फाष्ट ट्रयाक खोकनाबाटै ठिक


काठमाडौँ । काठमाडौँ–तराई दु्रतमार्गको प्रस्थानविन्दु (जिरोप्वाइन्ट) ललितपुरको खोकना नै उपयुक्त हुनेमा जोड दिइएको छ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले गरेको स्थलगत अध्ययनमा यस्तो कुरामा जोड दिइएको हो ।
विकास समितिका सदस्य, द्रुतमार्ग निर्माणको जिम्मेवारी पाएको नेपाली सेना र सञ्चारकर्मीसहित खोकनाकोस्थलगत अवलोकनमा पुग्नुभएका सभापति खड्काले खोकना नै उपर्युक्त स्थान भएको बताउनुभयो ।
“सरकारले समेत निर्णय गरिसकेको तथा राजधानीसँग नजिक रहेकाले समेत प्रस्थानविन्दुको रुपमा खोकना नै उचित हुन्छ, अब यसबाट ‘ब्याक’ हुन सकिँदैन,” उहाँले भन्नुभयो ।
प्रस्थानविन्दुका लागि खोकनाको विकल्प खोज्नुभन्दा त्यहाँको जनताको समस्याको समाधान गर्नु उचित हुनेमा निर्माणको जिम्मा पाएको नेपाली सेना पनि रहेको छ ।
नेपाल, भारत र चीन जोड्ने त्रिदेशीय महत्वको द्रुतमार्ग निर्माण सम्पन्न गर्न सबैको सहयोग अपरिहार्य रहेको बताउँदै उहाँले खोकनाको सांस्कृतिक र पुरातात्विक महत्वप्रति राज्य सचेत रहेको र खोकनाबासीको समस्या समाधान गर्न समिति सधैँ समन्वयकारी भूमिका खेल्न तयार रहेको बताउनुभयो ।
निर्माणको जिम्मेवारी पाएका नेपाली सेनाले पनि द्रुतमार्गको प्रस्थानविन्दु खोकना नै उपयुक्त बताउँदै आएको छ । अवलोकन टोलीमा सहभागी रहनुभएका द्रुतमार्ग आयोजनाका प्रमुख नेपाली सेनाका उपरथी योगेन्द्रबहादुर खाँणले द्रुतमार्गको सारभूत पक्ष नै एक घण्टामा राजधानीबाट तराई पुग्नु रहेको बताउँदै खोकनाको सट्टा फर्सिडोललाई प्रवेशविन्दु बनाउने हो भने राजधानीबाट एक घन्टामा तराई पुग्न सम्भव नहुने स्पष्ट पार्नुभयो । मध्य सहर तथा चक्रपथसँग जोडिन ‘लिङ्करोड’ निर्माण गर्दा थप जग्गा अधिग्रहण गर्नुपर्ने उहाँले बताउनुभयो ।
खोकना क्षेत्रमा ५१ प्रतिशत जग्गाको मुआब्जा वितरण कार्य सम्पन्न भइसकेको बताउँदै उहाँले फर्सिडोललाई प्रवेशविन्दु बनाउँदा जग्गा अधिग्रहण र मुआब्जा वितरणका लागि नयाँ प्रक्रिया सुरु गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here