घोल छाडेर गोही पोखरीमा ?

बेदबहादुर खड्का

नेपालमा पाईने दुई प्रजातिका गोही मध्ये मगर गोही एक हो । चितवनतिर चौधरी थारु, बोटे समुदायमा यसलाई आजभन्दा १०० वर्ष अगाडि देखि नै बुचा, नक्टा नामले चिन्दथे र आजसम्म पनि तिनै नामले पुकार्दै आएका छन् । मगर गोही नदी, तालघोल र पोखरी, तलाउमा बस्न मन पराउँछ ।

गोही आनन्दले रमाउन सक्ने पानी ।

यसको मूख्य आहारा माछा भएपनि अक्कल/झुक्कल मुखमै आई परेका अवस्थामा भने वन्यजन्तु, घरपालुवा जीवजन्तु पनि खान्छन् । यसको शरीर अजङ्गको देखिए पनि यसले बाघले जस्तो धेरै आहारा खाने होईन, केवल आफ्नो शरीरको तौलको २/४ प्रतिशत मात्र आहारा खाने गर्छ । शरीरमा चिसो रगत हुने भएकाले यो प्रजातिको आहारा खाने बानी बाहिरी तापक्रममा भर पर्दछ । तापक्रम बढ्दा आहारा बढ्ने, तापक्रम घट्दा आहारा पनि घट्ने हुन्छ ।

यसको प्रमुख आहार माछा हो । गोही र चितवनको माछा व्यवसायको गहिरो सम्बन्ध रहेको छ । २०५० साल पछि मात्रै चितवनमा माछा पालन व्यवसाय फष्टाउन थाल्यो । माछा पालक किसानका माछा पोखरीहरु बढ्दै जाने क्रममा चितवन राष्ट्रिय निकुञ्जका तालहरुमा रहने मगर गोहीहरु पनि माछापालक किसानका पोखरीमा जाने र दुःख दिन थाले । अनि किसान र चितवन राष्ट्रिय निकुञ्जको सम्बन्ध पनि बढ्न थाल्यो । जब गोही माछा पोखरीमा पस्यो कि माछापालक किसानहरुले निकुञ्ज कार्यालयमा फोन लगाइहाल्थे ।

घाम ताप्दै गोही ।

गोहीले धेरै माछा खादैन, आफ्नो शरीरको तौलको २/४ प्रतिशत मात्र खाएपनि किसानलाई विश्वास लाग्दैनथ्यो हाम्रो कुराले । गोही पोखरीमा पस्दाको फाइदा भन्दा नोक्सानी तर्फ किसानको ध्यान जाने गथ्र्याे । जब पोखरीमा गोही पस्थ्यो अनि माछा सलवलाएर भाग्दा शारिरीक वृद्धि हुनुका साथै पोखरीको पानीका सुक्ष्म वनस्पतिहरुमा प्रकाश संश्लेषण (Photosynthesis) प्रक्रियामा वृद्धि गरेर पोखरीका माछालाई आवश्यक अक्सिजनको परिमाणमा वृद्धि भई माछाको उत्पादन बढेर आउने प्राविधिक कुरा किसानले बुझ्दैनथे । जति सम्झाउँदा किसानले हाम्रो कुरामा पत्यार गर्दैनथ्ये ।


पोखरीबाट गोही उद्धार गरेर निकुञ्जको तालघोलमा छोडिन्थ्यो तर गोहीहरु लामो समयसम्म त्यहाँ बस्दैनथे । उद्धार गरी छाडिएका गोहीहरु गाउँलेका माछा पोखरीमै फर्कन्थे । गोहीहरु त्यसरी, किन फर्कन्थे भन्ने कुरा हामीलाई पनि थाहा थिएन । हाम्रो सामु कसैले सोध्यो भने प्रश्न अनुत्तरीत नै रहन्थ्यो ।

