाल प्रजनन केन्द्रको यही प्रकृतिको काम विगत ४५ वर्ष देखि सफल रुपमा सञ्चालनमा आएको छ र वर्षेनी सयौँ घडियाल नदीमा छोड्दै आएको जग जाहेर छ ।
यहाँनिर व्यवस्थापनको लापरवाहीले खोरमा थुनेका सबै अर्ना मर्न पुगे । खुरुक्क चुरे घाँचको पानी समेटेर चुरे फेदीका मैदानहरुका ठाउँठाउँमा ताल घोल पोखरी बनाएको भए चुरेको तल्लो तटीय समथर भू–भागमा पानी रिचार्ज भई रसिलो हरिलो भरिलो हुन्थ्यो । अझै पनि चुरे फेदका घाँसे मैदानहरुलाई जीवन्त राख्न चुरे घाँचका पानीका कुलाहरु ब्यूँताउन सक्नु पर्छ र यो मुहान सरसफाई क्रियाकलापको आवश्यकता महशुस हुन जरुरी छ । यस विषयमा धेरै नेता तथा संरक्षणविदहरुको भाषण–भुषणमा त कुरा उठाईन्छ तर कार्यक्रममा रुपान्तरण गरेको देखिएको छैन ।
गैडाहरु राप्ती नदीमा आउने बाढीले बगाएर निकुञ्जको पश्चिमी भागमा उत्रिने गरेकाले त्यता गैंडाको घनत्व बढ्दै गएको छ नै । अब निकुञ्जको पूर्वी क्षेत्रमा गैंडाहरु स्थान्तरण गर्नु प¥यो भन्ने कुराहरु उजागर भईरहेको पाईन्छ तर निकुञ्जको पूर्वी क्षेत्रको बासस्थानहरु सुधार गर्नतिर ध्यान कसैले पनि दिएको देखिदैंन ।
पुरानो पदमपुर क्षेत्रमा बस्ती उठनु भन्दा पहिले किसानहरुले चैत्रको सुख्खा महिनामा पनि कसरी धान रोप्थे भन्ने कुरा निकुञ्जले जान्न जरुरी रहेको छ । धान रोपिएपछि त्यस क्षेत्रका किसानको बालीनालीको सेरोफेरोमा गैंडा हुन्थे । यहाँनिर धान रोपेर गैंडाको बासस्थान बनाउनुपर्छ भन्न खोजिएको होइन तर चुरे घाँचको पानी मुहान सफागरी कुलोबाट चुरे फेदीका फाँटहरुमा ल्याएर जमिनमा सुख्खापन हटाएर चिस्यानपन र हिलोपन वृद्धि गरी गैंडा लगायतका अन्य वन्यजन्तुलाई समेत उर्वरा चरन क्षेत्र बनाई प्राकृतिक/ रैथाने वातावरणमा अलमल्याउने गर्न सकिन्थ्यो भन्ने भनाई राख्न खोजिएको हो ।
यस विषयमा अमृते र पुरानो पदमपुर गाउँका पुराना अनुभवी किसानहरुसंँग समन्वय गरेर पानी वितरणका पुराना कुलाहरु पहिचान गरी पुनर्जिवित गर्न सके निकै राम्रो हुने कुरामा मैले यहाँ सम्बन्धित निकायको ध्यान जाओस भन्ने खोजको हुँ । उहिले–उहिले प्रजाति र तिनिहरुको उपयूक्त संख्या प्रकृति आफैले छनौट गर्न सक्षम थियो अहिले आएर मानवीय सहयोग नभई विभिन्न वन्यजन्तु बचाउन नसकिने जस्तो देखिई रहेको छ ।
