असक्षमतातिर धकेलिँदै वन मन्त्रालयको नेतृत्व

काठमाडौँ । उपेन्द्र यादव, उपेन्द्र महतो र विनोद चौधरीको त्रिपक्षीय साँठगाँठमा वन तथा वातावरण मन्त्री बन्न सफल भएका डा. वीरेन्द्रप्रसाद महतोको नेतृत्व असक्षमतातिर धकेलिँदै गएको छ ।

वन मन्त्रीमा पार्टीका तर्फबाट बालुवाटारमा पहिलो चरणमा प्रदीप यादव र दोस्रो चरणमा राजकिशोर यादवको नाउँ गएपनि अन्ततः ती दुबै जनालाई पछार्न सफल महतो परिवारका सदस्य वर्तमान मन्त्री वीरेन्द्र यादवले जेठ १० गते सपथ लिएका थिए, त्यसपछिका हरेक दिनमा उनी कि त मधेशी समुदायका मानिसको घेरामा हुन्छन् कि त सरकारी जग्गामा आयोजना बनाउन खोज्ने व्यक्तिसँग गोप्य बैठकमा भेटिने गरेका छन् । यी घटनाक्रम हेर्दा उपेन्द्र यादवले यादव परिवारका प्रदीप र राजकिशोरको तराजुमा महतो परिवारका धनीमानी व्यक्तिलाई छनौट गर्नुलाई वन विकास होइन, वन विनाशको संकेतमा रुपमा लिन थालिएको छ ।

मन्त्री भएको झण्डै दुई महिनामा बल्ल तल्ल सचिवालय बनाउन सफल मन्त्री महतोको सचिवालयको भेटघाट सूचीको पहिलो प्राथमिकतामा वन जंगल काट्ने र जग्गाको भोगाधिकारका लागि फायल बोक्ने व्यक्ति पर्ने गरेका छन् दोस्रो प्राथमिकतामा मधेशी समुदायका सरुवाको चक्करमा घनचक्कर लगाइरहेका वन मन्त्रालयमा कार्यरत कर्मचारी पर्ने गरेका छन् । भेटघाटको सूची हेर्दा धेरैजसो जनता समाजबादी पार्टीका नेता, कार्यकर्ता पर्ने गरेका छन् ।

मन्त्री भए लगत्तै बर्दिया राष्ट्रिय निकुञ्जमा आयोजना गरिएको वन्यजन्तुको चोरी शिकार नियन्त्रण सम्बन्धी कार्यक्रममा काम नगर्ने कर्मचारीलाई तीन मिनेट होइन, तीन सेकेण्डमा डन्डा लगाउन्छु भनेर भाषण मार्फत कर्मचारीलाई थर्कमान गराएका मन्त्री महतोले हाल मन्त्रालयका कर्मचारी व्यवस्थापन गर्न नसक्दा मन्त्री महतोको व्यवस्थापकीय कमी कमजोरीको कारण भएको देशलाई हानी नोक्सानी उपरको कारवाही उनलाई कसले गर्ने होला भन्ने प्रश्न तिनै कर्मचारीले गर्न थालेका छन् । मन्त्रीको कार्यसम्पादन मूल्याङ्कन गर्ने प्रधानमन्त्री कार्यालयमा वन मन्त्रीको असक्षमताका बिरुद्ध उजुरी पर्न थालिसकेका छन् ।

नीजि क्षेत्रको पृष्ठभूमिबाट मन्त्री बन्न सफल भएका महतोले मन्त्रालयका सचिव, सहसचिव खोजेको बेलामा उपस्थित नहुने गरेको गुनाशो गर्दै आएका छन् । यद्दपी सचिवले मन्त्रीलाई जानकारी नगराएर कुनै कार्यक्रममा नजाने र सहसचिवले सचिवलाई जानकारी नगराएर मन्त्रालय नछाड्ने संस्कार निजामति सेवाको पुरानो र विशेष खालको गुण रहँदै आएको छ । यो संस्कारलाई चुनौती दिँदै मन्त्री महतोले मन्त्रालयका सचिव र सहसचिव हाजिर गरेर बाहिर जाने गरेको आरोप लगाउँदै आएका छन् ।