उचित व्यवस्थापन भएपछि पानीमाथि चराले लगाएको गुड र अण्डा ।

गर्दै जाने, सिक्दै जाने क्रममा गाउँलेका माछा पोखरीवाट आज एक पोखरी र भोली अर्काे पोखरीबाट गोहीहरु उद्धार गर्न थालियो । पछि पछि त पीडित किसानसँंग गएर गोहीले माछा खाईदिएर पु¥याउने क्षती भन्दा पनि फाईदाको बारेमा परामर्श दिन थालियो । विस्तारै माछा पोखरीमा आएको गोहीलाई निकालेर लगिदिनु भन्ने आग्रह गर्नेहरु एकदम सकारात्मक हुदै जान थाले । गोही पोखरीमा नआउँदा हाम्रो माछा उत्पादन कम हुन्थ्यो, अहिले गोही माछा पोखरीमा गोही बस्न थालेपछि माछाको उत्पादन बढ्न थालेको छ भनेर हिजोको दिनमा निकुञ्जलाई गाली गर्ने किसानहरु सकारात्मक रुपमा पछि त निकै खुसी हुन थाले ।

यसरी सकारात्मक हुन पुग्ने किसान मध्येका एक जना चितवन माडि गोपाल नगरका माधव खनाल हुनुहुन्थ्यो। उहाँ माछा पोखरीमा गोही आएर बसेकाले पहिलाको भन्दा माछा उत्पादन मेरो मात्र बढेको होईन, आफ्ना छिमेकीहरुले पनि माछा बढेको कुरा सुनाउहुन्थ्यो । अचेल माछापालक ठूला किसानहरु आफ्नो पोखरीमा मगर गोही आएर बसि दिए हुन्थ्यो भन्न सम्मको सोच बनाइसकेका छन् ।

प्राकृतिक बासस्थानबाट किसानको पोखरीतर्फ जाँदै गरेको गोही ।

अहिले पनि मत्स्य विकाश केन्द्र भण्डारा, चितवनमा र अधिकाँश ठूला माछा किसानको माछा पोखरीहरुमा डेरा जमाएर नै गोही बसेका देखिन्छन् । साना किसानहरुका माछा पोखरीहरुमा पनि गोहीहरु गएर बस्न थालीसकेको अवस्था छ । तर गोहीले पोखरीका माछा उत्पादनमा दिने फाईदा बारे भरमुग्दरब बुझाउन नसक्दा अझै पनि खासगरी साना माछा पालक किसानले गोही पोखरीमा गएपछी उद्धारको लागि निकुञ्जमा फोन गर्ने गर्दछन् ।

चितवनमा माछा पालन व्यवसाय निकै फस्टाउँदै गएको छ । त्यसैले मगर गोहीलाई किसानको व्यवसायिक साथी बनाई माछा पालनबाट आयआर्जन वृद्धि गराउन निकुञ्जले मद्धत पु‍¥याउन सकेमा हामी सच्चा वन्यजन्तु प्राविधिक ठहरिने छौं । भविष्यमा मगर गोही किसानको आयआर्जन वृद्धि गर्नमा सहयोगी सिद्ध भई माछापालकबीच लोकप्रिय बन्दै गोही र किसानबीच दीर्घकालिन मित्रता कायम गराउन सकिने देखिएको छ ।

घोलको किनारमा बिचरण गर्दै जलपंक्षीहरु ।

निकुञ्जभित्रका घना जङ्गलभित्र रहेका ताल घोलमा वषौंदेखि रुखबिरुवाका कुहिएका पातपतिङ्गर बगेर पुग्दछ र पानीभित्र मलिलो तह बन्ने गर्दछ । यो मलिलो तहमा नाइट्रेट र फस्फेटकोमात्रा प्रचुरमात्रामा रहने भएकाले तालमा रहेका शुक्ष्म जीव र वनस्पतिहरु अत्यधिक फस्टाउने गर्दछन् । पानीभित्र अत्यधिक मलिलोपनाले गर्दा पानीमा जलीय वनस्पतिहरु लेउ, एजोला, जलकुम्भी लगायत विभिन्न प्रकारका झारहरुको घनत्व बढ्ने गर्दछ ।

