‘बाघलाई केन्द्रमा राखेर छुट्टै कार्यक्रम तय गरौँ’

काठमाडौँ । आज विश्व बाघ दिवस । नेपालले पनि बिभिन्न कार्यक्रमका साथ बाघ दिवस मनाइरहेको छ । सोमबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले बाघ दिवसको अवसरमा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।


नेपालमा बाघको सङ्ख्या सन् २०२२ को गणनामा ३५५ पुगेको छ । सन् २००९ को गणनमा नेपालका बाघको संख्या १२१ थियो । दश वर्षको अवधिमा बाघको संख्या निकै वृद्धि भएको छ । यो संख्या बढेसँगै बाघले स्थानीय समुदायलाई पीडा दिने खालका घटना पनि बढ्दै गइरहेका छन् । हरेक महिनाजसो बाघको आक्रमणको घटना सुनिने गरेका छन् । वर्षभरीको आँकडा हेर्ने हो भने बाघको आक्रमणबाट पनि दर्जनौ व्यक्तिको ज्यान गएको छ भने त्यतिकै संख्यामा घाइते, अपाङ्ग भएका छन् ।


बाघसँग भएको घटनालाई शुक्ष्म रुपले अध्ययन गर्दा अधिकांश घटना स्थानीय बासिन्दा वनजंगलभित्र छिरेको अवस्थामा भएका छन् । जसले बाघ भन्दा स्थानीय बासिन्दाको आनीबानी, व्यवहारका कारणले बाघसँग मानवको बढी द्वन्द्व बढेको हो कि भन्ने देखिएको छ । वन्यजन्तु विचरण गर्ने क्षेत्रमा मानिस छिर्ने प्रवृति नरोकिएसम्म यस्ता घटना कम हुने आशा पनि गर्न सकिदैन । त्यसैले वन्यजन्तुसँग द्वन्द्व कम गर्न स्थानीय बासिन्दामा चेतना जगाउनु र उनीहरुको जीविकोपार्जनका कार्यक्रम सञ्चालन गर्नु आजको आवश्यकता हो ।


वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. महेश्वर ढकाल बाघलाई समस्याको रुपमा नभई अवसरका रुपमा लिनुपर्ने धारणा राख्छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका पूर्व महानिर्देशक समेत रहेका डा. ढकालले बाघलाई नेपालको पर्यापर्यटनसँग जोडेर हेरिनु पर्ने र सोही अनुसारका कार्यक्रम निर्माण गर्नुपर्ने बताउँछन् । समस्याग्रस्त बाघको समस्या पछिल्ला दिनमा गम्भीर रुपमा देखिएको कुरालाई स्वीकार गर्दै उनले त्यसको पनि व्यवस्थापन गर्न सकिने बताए । उनले भने, समस्याग्रस्त बाघलाई पहिचान गरी प्रदेशस्तरका चिडियाखाना निर्माण गरेर पर्यापर्यटनको विकासका लगाउन सकिन्छ ।


डा. ढकालले भने, स्थानीय समुदाय माछा मार्न, निगुरो, पानी साग टिप्न जंगलभित्र छिर्नुपर्ने अवस्था रहेसम्म यो द्वन्द्वको अवस्था पनि रहिरहन सक्छ । त्यसैले निकुञ्ज वरिपरीका समुदायलाई वनजंगल, खोलानालामा जानु नपर्ने अवस्था सिर्जना गर्न जरुरी छ ।

वन्यजन्तुसँग द्वन्द्व कम गर्न स्थानीय बासिन्दामा चेतना जगाउनु र उनीहरुको जीविकोपार्जनका कार्यक्रम सञ्चालन गर्नु आजको आवश्यकता हो ।


बाघको सङ्ख्या बढेसँगै थपिएको चुनौती व्यवस्थापन गर्नु नेपालको आजको प्रमुख मुद्धा भएको कुरा राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव डा. नरेश सुवेदीले बताए । उनको भनाई पनि डा. ढकालसँग मिल्दोजुल्दो छ । डा. सुवेदीले भने, बासस्थानमा सुधार लगायतका कुरामा विशेष ध्यान दिएर बाघलाई पर्यापर्यटनसँग जोड्नुपर्छ । त्यसका लागि विशेष खालका कार्यक्रम तय गर्न आवश्यक भइसकेको छ ।


जेडएसएल नेपालका प्रमुख एवम् बाघविज्ञ डा. भगवान दाहालका भनाईमा बाघको संख्या बढेपछि केही समस्या देखिएतापनि यसलाई सम्बोधन गर्न सकिने भएकाले त्यसतर्फ ठोस कार्यक्रम सञ्चालन गरिनुपर्छ । मानव वन्यजन्तु द्वन्द्वको विषय बाघसँग मात्र नभएकोले बाघ लगायतका वन्यजन्तुले पु¥याएको क्षतिबाट राहत दिन विशेष कोषको स्थापना गर्नुपर्ने डा. दाहालले बताए ।

समस्याग्रस्त बाघलाई पहिचान गरी प्रदेशस्तरका चिडियाखाना निर्माण गरेर पर्यापर्यटनको विकासका लगाउन सकिन्छ ।


डा. दाहालको भनाईमा बाघको समस्या संघीय सरकारको मात्र हो भन्ने बुझाई गलत छ । मानव वन्यजन्तुबिचको द्वन्द्व व्यवस्थापन गर्नमा संघीय सरकारलाई प्रदेश सरकार र स्थानीय तहले पनि उत्तिकै जिम्मेवारी र दायित्व भएकाले तीन वटै सरकारले साझा कार्यक्रम बनाएर लाग्नु पर्ने डा. दाहालले बताए । उनले भने, हाल भइरहेका कार्यक्रम अनुसार यो समस्याको सम्बोधन हुन कठिन छ, बाघलाई केन्द्रमा राखेर विशेष र वृहत कार्यक्रम तय गर्नु आवश्यक छ ।


बाघका विषयमा विद्यावारिधिको क्रमका रहेका राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिष्ट श्यामकुमार साहले पनि बाघलाई समस्याको रुपमा मात्र नमान्न आग्रह गरे । उनले भने, नेपालमा बाघको संख्या अझै बढाउन सकिने अवस्था छ । क्यारिङ क्यापासिटी अनुसार बाघको संख्या पुगिसकेको छैन । त्यसैले बाघको बासस्थान सुधार, वन्यजन्तुमैत्री भौतिक पूर्वाधार निर्माण लगायतका कुरामा ध्यान दिन सकियो भने बाघ समस्याको रुपमा आउदैन होला ।


हाल विकास गर्न थालिएका भौतिक पूर्वाधारका संरचनाहरु वातावरण तथा वन्यजन्तुमैत्री बनाउन सके मानव वन्यजन्तुबिचको द्वन्द्व कम गर्न सकिने पनि साहले बताउनुभयो । साहले भने, स्थानीय समुदायको जीविकोपार्जनका कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्न सके स्थानीय बासिन्दा र वन्यजन्तुको द्वन्द्व निकै कम गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here