‘भनेको बेला मानिस हाजिर हुनुपर्छ, मागेको बेला काम फत्ते हुनु पर्छ’ मन्त्री महतोको पदभार ग्रहण गर्दाको दिनको निर्देशन यस्तो थियो । तर यस्तो निर्देशन दिने मन्त्री महतोले चाहिने ठाउँमा आवश्यक मानिसको व्यवस्थापन गर्न सकेका छैनन् अनि कसरी भनेको बेलामा मानिस हाजिर हुने र मागेको बेला काम फत्ते हुन सक्छ ?

मन्त्री महतोले नीजि कम्पनीका मालिकले आफ्ना कर्मचारी हप्काए जस्तै सचिव, महाशाखा प्रमुख र विभागीय प्रमुखलाई हकार्न थालेका छन् । मन्त्रालयका एक जना सहसचिवले भने, ‘मन्त्रीको बोलाई खासै त्यति गतिलो छैन । काम गराउन सक्ने क्षमता नभएर हो कि ? उतै बैँकको कर्मचारी जस्तो ठानेर हो, मन्त्रालयका सिनियर कर्मचारीलाई पनि अलि अण्डरइस्टिमेट गरेर बोलेको फिल भइरहेको छ ।’

फितलो कर्मचारी व्यवस्थापन
प्रदेशतिरका सात वटा वन मन्त्रालयमा ६ जना जनरफल फरेष्ट्री र एक जना सोयलको सहसचिव जाने व्यवस्था छ । तर हाल प्रदेशतर्फ कोशीमा वनस्पतिका सञ्जिव राई र सुदूरपश्चिममा नेशनल पार्क समुहका बेदकुमार ढकाललाई पठाइएको छ । मधेश प्रदेशमा सहसचिव पठाउन सकेको छैन । रिसर्चका यज्ञनाथ दाहाल बागमति प्रदेशमा जबरजस्ती बसेका छन्, बागमति प्रदेश सचिवमा अर्का सहसचिव धिरेन्द्र प्रधानको सरुवा भइसक्दा पनि दाहाल बालुवाटारको किलो समातेर बागमति नछाड्ने भन्दै बसेका छन् ।

विद्यमान व्यवस्था अनुसार गण्डकी प्रदेशमा बिशाल घिमिरे, लुम्बिनीमा उद्धब घिमिरे र कर्णालीमा बिनोद देवकोटाको व्यवस्थापन भएको छ । आफूलाई रिजल्ट ओरिन्टेड भन्ने मन्त्री महतोले प्रदेशको सचिव व्यवस्थापमा ‘राइट म्यान राइट पेलेस’ भन्ने कुरालाई अझै ध्यान दिन सकेका छैनन् ।

वन तथा भूसंरक्षण विभागमा महानिर्देशक पद खाली भएको पनि लामो समय भइसक्यो । सेवानिवृत हुने क्रममा केही महत्वपूर्ण फायलको काम सकाउने ध्याउन्नमा लागेको तत्कालिन महानिर्देशक देवेशमणी त्रिपाठीलाई मन्त्रालयमा बोलाएर हकारेका मन्त्री महतोले वन विभागका कामलाई सुचारु गर्न तत्काल कर्मचारी पठाउनु पर्नेमा हालसम्म पनि विभागमा नेतृत्व दिन सकेका छैनन् ।