साथै पानीको सतहमा अल्गीजन्य वनस्पतिको तह बनेर पानी र वातावरणको हावाको सम्पर्क घटाई दिन्छ । पोखरीमा जम्मा भएका अत्यधिक प्राङ्गारिक पदार्थहरु कुहिने प्रक्रियामा सुक्ष्म जीवहरुले पानीमा घुलेको अक्सिजन अत्यधिक परिमाणमा खर्च गरिदिंदा माछाहरुलाई अक्सिजन अभाव हुन जान्छ । पोखरीको पानीमा घुलनशिल अक्सिजनको मात्रा कमभएपछि माछाहरु बाटो खोजी त्यहाँबाट भाग्ने गर्दछन् । भाग्ने बाटो नपाएमा अपर्याप्त अक्सिजनको कारणले त्यही मर्छन ।

अत्यधिक प्राङ्गारिक पदार्थको उपस्थितिले पोखरीहरुको जलीय वातावरण बिग्रने प्रक्रियालाई प्राविधिक भाषामा इयूट्रोफिकेशन (Eutrophication) भनिन्छ । यो प्रक्रियालाइ सामान्य नेपाली भाषामा अर्गानिक प्रदुषण नामकरण गर्न सकिन्छ । अर्गानिक प्रदुषणले गर्दा चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको कसरा नजिक रहेको तमोरतालमा वर्षाैँै देखिको अर्गानिक प्रदुषणको समस्याले २०५१ साल र २०७१ सालमा गरी दुइ पटक व्यापक रुपमा माछा मरेका थिए ।
२०७१ साल साउन ३० गते गस्तीको सन्दर्भमा तमोर तालमा जाँदा हाम्रो टिमले धेरै माछा मरेको भेटेको थियो । १४.२ हेक्टरमा फैलिएको तमोर तालमा १० किलो भन्दा बढी तौलका माछाहरु मरेर पानीको सतहमा छपक्कै तैरिएको अवस्थामा देखिएका थिए ।

पानीमा अक्सिजन प्रशस्त हुँदा माछाले कान हल्लाएर गिल्सबाटन सास फर्ने गर्छन् । तालको किनारमा देखिएका जिउँदा माछा पनि अक्सिजनको कमिका कारण मुखवाट सास फेर्न गाह्रो परिरहेकोले होला प्वाक्क÷प्वाक्क गरेको देखिन्थ्यो । यी सबै वृतान्त चिफ वार्डेनलाई रिपोर्ट गर्दा विषेशज्ञहरुको राय बुझ्ने सल्लाह भयो । यस सम्बन्धमा निकुञ्ज कार्यालयका तत्कालिन वरिष्ठ पशु चिकित्सक डा.कमल प्रसाद गैह्रे र कृषि तथा वन विश्व विद्यालय, रामपुर चितवनका माछा विज्ञ माधव श्रेष्ठसंँग राय परामर्श लिने काम गरियो । उहाँहरुले तमोर तालमा माछाको घनत्व ज्यादा रहेको र कुहिने जैविक पदार्थ धेरै थुप्रिएकाले अक्सिजन कम भई माछा मर्न गएको साथै तालबाट केही माछा झिक्न र तालमा डुंगा चलाउन आवश्यक छ भन्ने राय सुझाव समेत दिनुभयो ।

मिचाहा प्रजातिले जेलिएको सिमसार क्षेत्र ।

तत्कालिन अवस्थामा तालमा डुङ्गा चलाउन सम्भव नभएकोले निकुञ्जका पाल्तु हात्तीहरुलाई तालमा लस्करै तीन दिन जति पटक/पटक हिडाएर तालको स्थिर रहिरहेको पानी हल्लाउने र पानीमा अक्सिजन बढाउने काम गरेपश्चात तमोर तालमा माछा मर्न छाडेका थिए । तालमा माछाको घनत्व धेरै भएमा माछा आहारामा निर्भर जलेवा चराले तालमा माछाहरुलाई खेदेर ग्रुप हन्टिङ्ग गरेर भए पनि माछाको संख्या घटाउन मद्धत गर्दछन् र पानीमा अक्सिजन बढाउँछन । तर यो काम पानीमा निर्भर रहने चराहरुबाट हिउँद महिनामा मात्र सम्भव हुन्छ किन भने यी चराहरु तमोरतालमा हिउँदमा मात्र बसाई सरेर आउने गर्दछन्, तमोर तालमा माछा मर्ने घटना भने वर्षायाममा घटेको देखिएको थियो ।

