काठमाडौँ । विगत लामो समयदेखि दुर्लभ वन्यजन्तु एक सिङे गैँडा र पाटे बाघको चोरी शिकारमा संलग्न रहँदै आएका व्यक्तिहरु धमाधम पक्राउ पर्न थालेका छन् ।
विशेष गरी नेपालमा आन्तरिक द्वन्द्व भइरहेका बेला कमजोर सुरक्षाको अवस्थाको फाइदा उठाउँदै दुर्लभ वन्यजन्तुको चोरी शिकारमा संलग्न व्यक्तिहरु विदेश तथा स्वदेशमा लुकेर बसेको अवस्थामा बिस्तारै ती व्यक्तिको पहिचान भएसँगै निकुञ्ज प्रशासनले धमाधम पक्राउ गर्न थालेको हो ।
१० वर्षे आन्तरिक द्वन्द्वका बेला चितवन, बर्दियामा पाटे बाघ र एक सिङे गैँडाको चोरी शिकार हुँदा मुलुकलाई ठूलो क्षति पुगेको थियो । सो अवधिमा चितवनमा १६ वटा बाघ र ३४ वटा गैँडा शिकारीले मारेका थिए भने बर्दियाको बबई उपत्यकामा रहेका ४० भन्दा बढी गैँडा र १२ भन्दा बढी बाघको क्षति भएको थियो । सो अवधिमा चोरी शिकारमा संलग्न रहेका व्यक्तिहरु विदेश पलायन भएका थिए भने कतिपय छिमेकी मुलुक भारत पसेका थिए ।

पछिल्लो समयमा ती व्यक्तिहरु नेपाल आउन थालेपनि निकुञ्ज प्रशासनको सक्रियतामा खोजी कार्य बढेसँगै तस्करीमा लागेको व्यक्ति पक्राउ पर्ने क्रम जारी रहेको छ । चितवन राष्ट्रिय निकुञ्जका अनुसार विगत २५ वर्षदेखि लुकिछिपी बसेका गैँडा तस्करीको अभियोग प्रमाणित भएका व्यक्ति पक्राउ परेका छन् । गत २०५५ साल कात्तिक २८ गते चितवन राष्ट्रिय निकुञ्ज भित्रको गैँडाको खाग तस्करीमा संलग्न व्यक्ति अदातलबाट पनि कैद र जरिवानाको फैसला भइसकेका बिष्णु कार्की, गोगनबहादुर बाँनिया र यामबहादुर बाँनियालाई काभ्रे जिल्लाबाट पक्राउ गरिएको छ ।
निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार अदालतबाट बिष्णु कार्की र गोगनबहादुर बाँनियालाई १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना भइसकेको र यामबहादुर बाँनियालाई सात वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको सजाय भइसकेको छ । पक्राउ पछि ती व्यक्तिहरुलाई भरतपुर कारागार चलान गरिएको पनि निकुञ्जले जनाएको छ ।