सहसचिवमा पदोन्नती भएका दीपक ज्ञवालीलाई विभागमा पुल दरबन्दीमा राखिएको छ । विभागमा हाल नवराज पुडासैनी, गणेश पौडेल र रबिन्द्र महर्जन उपमहानिर्देशकको रुपमा काम गरिरहेका छन्, महानिर्देशकको कुर्शी खाली छ । वन अनुसन्धान विभागमा पाँच जना सहसचिवको दरबन्दी रहेकोमा हाल महानिर्देशक यम पोखेरल सहित तीन जना मात्र काम गरिरहेका छन् । कानूनी व्यवस्था विपरित रिसर्चका यज्ञनाथ दाहाल बागमति प्रदेशमा रमाइरहेका छन् भने विभागको उपमहानिर्देशकको कुर्सी खाली रहेको छ ।

वनस्पति विभागमा महानिर्देशकमा डा. राजेन्द्र केशीको पदस्थापन भएपछि कर्णाली प्रदेशबाट सरुवा भएर आएका वनस्पतिका सहसचिव मोहनदेव जोशी उपमहानिर्देशकमा जान नमानेर हाल मन्त्रालयमा हाजिर गरिरहेका छन् । दुई पटक वनस्पति विभागको महानिर्देशक भइसकेका वनस्पतिका सहसचिव सञ्जिव राई कानूनी व्यवस्था विपरित कोशी प्रदेशको सचिवमा गएका छन् । वनस्पति विभागमा बोट्नी समुहको एक जना उपमहानिर्देशक पद खाली रहेको छ ।

निकुञ्ज विभागका एउटा उपमहानिर्देशक पद विगत एक वर्षदेखि खाली रहेको छ । जनरल फरेष्ट्री समुहको प्रदेशमा जानुपर्ने व्यवस्था विपरित नेशनल पार्क समुहका सहसचिव बेदकुमार ढकाललाई विभागको उपमहानिर्देशकबाट सरुवा गरेर सुदूरपश्चिम प्रदेशको सचिवमा पठाएको एक वर्ष हुन थालेको छ । जान नपर्ने ठाउँमा ढकाललाई सरुवा गरेर विभागको उपमहानिर्देशक पद खाली राखिएको छ ।

यता मन्त्रालयमा केही सहसचिवहरुको व्यवस्थापन हुन नसक्दा बस्ने कुर्शी र चढ्ने गाडी नभएर कतिपय सहसचिवको मनोविज्ञान खस्किदो अवस्थामा छ । सहसचिवमा पदोन्नती भएपछि मोहन काफ्ले, जीवनाथ पौडेलको पद र कुर्शीको व्यवस्थापन हुन सकिरहेको छैन । दैनिक रुपमा मन्त्रालयका हाजिर लगाउने मन्त्री महतोले आफू मातहतका दुई जना सहसचिवको व्यवस्थापन गर्ने चिन्ता र चाँसो सम्म दुई महिनासम्म लिन सकेका छैनन् । मन्त्रालयको सहभागीतामूलक वन व्यवस्थापन महाशाखाबाट धनञ्जय पौडेलले अनिवार्य अवकाश लिइसकेका छन् । सो महाशाखाको जिम्मा कसैलाई दिइएको छैन ।

मन्त्री बाहिर हेर्दा निकै सहज र मिजोसिला तर व्यवहार भने अत्यन्तै फितलो देखिन थालेको छ । बैँक तथा नीजि कम्पनी चलाउनु र राजकाज चलाउनुको फरक देख्न नसकेको मन्त्री महतोले मन्त्रालय र विभागमा कर्मचारीको व्यवस्थापन गर्न नसक्दा देखिएको अन्यौलताले कर्मचारीको मनोवल गिर्ने काम त छदैछ अर्काेतिर सेवाग्राहीले पाउने सुविधा र नीति निर्माण तहमा भएको ढिलासुस्तीको क्षति कसरी आँकलन गर्ने भन्ने विषय टड्कारो रुपमा देखिएको छ ।