जङ्गलको बीचमा रहेको अति आर्कषक तमोर तालमा गोहीको संख्या भने पहिला देखि नै न्यून रहनुमा अर्गानिक प्रदुषण रहेछ भन्ने कुरा विज्ञवाट बल्ल थाहा लाग्यो । यसको पुष्टि वन तथा वातावरण मन्त्रालय, वन तथा वातावरण विभागले २०७५ सालमा गरेको अध्ययनले समेत गरेको छ । तालमा इयूट्रोफिकेशन समस्याको कारणले माछा मर्न गएको भन्ने तथ्य खुल्यो ।
तमोर तालको वरपर बाक्लो जङ्गल छ । चारैतिरबाट वर्षादको पानी र रुखका झरेका पात पतिङ्गर बगेर यही तालमा जम्मा हुने गर्दछ । तालको पानीको सतहमा समेत धेरै लेउको तह बनेको र तालको पानीको धेरैजसो सतह झारपातले ढाकिएकाले इयूट्रोफिकेशन को प्रत्यक्ष असर देखा परेको रहेछ ।

सिमसार क्षेत्रको सरसफाई गरिँदै ।

पानीमा घुलेको अक्सिजन धेरै चाहिने माछा प्रजातिहरु (High Oxygen Demander Fish Species)अक्सिजन कम भई मरेका रहेछन् । तर अक्सिजन कम हुँदैमा ताल घोलमा माछा हुँदै नहुने भन्ने भने होईन । अर्गानिक प्रदुषित जलीय क्षेत्रमा पनि हिलोभित्र बस्ने र कम अक्सिजनमा बाँच्न सक्ने सौरी, हिले र सिङ्गी माछामात्र थोरै संख्यामा पाईन्छन् । यस्तो परिस्थतिमा मगर गोहीलाई चाहिने जति आहारा पुग्न सक्दैन र गोही त्यहाँवाट भाग्न बाध्य भई नजिकका किसानका माछा पोखरीमा पुग्ने गर्दछन् ।

मेरो चितवन राष्ट्रिय निकुञ्जको दुई दशक लामो जागिरे अवधिको अनुभवमा गाउँलेको माछा पोखरीमा गएका अधिकाँश मगर गोहीलाई उद्धार गरी तमोर ताल, बिसहजारी र कमल तालमा ल्याएर छाडियो । तर उद्धार गरेका अधिकाँश गोहीहरु ति तालमा बसेनन् । फेरी केही दिनमा गोहीहरु फर्केर गाउँलेको माछा पोखरीमै गए । यसको ज्वलन्त एउटा उदाहरण छ । जगतपुरको माछा पोखरीबाट उद्धार गरी मार्किङ्ग समेत गरेर सात किमी टाढा तमोर तालमा लगेर छाडेको गोही फेरी केही दिन पछी फर्केर त्यही किसानको माछा पोखरीमा पुग्यो । त्यहाँबाट फेरी उद्धार गरेर १२ किमीटाढा रहेको सुखीभार स्थित कमल तालमा लगेर छाडदा पनि १० दिनमै त्यही जगतपुरको माछा पोखरीमा आई पुग्यो । अब त आजित बनायो भनेर सो गोहीलाई बोरामा हाली गाडिमा राखेर २० किमी टाढा सौराहा लगेर छोड्दा पनि पुनः फर्केर आयो । गोही के कसरी फर्केर आयो अचम्म नै मान्नु पर्ने हुन्छ, सायद उसको टेली मेमोरी पाथले काम गरेर त्यसो भएको होला ।

