भित्तो काट्न थप १५ दिन

चितवन : निर्धारित मितिमा भित्तो काट्ने काम सम्पन्न नभएपछि नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः १५ दिन दैनिक चार घण्टा यातायात बन्द गरी काम गर्ने निर्णय गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सरोकारवालाको बैठकले थप १५ दिनका लागि सडक बन्द गरेर काम गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।
गत पुस ५ गतेदेखि दैनिक चार घण्टा सडक बन्द गरी काम गर्दासमेत काम पूरा हुन नसकेपछि विष्फोटक पदार्थ प्रयोगको विकल्पसहित फागुन ७ गतेबाट लागू हुने गरी मध्यान्ह १२ बजेदेखि अपरान्ह ४ बजेसम्म थप १५ दिन दैनिक चार घण्टा यातायात पूर्णतया बन्द गरी काम गर्ने निर्णय गरिएको हो ।
गत पुस ५ गतेदेखि ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म आवागमन बन्द गरी सडकको काम गरिँदै आएको थियो । पछि माघ ६ गतेदेखि भने दिउँसो १२ बजेदेखि ४ बजेसम्म थप ३० बन्द गरिएको थियो । थप गरिएको समय फागुन ६ गते सकिँदैछ ।
१५ दिन आवागमन बन्द गरी काम गर्ने विषयमा निर्णय भएसँगै भित्तो काट्ने काम कठिन भएपछि उक्त बैठकले विष्फोटक पदार्थ प्रयोगको अनुमतिका लागि मन्त्रालयमा सिफारिस समेत गरेको छ ।
नारायणगढ–मुग्लिन सडक आयोजना प्रमुख इन्जिनियर किरण कार्कीका अनुसार तुइन र चिसेन्जी खोलामा निर्माणाधीन पुलको लागि भित्तो काट्ने काम कठिन भएपछि उक्त क्षेत्रमा विष्फोटक पदार्थ प्रयोगको लागि निर्माण कम्पनीले माग गरेको थियो । उहाँका अनुसार तुइन र चिसेन्जी दुवै खोलाको नारायणगढतर्फको क्षेत्रमा कडा चट्टानका कारण निर्माणको काम कठिन भएको हो ।
नारायणगढ–मुग्लिन सडक खण्डमा निर्माणाधीन तुइन, चिसेन्जी, काली र सिमलताल खोलाका पुलका लागि भित्तो काट्ने प्रयोजनमा बितेको दुई महिना उक्त सडक खण्ड दैनिक चार घण्टा पूर्णरुपमा बन्द गरिँदै आएको थियो ।
तुईन र चिसेन्जी खोलामा निर्माण गरिने पुलको लागि भित्तो काट्ने सकिएको छैन । ती दुई खोलामा निर्माण गरिने पुलको लागि भित्तो काट्ने काम कडा चट्टानका कारण ३० देखि ३५ प्रतिशत अझै बाँकी छ । इन्जिनियर कार्कीका अनुसार माथिल्लो भागमा काट्ने काम सकिएको छ तल्लो तहमा कडा चट्टानको कारण मेसिनले काम गरेपनि परिणाम दिन सकिएको छैन ।
नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत १५ वटा पुल निर्माणका लागि एक अर्ब २५ करोड रुपियाँमा ठेक्का सम्झौता भएको छ । १५ पुलमध्ये नौ वटा निर्माण सम्पन्न भइसकेका छन् । जुगेडी, रिग्दीखोला, कालीखोला, तुइनखोला र चिसेन्जी खोलामा पुल निर्माणको काम जारी छ ।
२०७६ चैत ११ गते गरिएको पुल निर्माण सम्झौताअनुसार गत पुस ५ गते निर्माण कार्य सम्पन्न गरिसक्नु पर्ने थियो । समयमा काम सम्पन्न नभएपछि आगामी २०८० पुस ९ गतेसम्म म्याद थप गरिएकोे छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here