वन मन्त्रालयको हालको नेतृत्व मिठो सागमा सुकेको खुर्सानी र जिरा नपड्काएको जस्तो भएको छ । सचिव एकतिर छन् भने मन्त्री अर्काेतिर छन् । मन्त्रीको धाक आफू धनीमानी भएको र नीजि क्षेत्रमा सफल व्यक्ति भएको मन्द गन्ध उनले बेला बेला झल्काउने गरेका छन् भने सचिवमा त वनको रस नै पस्न सकेको छैन । कृषि सेवाका सचिव डा. रेवतीरमण पौडेललाई यो अवधिमा वनका मुद्धा प्रति सम्वेदशिल बनाउन नसकिएको मन्त्रालयको एक सहसचिवले बताए ।

उनले भने, ‘उहाँ एक त कृषिको मान्छे । वनको इस्यु सजिलै बुझ्नु हुन्न । यो अवधिमा उहाँले सिरियस्ली बुझ्न चाहेको जस्तो पनि लागेन । अर्काेकुरा उहाँले कामु सचिव खानु थियो, खानुभयो । कामु हुँदै कन्फर्म हुनुभयो, अब उहाँ कृषितिरै जाने तरखरमा हुनुहुन्छ । अहिले त मन्त्री र सचिवको जोडी मिलेको छ । त्यसको मार हामी कर्मचारीलाई पर्न गयो ।’

ती सहसचिवले भने, तीन सेकेण्डमा कारवाही गर्छु भन्ने मन्त्रीले आफ्ना कर्मचारीको उचित व्यवस्थापन तीन मिनेटमा गरीदिए के हुन्थ्यो होला ?

वन विभागमा वाग्लेको दावी
हाल खाली रहेको वन तथा भूसंरक्षण विभागको महानिर्देशकका मन्त्रालयका वरिष्ठ सहसचिव शिव वाग्ले एक्ला दावेदार देखिएका छन् । वाग्ले मन्त्रालयका बरिष्ठ सहसचिव हुन् । वन मन्त्रालयका अरु सहसचिवले सिनियर सहसचिव वाग्लेलाई महानिर्देशक बनाउँदा बरिष्ठताको कदर हुने बताएका छन् । वाग्लेलाई महानिर्देशक बनाउँदा अरु सहसचिवको उपहानिर्देशकमा व्यवस्थापन गर्न पनि सहज हुने भएकाले वाग्लेको दावी सान्दर्भिक रहेको मन्त्रीको सचिवालयले बतायो । राजनीतिक जोडघटाउले केही असर पारेन भने वाग्ले वन विभागको महानिर्देशक हुने छाँटकाँट देखिन थालेको छ ।

निकुञ्जमा रस्साकस्सी
मन्त्रीले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको वर्तमान नेतृत्व परिवर्तन खोजेका छन् । मन्त्रीको सचिवालयका अनुसार निकुञ्ज विभागको महानिर्देशकका लागि अघिल्लो कार्यकाल महानिर्देशक भइसकेका डा. रामचन्द्र कँडेल पहिलो दौडमा छन् । राष्ट्रपति चुरे तराई संरक्षण विकास समितिका कार्यरत अर्का सहसचिव सिन्धु ढुङ्गाना पनि निकुञ्ज विभागको महानिर्देशकका दौडमा रहेका छन् । मन्त्रालयको वातावरण महाशाखा प्रमुख मेघनाथ काफ्ले आफू सिनियर भएकाले महानिर्देशकको दावी मन्त्री र सचिव समक्ष पेश गरेका छन् । पाए वन विभागको महानिर्देशक नपाए उनले निकुञ्जमा जान इच्छा व्यक्त गरेको मन्त्रालय स्रोतले बताएको छ ।

कँडेलले सत्ता साझेदार नेपाली कांग्रेसको र ढुङ्गानाले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालको ढोका ढकढकाएको बताइन्छ भने केही सहसचिवले पहिलो पटक उपेन्द्र यादवको घर पनि पत्ता लगाउन भ्याइसकेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here