सडक वारपार गर्दा दुर्घटनामा परेको गोही ।

यसले गोहीको संरक्षणमा थप चुनौती थपिदिएको छ । यति टाढा टाढासम्म गोही रातदिन नभनेर हिड्न थालेपछि राजमार्ग र भित्री बाटो वारपार गर्दा कतिपय ठाउँमा सवारी साधनसँग गोही दुर्घटनामा पर्न थालेका छन् । निकुन्जका ताल, घोलहरुमा अक्सिजनको कमिले गर्दा ठूला माछा प्रजातिको कमि हुने गरेकाले किसानको पोखरीमा पुनः फर्केर जाने गरेको कुराको बल्ल भेद खुल्यो । निकुञ्जमा देबीताल, शेराताल, नन्दभाउजु ताल, गरुडताल र नन्दनताल जस्ता नाम चलेका ताल,घोलहरु रहेका छन तर तिनमा जति संख्यामा गोही, कछुवाहरु आकर्षित हुनु पर्नेहो त्यति संख्यामा गोहीहरु रहेको पाईदैन । निकुञ्जका अधिकाँस ताल,घोलमा इयूट्रोफिकेशनको समस्या रहेको कारणले यस्तो भएको हो भन्ने कुरा विभिन्न सरकारी अध्ययनले समेत देखाएको छ । हो, त्यसबखत निकुञ्जको जङ्गलकोबीचमा रहेको तमोर तालको पनि त्यस्तै स्वरुप देखिन गएको रहेछ ।

नदी तलाउभित्र प्राकृतिक रुपमा चलेको माकुराको जालो जस्तो गरी निर्माण भएको अर्गानिक खाद्य आहारा र खाद्य पदार्थ संरचना र सञ्जाल पनि जलचर समुहमा एक आपसमा निर्भर रहन्छन् । तिनमा अलिकति बिखण्डन आउने बित्तिकै आफु बसेको स्थान छोडि दिन्छन् र अन्यत्र नयाँ ठाउँमा जाने गर्छन् । पानीमा अक्सिजन कम हुँदा मगर गोही, पानी कछुवा पनि त्यही भएर गाउँबस्तीका माछा पोखरीमा जाने र त्यतै रमाउने रहेछन् । जलीय वनस्पतिले उत्पादन गरेको अक्सिजन असंख्य माछा प्रजाति लगायत अन्य विभिन्न प्रकारका जलचरहरुले आफ्नो आहार खाद्य सञ्जालको रुपमा उपयोगमा ल्याउँछन् । तालतलैयामा अर्गानिक प्रदुषण, इयूट्रोफिकेशन (Eutrophication) को कारण सबै प्रजातिलाई हानी गर्छ भन्ने छैन ।

किसानले पिटेर घाइते भएको गोही ।

पानी भित्र झार र पानीको सतहमा तैरिएर रहने जलकुम्भी, कमलको फुल आदिको उपस्थितिले कुर्मा, जलअप्सरा, सिमकुखुरा र बकुल्ला लगायत २५ भन्दा बढी प्रजातिका चरा प्रजातिको राम्रो बासस्थान बन्न पुग्दछ । यी मध्येका कतिपय प्रजाति जल अप्सरा, ज्याकाना, सिम कुखुरा र डुबुल्कीचराले तलाउमा तैरिएको जलकुम्भी र कमलको फुलमाथि टपटप हिडी आहारा खोज्ने, आवश्यकता अनुसार दौडेर पनि फुत्किन लागेको आहारा समात्ने गर्छन् ।

त्यही जलीय वनस्पतिहरुमाथि गुँड बनाई बच्चा कोरल्ने गर्छन् । यी पन्छी प्रजातिहरु ताल र घोलहरुमा हुने अर्गानिक प्रदुषण इयूट्रोफिकेशन (Eutrophication Indicator) सूचक हुन् । तिनैताका निकुञ्जका ताल तलैयाहरुको पानीको अध्ययन गर्दा अधिकाँश तालहरुको पानीमा फोस्फेट (Phosphate) को मात्रा बढी रहेको पाईएको थियो । लेउ, एजोला लगायत बिभिन्न प्रकारका झार अत्यधिक रहेको ताल पोखरीको पानी पिउनाले वन्यजन्तुको स्वास्थ्यमा असर पर्ने कुरा समेत विभिन्न अध्ययनले देखाएको छ ।

निकुञ्ज भित्रको तालतलैयामा कुनै पनि प्रकारको मानवीय क्रियाकलाप नहुने र कुलो आदि यस्तै अन्य श्रोतवाट स्वच्छ ताजा पानी (Fresh water) आपूर्ति गर्ने पनि व्यवस्था नभएको हुंँदा अक्सिजन अभाव हुने गरेको सन्दर्भमा दीगो निराकरणको लागि तालको जलीय झार र मलिलो माटोको तहलाई समय समयमा हटाउनै पर्ने देखिन्छ ।