हो, चितवनको पूर्वी भेगमा अहिले चुरेको पानीको सहयोग चाहिएको छ, तल्लो तटीय क्षेत्रमा बस्ने वन्यजन्तु बचाउने हो भने यहाँ पानीको निरन्तर आपूर्ति हुनु जरुरी छ । निकुञ्जका कर्मचारी परिचालन गरेर स्थानीय श्रोत साधन र स्थानीय बासिन्दाहरुको परम्परागत तथा रैथाने ज्ञानलाई कदर गरेर चुरेको पानी ल्याएर सानातिना जलाशय बनाएको भए चुरेको फेदका फाँटहरु यति सुख्खा हँुदैन थिए । पछिल्लो समयमा निकुञ्जमा धेरै कर्मचारीहरु वकिल जस्तै बनेका छन् कि भन्ने आभास हुन थालेको छ । विषय वस्तु बारे छलफल त धेरै गर्छन् तर काम गरेको देखिदैन । सामान्य काम समेत कर्मचारीले नगर्नाले निकुञ्जले ठुलो क्षति समेत ब्यहोर्नु परेको छ ।
एक छिन विचार गरौँ त ! त्यति संख्याका अर्ना कसरी सकिए ? निकुञ्जको पूर्वी क्षेत्र सुख्खा भयो, के कसरी चिस्यान कायम गरी गैंडालाई अलमल्याउने भन्ने विषयमा कैयौँ पटक छलफल त भए तर कसैले सुनेर, ध्यान दिएर कार्यक्रम सञ्चालन गर्न चासो देखाएको पाईएको छैन । व्यवस्थापनको कमीकमजोरीले यी कलिला तामाका मुना जस्ता अर्ना मारिदा कस्को मन भक्कानिदैन होला ? यसको उत्तर शायद सबैको मनमा छ तर कोही बोल्नेबाला छैन यहाँ । के अपराध गरे यी अर्नाले कोशी टप्पुबाट चितवन डेरा सरेर । किन उनीहरुलाई बचाउन सकिएन भन्ने छलफल भएपछि निस्केको निष्कर्षमा केही काम हुन सकेको छ हालसम्म ?
चितवन राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्रमा पर्यटकीय होटलहरु सञ्चालनमा रहँदासम्म उक्त क्षेत्रका जङ्गल भित्र सुख्खा मौसममा पनि ठाउँ ठाउँमा घोल र हिलो माटोका स्थानहरु विकसित भएकाले गैंडाहरुको लागि बासस्थान राम्रो बनेको थियो । अहिले पनि चुरे घाँचका खोल्साखोल्सीका पानीका मुलहरु त्यही कतै छन् तर हराएका छैनन् होला । ती मुहानबाट पानी बग्ने कुलाहरु ब्यूँताउँदा ब्यूँतिन्छन अहिले पनि । पुनः त्यो पानीको श्रोतहरुलाई ब्यूँताउन सकिन्छ ।
खोल्साखोल्सीका पानीका मुलहरु सालका पात झरेर पुरिएका हुन सक्छन तर पुनः सफा गर्ने बित्तिकै क्षण भरमै पानी पलाउन÷रसाउन थाल्दछ । यसरी सफा गरिएनभने पानी सालको पात÷जमीनको तह मुनिबाट बगेर खेर गइरहेको हुन्छ । मूलको पानी भेट्टाएर निकाल्न सके चुरेफेदका फाँटहरुमा पानीको कमी हुने छैन । यस्तो काम गर्न निकुञ्जलाई कुन नीति, नियम र कानूनले छेकेको छ होला ? निकुञ्जभित्र सञ्चालित होटेलहरुले पानीको श्रोत खोजी व्यवस्थापन गर्न सक्छन् भने निकुञ्ज÷सरकारले भने त्यहीकाम गर्न नसक्ने भन्ने कही हुन्छ ?
