झापामा मात्रै गत वर्ष चार हात्ती मरे

झापा । झापामा एक वर्षको अवधिमा चार वटा हात्तीको मृत्यु भएको छ भने हात्तीको आक्रमणबाट छ जना व्यक्तिको मृत्यु भएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा जिल्लाका विभिन्न स्थानमा हात्तीको आक्रमणमा परी छ जना व्यक्तिको मृत्यु भएको र विभिन्न स्थानमा चार हात्ती मरेको अवस्थामा फेला परेको डिभिजन वन कार्यालयका प्रमुख मेघराज राईले जानकारी दिएका छन् ।

विगत १४ वर्षको तथ्याङ्क हेर्दा हात्ती मृत्युको सङ्ख्या उच्च मानिएको छ । आव २०६७/६८ देखि आव २०७९/८० सम्म एक–दुई र आव २०७५/७६ मा तीन हात्तीको मृत्यु भएको कार्यालयको तथ्याङ्कमा छ । पछिल्ला वर्षमा मारिएका हात्तीको दाह्रा काटिएको अवस्थामा हात्ती मृत फेला परेकाले जिल्लामा हात्तीको सिकार भइरहेको पुष्टि भएको छ ।

हात्तीको आक्रमणबाट मृत्यु भएका चारजनाका परिवारले रु १० लाखका दरले राहत पाइसकेका छन् भने अन्य क्षति (घाइते, घर भत्काएको, अन्नपात नष्ट गरेको) बापत रु ३० लाख क्षतिपूर्ति पीडितलाई वितरण गरिएकोक छ । हात्तीको आक्रणमा घाइते भएकालाई रु दुई लाख क्षतिपूर्ति दिने व्यवस्था भए पनि घाइतेको उपचारमा ठूलो रकम खर्च हुने गरेको प्रमुख राईले बताए ।

गत आवमा जिल्लामा हात्तीपीडितका लागि रु एक करोड ५० लाख राहत माग गरिए पनि रु ७० लाख मात्र आएको राईले बताए । झापामा आव २०६७/६८ देखि आव २०८०/८१ सम्म ६० जना मानिस र २१ हात्तीको मृत्यु भएको छ । त्यसमध्ये सातजना गैरनेपाली रहेको कार्यालयका सूचना अधिकारी अञ्जना पुरीले जानकारी दिए ।

विगत १४ वर्षमा चार हजार पाँच सय हात्तीपीडितलाई रु नौ करोड राहत वितरण गरिएको कार्यालयले जनाएको छ । झापामा २५ देखि ३० रैथाने हात्तीमध्ये १० रैथाने हात्तीको नामकरणसमेत गरिएको छ ।

पछिल्लो समय हात्तीलाई जङ्गलभित्रै रहने वातावरण निर्माण गर्न वनभित्र सिमसार, हात्तीफल, केरा, बाँस लगायतका हात्तीले मन पराउने आहारा लगाउन थालिएको छ । हात्ती प्रभावित क्षेत्रमा टर्चलाइट, साइरन लगायतका सामग्री वितरण गरिएको कार्यालयका वन अधिकृत ऋषिराज पराजुलीले बताए ।

तस्विर : नेपालकथा फायल तस्विर

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here