गोहीको उद्धार गरिँदै ।

चितवन राष्ट्रिय निकुञ्ज भित्रका नदी तथा खोलाहरुको पानीको गुणस्तर औद्यौगिक तथा शहरी क्षेत्रवाट निस्कने अप्रशोधित फोहर पानीका कारण बिग्रदै गरेको पाईयो भन्ने तथ्य वातावरण विभागले गरेको अध्ययनमा उल्लेख छ । निकुञ्ज क्षेत्र र आसपासको शहरी क्षेत्र तथा उद्योगहरुवाट निष्काशन हुने फोहर प्रशोधन पश्चातमात्र नदीमा मिसाउने र वन्यजन्तुको स्वास्थ्य सम्बन्धी आधारभूत तथ्याङ्क तयार गरेमा जल प्रदुषणको असर बारेको अध्ययन सहज र वैज्ञानिक हुने देखिन्छ ।
हामी आफुलाई पढालेखा विज्ञ भन्छौँ, तर विज्ञको पूर्ण कौशल देखाउन नसकेको कुरा सर्वत्र बिदितै छ । निकुञ्जभित्रका सिमसार र घाँसेफाँटा आदिको व्यवस्थापन वन्यजन्तुहरुको जीवन चक्र अनुसार नगरी सुख्खा वा गर्मी याममा गर्ने गरिएको छ ।

गोही, माछा खेल्ने तालमा उम्रिएका बिभिन्न वनस्पति ।

बासस्थान सुधार गर्दा तिनीहरुको जीवन चक्रको ख्याल गर्न पर्छ । बासस्थान सुधारको काम वन्यजन्तुको जीवन चक्र र मौसम हेरेरमात्र गरिदिएमा पनि वन्यजन्तुहरु निकुञ्ज बाहिर निस्केर विस्थापित हुने क्रम कम हुन जाने निश्चित छ ।
गोहीहरुले नदी बगरमा घाम ताप्ने र गुँड लगाई फुल पार्ने गर्छन् । नदीभित्र लेऊ लागेका हरिया ढुङ्गा र नदीले बगाएर ल्याएका रुखपातमा कैयौं प्रकारका जलचरहरुको खाद्य(आहार सञ्जाल (अर्गानिक आहारा चक्र) जोडिएको हुन्छ । जसको सम्बन्ध मगर गोहीसंँग रहेको हुन्छ । त्यस्ता अर्गानिक आहारा चक्रलाई निकुञ्जले बेलैमा विखण्डन हुनबाट रोक्नु पर्ने आवश्यकता खड्किएको छ ।

सिमसारमा आहारको खोजी गर्दै जलपंक्षी ।

निकुञ्जवाट निस्कने मगर गोहीलाई स्थानीय माछापालक किसानको हितमा एकातिर उपयोगमा ल्याउन सके स्थानीय स्तरमा माछापालक किसानको हितका साथै मगर गोहीको संरक्षणको महत्व कर्मचारीको तर्फबाट भन्दा पनि स्थानीयस्तरबाटै बढेर आउँदा बढी उपयोगी हुन्थ्यो कि ? अर्काेतिर निकुञ्जले पनि अर्गानिक प्रदुषणवाट बिग्रेका तालतलैयाहरुको बेलैमा चुस्तदुरुस्त मर्मत सम्भार गरेर बासस्थान सुधार गरेमा जलचर र स्थलचर दुबैलाई निकुञ्ज भित्रै अडिन र अलमलिने वातावरणको व्यवस्था गर्न सके मानव वन्यन्तु द्वन्द न्यूनीकरणमा समेत सहयोग पुग्ने थियो कि ?
(लेखक : चितवन राष्ट्रिय निकुञ्जका पूर्व संरक्षण अधिकृत हुन् ।)
तस्विर : बेदबहादुर खड्का/अपिल घिमिरे /मञ्जिल खतिवडा

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here