जहाँ व्यवस्थापनको आवश्यकता छ, त्यहाँ उचित व्यवस्थापनको पहलकदमी गरिदैन, जहाँ आवश्यक छैन त्यहाँ पटक पटक अनावश्यक ज्यवस्थापन गरिरहने परिपाटी भएसम्म उल्लेख्य उपलब्धि केही हुँदैन । जस्तैः निकुञ्जको पश्चिमी क्षेत्रमा वर्षेनी आउने बाढीले घाँसेफाँटा लतारेर, जमिन खोलेर, पुरेर, तालघोल निर्माण गरेर प्राकृतिक रुपमा वासस्थान व्यवस्थापन भईरहेको हुन्छ तर पनि त्यस्ता ठाउँमा हामी व्यवस्थापनका कामहरु निरन्तर गरिरहेका हुन्छौ । तर पूर्वी क्षेत्र (सुनाचुरी, अमृते) आफैमा सुख्खा क्षेत्र हो त्यहाँ पानीको मूल खोजी गरी पानीको सञ्चय र व्यवस्थापन गर्ने पहल कहिल्यै किन गरेनौ ? अझ पनि होला जस्तो लागिरहेको छैन ।
नेपाली उखान “साउन भदौमा आँखो फुटेको राँगोले संधै हरियो देख्छ” भने जस्तै हामी पनि चैत्र महिनामा पनि झरी लागेकै देख्न खोज्दैछौं । अमृते क्षेत्रमा चैत महिनामा पनि साउनको जस्तै चिस्यान हुन्छ भनेर सोच्छौ । तर समयमा काम गर्दैनौ । बर्खालाई हेरेर चित्रण गर्दा वा लेख्दा त्यस क्षेत्र हिलैहिलो भएको यही आँखाले देखे जस्तो आभाष हुन्छ तर फागुन, चैतका दिनहरु सुख्खै–सुख्खा पनि हिलै हिलो देखिएको आभाष हुन्छ । त्यो यथार्थ होइन ।
गैडाहरुको मृत्युदर निकुञ्जको पूर्वीभागतिर भन्दा पश्चिमतिर बढेको छ भनेर निकुञ्जको तथ्याङ्कले देखाएको पनि छ । तर एउटा प्रष्ट कुरा के छ भने सुख्खा क्षेत्रमा वन्यजन्तुहरु रमाउन सक्दैनन् । किन यस विषयमा ध्यान पु¥याउन सकिएन ? । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्रमा बस्ती, होटल रहंँदाको अवस्थामा भन्दा गैंडा पातलिएको कुरो सबैले अनुभव गरेकै हो । पछिल्लो पिढीको अपर्याप्त सोच र कार्यक्रमहरु प्राथमिकतामा नपरेर पूर्वी क्षेत्रको बासस्थान सुख्खा र रुखो बन्दै गएको हो ।
अर्ना कोशीटप्पु वन्यजन्तु आरक्षवाट चितवन राष्ट्रिय निकुञ्जमा ल्याउनु र चितवनवाट कोशी तर्फ गैंडा लैजानु अब एकादेशको दन्त्य कथा जस्तै सावित हुने सम्भावना देखिदै छ । भनिन्छ, कोशीबाट चितवनमा स्थान्तरण गरेका अर्ना बिरामी भएर मरे, खोर भित्रका अर्ना बाघले खाएर सकिए । खोर भित्र थुनेर राखेका अर्नाहरु मरेर सकिदा हामी कसैलाई अलिकति पनि पश्चताप भएको जस्तो लाग्दैन । हरेक वन्यजन्तुलाई आफ्नै सन्तान जस्तो माया गरेमात्र तिनिहरुले भविष्यमा मूलुकलाई प्रतिफल दिन सक्छन् ।
खोर भित्र राखेका अर्नालाई के कसरी बाघले खायो ? त्यस्को अनुगमन प्रक्रिया के थियो ? सबै अर्ना एकै चोटी त बाघले खाएको होइन होला । हैजा लागेर सबै अर्नाहरु एकै चोटी मरेका पनि त होइन होला त ? पटक–पटक गरेर बाघले खाएको भए समयमा किन ध्यान दिइएन ? के जेलभित्र थुनुवा म¥यो भने जेलरले छुटकारा पाउँछ ? अघिल्लो पिढीले गोठालो बनेर बचाएका अर्नाहरु, पछिल्लो पिढीले मालिक बनेर खोरै रित्याएको देख्दा सुन्दा धेरै दुख लाग्छ । हाम्रा यस्तै बानी ब्यहोराहरुको प्रभाव घडियाल प्रजनन् केन्द्रमा समेत पर्न गयो । जसको लापरवाही देखेर मैले चिफ वार्डेनलाई जीर्ण अवस्थामा रहेका खोरहरुको व्यवस्थापनमा देखिएका कमीकमजोरीहरु औल्याई दिदा पनि वास्ता गरिएन र पछी घडियाल गोही र कछुवालाई समेत बाघले खायो ।
