नर्सरी प्लटले चिनिएको अमलाबास लेक सल्लेरी वन

काठमाडौँ । पाल्ला जिल्लाको पश्चिमी भेगमा वन मासिन थाल्यो, वन्यजन्तु नोक्सान हुन थाले । यो देखेर केही स्थानीय व्यक्तिले चिन्ता प्रकट गरे । स्थानीय बासिन्दाको चिन्ता देखेपछि तत्कालिन जिल्ला वन कार्यालय पाल्पाले स्थानीय समुदायलाई रैनादेवी छहरा गाउँको अमलाबास लेक सल्लेरी वन क्षेत्रलाई सामुदायिक वनको रुपमा हस्तान्तरण गर्यो ।

आज भन्दा २७ वर्ष अघि २०५१ सालमा हस्तान्तरण गरिएको यो वन जब समुदायको जिम्मा लगायो सरकारले । त्यसपछि वन संरक्षणका काम प्रभावकारी हुँदै गयो । जथभावी वन काट्ने, मास्ने काम रोकियो अनि वन्यजन्तुको चोरी शिकार गर्ने जस्ता गलत काम पनि नियन्त्रणमा ल्याउन सफल भए स्थानीय बासिन्दा ।

अमलाबास क्षेत्रको ७२ हेक्टरमा खोटे सल्लो, गोब्रे सल्लोको वनजंगल रहेको छ । अलि अलि कटुसको जंगल पनि छ । सल्लोको जंगल हुने स्थान भएकाले पानीको अभाव हुँदाहुँदै पनि स्थानीय बासिन्दाको जोडबलले वनजंगल हरियाली अनि बाक्लो हुँदै गएको छ ।

समुदायले केही वर्ष पहिलेसम्म खोटो संकलन गरेर बिक्री गर्ने गरेको थियो । तर यो कार्य बढ्दै गएपछि सल्लाको जंगलमा असर पर्न थाल्यो । खोटो संकलन गर्ने कामलाई समितिले सर्वसम्मत निर्णय पारिद गर्दै स्थगित गरिएको छ ।

सामुदायिक वन भित्र उत्कृष्ट नमूनाको बिभिन्न जडीबुटीको पहिचान प्लट रहेको छ । ३२२ थरिका जडीबुटीको नमूना नर्सरीको प्लट निर्माण भएपछि यो सामुदायिक वनले छुट्टै पहिचान बनाउन सफल भएको हो । सो पहिचान प्लट हेर्न टाढा टाढाबाट सामुदायिक वन समितिका उपभोक्ताहरु, अध्ययन अनुसन्धानकर्ताहरु समेत आउने गरेका छन् ।

सचिव, गीता भट्टराई घिमिरे

सामुदायिक वन उपभोक्ता समितिका सचिव गीता भट्टराई घिमिरेका अनुसार यहाँको लौठ सल्ला, चिराइतो, दालचिनीको बिरुवा रोपेर मनग्यै फाइदा लिने सपना पानीको अभावले पूरा हुन सकेको छैन । स्थानीय बासिन्दा वन संरक्षण भनेपछि हुरुक्कै हुने, आफ्नो व्यक्तिगत काम छाडेर पनि वनजंगल संरक्षण तर्फ लाग्ने प्रवृतिले वनजंगल अहिलेको अवस्थामा पुगेको हो ।

यहाँका स्थानीय बासिन्दा संरक्षण प्रति निकै सचेत छन् । सचिव भट्टराईले भनिन्, वनजंगलमा मृग, कालिज, चितुवा, लगायतका दर्जनौ प्रजातिका वन्यजन्तु पाखो भित्तामा देख्न पाइन्छन् । यहाँका बासिन्दाले चोरी शिकार गर्ने काम गरेका छैनन् ।

