असारमा पनि बन्द भएन, नदीजन्य पदार्थको उत्खनन्


काठमाण्डौं: असार महिनामा पनि पाल्पा जिल्लाका विभिन्न स्थानबाट नदीजन्य पदार्थ उत्खनन् तथा निकासी भइरहेको छ ।
कानूनी हिसावले बर्खाका बेला नदीजन्य पदार्थको उत्खनन् तथा निकासी अवैध मानिन्छ । जिल्लामा यो महिनामा पनि जिल्लाको खानी सञ्चालन भएका क्षेत्रबाट चुनढुङ्गा, ढुङ्गा तथा गिट्टीको उत्खनन् गरी ओसारपोसारको काम भइरहेको छ ।
जिल्लाको बगनासकालीस्थित चिर्तुङ्धाराबाट हरेक दिन सयौँ ट्रिपर सडक कालोापत्रेका लागि प्रयोग हुने गिट्टी निकासी भइरहेको छ ।

जिल्ला प्रशासन कार्यालय पाल्पाले एक महिनाअघि नै जिल्लाभित्र स्वीकृति लिएर सञ्चालित कुनै पनि खानी तथा उत्खनन् क्षेत्रबाट ढुङ्गा, गिट्टी, बालुवा, तथा माटो निकासी नगर्न निर्देशन गरेको थियो । स्थानीय प्रशासनको निर्देशनको ठाडो उलङ्घन गर्दै नदीजन्य पदार्थको उत्खनन् तथा निकासी हुने काम रोकिएको छैन । निर्देशन दिने प्रशासनको आँखा अगाडी रैनादेवी छहराको सिद्धेश्वर तथा सोमादी, बगनासकालीको चिर्तुङ्धारा लगायतका क्षेत्रबाट चुन, गिट्टी तथा ढुङ्गा बोकेर सयौँ ट्रिपर रुपन्देही लगायतको स्थानमा जाने गरेका छन् ।

असार महिनामा खानी तथा उत्खनन् गर्न नमिल्ने भएपनि ट्रिपरले डम्पिङ् गरेको सामग्रीको नाममा ढुङ्गा तथा गिट्टी निकासी गरेको ट्राफिक प्रहरी प्रमुख दामोदर मल्लले जानकारी दिनुभयो । स्थानीय तहहरूले असार महिना लागेपछि उत्खनन् तथा ओसारपोसार कार्य रोक्नुपर्ने भएपनि नरोकेको उहाँले बताउनुभयो ।

असारमा जथाभावी उत्खनन् र निकासीले विपद्का घटना बढेका छन् भने कालोपत्रे सडक समेत ध्वस्त बनेको छ । असार महिनामा पानी परेर सिद्धार्थ राजमार्गको जमिन गलेका बेला अत्याधिक भारका ट्रिपरले चुनढुङ्गा, ढुङ्गा तथा गिट्टी बोकेका छन् ।

त्यसले सिद्धार्थ राजमार्गको ठाउँ–ठाउँमा सडक भाँसिएको छ भने सडक उबडखाँबड बनेको छ । अत्यधिक भारका ट्रिपरको ओहोरदोहोरले सडकको अवस्था सुधार हुन नसकेको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । असार लागेपछि उत्खनन्का कार्य पूर्ण रुपमा बन्द गर्नुपर्ने र खानीस्थलबाट ओसारपोसार रोक्नुपर्ने निर्णय भएपनि स्थानीय तहहरूले कार्यान्वयन नगरेको गुनासो बढेको छ ।

स्थानीय तहहरूले वर्षको निश्चित दिन उत्खनन् तथा ओसारपोसार गर्न पाउने गरी सम्झौता गरेर अनाधिकृत रुपमा कामलाई निरन्तरता दिएको तानसेनका स्थानीय बासिन्दा कृष्ण अधिकारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रशासनले असार, साउन र भदौँ महिनामा चुनढुङ्गा, ढुङ्गा, गिट्टी, बालुवा, माटो उत्खनन् रोक लगाएपनि अहिले पनि उत्खनन् र निकासी भइरहेको छ ।’ उत्खनन् र निकासीको अनुगमन गर्ने र कारबाही गर्ने निकाय बेखबर बनेको उहाँले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाले उत्खनन् तथा ओसारपोसार भइरहेको बारेमा बुझेर थप प्रक्रिया अगाडि बढाउने जनाएको छ । केही स्थानबाट ढुङ्गा, गिट्टी उत्खनन् र ओसारपोसार भएको जानकारीमा आएको छ जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक हेरम्व शर्माले बताउनुभयो । स्थानीय तहले कसरी उत्खनन्का काम गर्न दिएका छन्, त्यो बुझेर थप कारबाही अगाडि बढाउने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here