बाढीपहिरोले मध्यपहाडी राजमार्गको २४० किलोमिटर क्षतिग्रस्त

काडमाडौँ । बाढीपहिरोका कारण पुष्पलाल (मध्यपहाडी) राजमार्गको उदगम खण्डको १२ किलोमिटर सडकमा धेरै क्षति भएको छभने समग्रमा २४० किलोमिटर क्षेत्रका पुलपुलेसा, कल्भर्ट तथा पक्की सडक पनि बगेको छ ।

बाढीपहिराका कारण कालोपत्रको चरणमा रहेको उक्त सडकको भागमा क्षति भएको फिदिमस्थित पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय प्रमुख वीरेन्द्रकुमार यादवले जानकारी दिए । राजमार्गको उद्गमविन्दु चिवाभञ्ज्याङबाट पाँचथरको याङवरक गाउँपालिका–४ दारिम्बासम्म ५१ किलोमिटर सडक कालोपत्रका क्रममा छ । यही खण्डमा असार पहिलो साता परेको अत्यधिक वर्षाले दर्जनौँ स्थानमा पहिरो खस्दा ठूलो क्षति भएको उनले बताए ।

यहाँको ओयाम खोला र फलाम खोलामा रहेका पक्की सडक पुल नै बाढीले बगाएको छ । सिलसिले खोलाको पुलमा पनि क्षति भएको छ । बाढीपहिराले यहाँका साना–ठूला गरी आठवटा पुलामा क्षति भएको प्रमुख यादवले बताए । बाढीपहिराका कारण धेरै स्थानमा सडक पुरिएको छ भने कतिपय स्थानमा दबेर तथा बगेर गएको छ । याङवरक गाउँपालिका–१ च्याङथापु, वडा नं २ फलैँचा, वडा नं ३ ओयाम र वडा नं ४ र ५ थर्पुको सडकमा क्षति भएको छ । सबैभन्दा बढी वडा नं ३ ओयाममा सडक क्षति भएको याङवरक गाउँपालिका–३ का वडाध्यक्ष विमल राईले जानकारी दिए ।

बाढीपहिराले सडकका अतिरिक्त खानेपानीका मुहान तथा ट्याङ्की, लघुजलविद्युत् योजना, सिँचाइका योजनामा पनि ठूलो क्षति भएको छ । याङवरक–२ का वडाध्यक्ष देउकुमार योङहाङका अनुसार स्थानीयवासीका आयआर्जनको मुख्य माध्यम अलैँची खेती हुने सयौँ रोपनी जमिन पहिराले बगाएको छ । बाढीले गत वर्ष मध्यपहाडी राजमार्गमै पर्ने दोभान खोलाको सडक पुल बगाएको थियो । उक्त पुल हालसम्म पुनःनिर्माण भएको छैन ।


सो राजमार्गको पूर्वी खण्ड झैँ पश्चिमी खण्डतर्फ पनि करिब २०० किलोमिटर सडक बिग्रेको सडक विभागले जनाएको छ । धेरै ठाउँमा बन्न थालेका पुलका पिलर बगाएको छ भने कतिपय स्थानमा कालोपत्रे गरिसकेको सडक भत्किएको, बगाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here