कुनै पनि कामको मालिक त वन्न सकिन्छ तर काम सुहाँउदो मालिक वनेको राम्रो हो । आफुलाई वन्यजन्तु मालिक/अफिसर/विज्ञको दुहाई दिन पछि नपर्ने तर वन्यजन्तुको आवश्यकता बोध गर्न नसक्नेलाई खै के नामले पुकारौ ? अधिकृत वकिलहरु ! गाडी चढेर दौड्दैमा हाकिम/माउडे/मालिक भनेर वन्यजन्तुले कसैलाई चिन्दैन । वन्यजन्तुले कसैलाई चिन्नलाई लौरो टेकेर वन्यजन्तुको वरीपरी नोकर बनेर हिड्ने/भिज्ने गर्न सक्नुपर्छ, अनि वन्यजन्तुले उसलाई आफ्नो हाकिम भनेर चिन्दछ । केही आफु अन्तर्गतका कर्मचारीहरु वा अन्य केही मानिसहरुले नमस्कार गर्दैमा वन्यजन्तुहरुले यो हाम्रो पनि हाकिम रहेछ भनेर चिनिहाल्दैन होला ।
“वन्यजन्तु हिताय” हाकिम हुन वन्यजन्तुको आत्माले उसलाई चिन्न सक्ने हुनु पर्दछ । घरमा पालेको गाईले पनि जसले स्याहार सुसार गर्छ, उसलाई मात्र दुध दुहुन दिन्छ, नत्र किन दिन्छ अरुलाई ? तोकिएका पदाधिकारीहरु निकुञ्जका वनजङ्गल डुल्न, अनुगमन गर्न गए पो निकुञ्ज भित्रका बाटोघाटो, पुल पुलेसा जीवजन्तु, वनस्पति, चरन, ताल, घोलको अवस्था आदि यावत कुराहरुको जानकारी हासिल हुन्छ । अनुगमनको मर्म नै नबुझेको कुरो त खोरभित्र राखिएका अर्ना र अर्नाकै खोरमा छाडिएका एकजोडी गैंडाका बच्चासमेतको मृत्यूले पुष्टि गर्दैन र ? निरन्तर अनुगमनमा गएको भए सबै जीवितै हुन्थे, मर्नु नै पर्ने के कारण थियो र ? अर्ना र गैडाहरुको देखभालमा अव्वल ठहरिएको राष्ट्रिय प्रकृति संरक्षण कोष यहाँनिर कसरी चुक्न पुग्यो ?
यहाँ निकुञ्जको मात्र नभै कोषको पनि विज्ञता सन्तोषजनक देखिएन । खोर भित्र पालिएका जीवजन्तुहरुको विज्ञान थाहा पाउनु पर्ने हो कि होईन ? थाहा पाएपछि व्यवस्थापन गर्न सजिलो हुन्थ्यो । राज्यले पुरा गर्न खोजेको उद्देश्यहरु पुरा गर्न हामी विभिन्न कालखण्डमा कार्यरत कर्मचारीहरुले के कति योगदान गरेका थियौँ ? आफुले आफैलाई सम्झिएर मूल्याङ्कन गरे कसो होला ?
चितवन राष्ट्रिय निकुञ्ज स्थापना काल २०३० सालमा निकुञ्जमा १०० भन्दा कमको संख्यामा गैंडा रहेकोमा जे गरेर भएपनि त्यसबेला गैंडा लगायतका वन्यजन्तु बचाउनु पर्ने वाध्यता थियो । अबको पिढीले संरक्षणको साथै बासस्थानको व्यवस्थापन पनि सँंगै लगेन भने त्यो बेलाको जस्तो काम गरेर छुटकारा पाईने छैन । त्यसबेला बासस्थानको व्यवस्थापनमा धेरै ध्यान दिन जरुरी थिएन तर निकुञ्ज स्थापना भएको ४५ वर्ष पछि पनि निकुञ्जको पूर्वी क्षेत्रको वन्यजन्तुका बासस्थानको अवस्थाभने धेरै फरक देखिएको छैन ।
स्थापना हुनु अगाडि र पछाडि पनि निकुञ्जको पूर्वी क्षेत्रमा छाडा गाईवस्तु चरिचरनको बाहुल्यता थियो । गैंडाले छाडा गाई भैसीसँंग चरिचरनमा प्रतिस्पर्धा गर्नु परेको अवस्था थियो । निकुञ्जका ताल,घोलमा माछा मार्ने देखि लिएर घाँसेफाँटाहरुमा घाँस काट्ने, दाउरा, काठ संकलन गर्ने र घरपालुवा पशु चौपाया चरिचरन गराई निकुञ्ज मानवीय चलायमान अवस्थामा रहेकाले वन्यजन्तु बासस्थान पनि बिग्री सकेको अवस्था थिएन । त्यसैले गैंडाको सुरक्षालाई मात्र ध्यान दिएर काम गरिएको थियो ।
अब बासस्थानको सुधार गर्दै संरक्षणका रणनीति अपनायौ भनेमात्र थोरै क्षेत्रमा पनि धेरै वन्यजन्तुको संख्या व्यवस्थापन गर्न सक्छौँ । साथै मानव वन्यजन्तु द्वन्द्व पनि न्यूनीकरण गर्न सकिएला । वन्यजन्तुहरुलाई आकस्मिक बाढीको प्रकोपबाट पनि बचाउ गर्न क्षमता र सीप विकास गर्न सकिएला कि ?