सामुदायिक वनले किसानहरुलाई डाले घाँस तथा भूईँ घाँस उपलब्ध गराउने गरेको छ । समितिले समाजका विपन्न परिवारलाई गाई,भैँसी तथा बाख्रा पालनका लागि कोषबाट सहयोग गर्ने गरेको छ । समितिबाट रकम लिएर वनजंगलको घाँस खुवाएर केही मिहिनेति उपभोक्ताले आफ्नो आर्थिक अवस्थामा सुधार ल्याएका पनि छन् ।

नर्सरीलाई अझ विस्तार र विकास गर्न सकिन्छ कि भन्ने सपना बुनेका यहाँका उपभोक्ताहरु पहिचान प्लटलाई थप व्यवस्थित गर्न नसक्दा केही निराश भएका पनि छन् । अहिले तीन तहका सरकार छन् । सम्भावना भएका ठाउँको पहिचान गरी थोरै पनि सहयोग हुन सके यसको विकास र विस्तार गर्न सकिने धारणा सचिव घिमिरेको छ ।

सो प्लटको अध्ययन गर्ने वन विज्ञान अध्ययन संस्थान तथा अन्य विश्व विद्यालयका विद्यार्थी, प्राध्यापक, पर्यटक आउने गर्दा यहाँका बासिन्दा निकै खुसी हुने गरेका छन् ।

सचिव घिमिरेले भनिन्, सुख्खा पाखो भएकाले जति मिहिनेत गरेपनि सोचे अनुरुपको प्रतिफल प्राप्त गर्न गाह्रो हुँदो रहेछ । हामीले तेजपात धेरे रोप्यौँ । मृगले खाएर खाइदिन थालेपछि त्यो पनि सोचे अनुसार हुन सकेन । अरु जटिबुटीको पनि टुसा उम्रिन नपाउँदै मृगले खाने हुँदा नयाँ बोट थपिन पाएको छैन । सल्लो हुने वन जंगल सुख्खा भएर पनि यस्तो भएको हो ।

यहाँका उपभोक्ताले सामुदायिक वनलाई निजी सम्पत्ती जस्तै गरेर हुर्काएका छन् । सामुदायिक वनबाट भएका आम्दानीलाई पानीको मुहान संरक्षणमा लगाउने गरिएको छ ।

विपन्न परिवारलाई जीविकोपार्जन सँग जोड्ने काममा पनि सामुदायिक वनले भूमिका खेलिरहेको छ । बंगुर पालन, कुखुरा पालनले गर्दा धेरै जसो परिवारको गाउँघरमै बसेर राम्रो आम्दानी लिन सफल भएका छन् ।

सचिव घिमिरेले भनिन्, सामुदायिक वनले यहाँको सल्लेरी प्राथमिक विद्यालयको भवन निर्माणका लागि सहयोग गरेको छ । यहाँको शिक्षा, सरसफाई, सचेतना अभिवृद्धिका साथै महिला हिंसा न्यूनिकरण गर्नमा सामुदायिक वनले बिभिन्न गतिबिधिहरु सञ्चालन गरिरहेको छ ।

समितिले यहाँका जाँगरिला उपभोक्तालाई बेत, बाँसको सामान बनाउने तालिम प्रदान गरेको छ । सल्लोको फर्निचर निर्माण गर्ने तालिमले यहाँका बासिन्दा स्वरोजगार हुन सफल भएका छन् ।

अघिल्लो पुस्ताले जतन गरेर बचाएको वनजंगलमा पछिल्लो पुस्ताको त्यति ध्यान जान नसक्दा यहाँका बुढापाकाले अलि चिन्ता व्यक्त गर्न थालेका छन् । युवा जति सबै शिक्षा र रोजगारीका लागि राजधानी र बिदेश हिड्न थालेपछि वन संरक्षण प्रतिको लगाव कम हुँदै गएको छ ।

सचिव घिमिरेले भनिन्, युवा पुस्तालाई कसरी वनजंगलको संरक्षणमा लगाउने भन्ने नै अहिलेको चिन्ताको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here