बासस्थानमा हिलो र चिस्यान कसरी व्यवस्थापन गर्ने ?
गैंडा आफैमा हिले चउर, हिले घाँसे फाँटामा रमाउने र टन्टालापुर घाममा पनि शरीरमा हिलो दलेर चर्न निस्कने प्राणी हो । चितवन राष्ट्रिय निकुञ्जमा अबका दिनमा पूर्वी क्षेत्रमा बासस्थान व्यवस्थापनलाई प्राथमिकतामा राख्नु पर्छ, सधैँ जस्तो उपेक्षा गरिरहन मिल्दैन । राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्रमा रहेका पटना ताल÷गरुड ताल, नन्दन ताल, जजिङ्गर र चप्परचुली घोल, आदि जलीय क्षेत्रहरु अर्गानिक प्रदुषणको मारमा परी पुरिने क्रममा रहेकले उचित मर्मत सम्भार गरी चुस्तदुरुस्त राख्ने कार्य अविलम्व गरिनु पर्दछ ।
भुतही खोला वा चप्परचुली पोष्ट नजिकको खोलाको पानी प्रवाहित गरी अति सुख्खा अमृते र भिमपुर फाँटाहरु उर्बर हरिलो भरिलो हिले घाँसेफाँटा वा चउर निर्माण गर्न सकिने सम्भावना छ । यी क्षेत्रहरुमा वाईल्डलाईफ रिसोर्टहरु सञ्चालनमा रहँदा उनीहरुले पहिचान र व्यवस्थापन गरेका हिले पोखरी र ताल घोललाई पुनः सक्रिय पार्न वा चुरेफेदिका सुख्खा फाँटहरुमा पानीको रिचार्ज बढाउन चुरेघाँचमा पोखरीहरु बनाई वन्यजन्तुका लागि दिगो अर्गानिक बासस्थान सिर्जना गर्न आवश्यक छ । अथवा यस क्षेत्रका सवै घाँसे फाँटाहरुमा ५००/५०० मीटरको दुरीमा कम्तीमा पनि एउटा गैंडा अटाउने हिले आहाल निर्माण गरेर चुरे घाँचको पानीको श्रोत जोडेर आहालहरुलाई जिवन्त राख्न सकिन्छ ।
विगतका पर्यटन व्यवसायीहरु, संरक्षणकर्मीहरु र किसानहरुका रैथाने विज्ञताको सदुपयोग गर्दै चितवन राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्रलाई ३० वर्ष अगाडीको जस्तै हराभरा गैँडा बाघ हात्ती र अन्य वन्यजन्तुहरुले भरीपूर्ण बनाउन सोच परिवर्तन गरी थप मिहिनेत र परिश्रम गर्ने प्रेरणा नयाँ पिढीका संरक्षण कर्मीहरुमा जागोस भन्न चाहन्छु । अन्तमा नेपालको गैँडाको संरक्षण हामीले गरेका छौँ हाम्रो मिहिनेत र अनेकौँ प्रयत्नले गैडाको संख्या वृद्धि भइरहेको छ । अर्काेतिर भन्नुपर्दा गैँडा मार्ने र मराउने जिम्मा पनि हाम्रै काँधमा आएको छ । जब हामी गैँडाको बासस्थान, चरन, सुरक्षाको विषयमा विशेष ध्यान दिदैनौँ अनि गैँडा मर्ने गरेका छन् । त्यसैले मलाई भन्न मन लागेको छ, गैँडा बचाउने पनि हामी अनि मार्ने पनि हामी नै हौँ ।
लेखमा समेटिएका सबै तस्विर : बेद बहादुर खड्का, नुरेन्द्र अर्याल, अभिनय पाठक, स्मृति लामा,बसन्त उपाध्याय .
(लेखक : वन्यजन्तु विज्ञ, चितवन राष्ट्रिय निकुञ्जका पूर्व संरक्षण अधिकृत हुन् ।)