काठमाडौँ । विश्वमा दुर्लभ मानिएको वन्यजन्तु हिउँचितुवाको संरक्षणको कामलाई नेपालले बाघ संरक्षण गरे जस्तै प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिइएको छ ।
विश्व हिउँचितुवा दिवसका अवसरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागद्वारा आयोजित कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले तराई भूपरिधिको छाता प्रजाति बाघको संरक्षणमा नेपालले सफलता प्राप्त गरिसकेकोले उच्च हिमाली क्षेत्रको छाता प्रजाति हिउँचितुवाको संरक्षण पनि त्यही अनुसार गर्नुपर्नेमा जोड दिएका छन् ।
मन्त्री ठकुरीले भने, मैले सानो छँदा गोठालो जाँदा धेरै हिउँचितुवा देखेको थिए, तर अचेल देख्न मुश्किल पर्न थालेको छ ।

हिमाली पारिस्थितिकीय प्रणालीमा सूचक प्रजातिका रुपमा रहेको हिउँचितुवालाई संरक्षणमा जोड दिन सके हिमाली जैविक विविधताको उचित संरक्षण हुने कुरामा पनि जोड दिइएको छ । कार्यक्रममा बोल्दै वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले हिउँचितुवा संरक्षणका लागि मन्त्रालयले आगामी दिनमा आवश्यक कार्यक्रम, योजना तर्जुमा गर्ने बताए ।
कार्यक्रममा उनले आफू हिमाली जिल्ला मुगुमा जन्मेको र सानो छँदा गाईभैसीको गोठालो जाँदा प्रशस्त हिउँचितुवा देखेको र आजभोली ती स्थानमा हिउँचितुवा देखिन छाडेको अनुभव सुनाए । मन्त्री ठकुरीले भने, मैले सानो छँदा गोठालो जाँदा धेरै हिउँचितुवा देखेको थिए, तर अचेल देख्न मुश्किल पर्न थालेको छ ।
वन तथा वातावरण राज्यमन्त्री रुपा विकले हिउँचितुवा सम्बन्धी अध्ययन, अनुसन्धानमा लाग्नुपर्ने बताइन् । मन्त्रालयका सचिव डा. दिपककुमार खरालले सरकारले एक्लैले मात्र हिउँचितुवाको संरक्षणमा केही गर्न नसक्ने हुँदा संरक्षण साझेदार संस्थाहरुलाई सहयोग गर्न आग्रह गरे ।
हिउँचितुवा संरक्षण कार्ययोजना २०२४ — २०३० का अनुसार नेपालमा ३०१ देखि ४०० को हाराहारीमा हिउँचितुवा रहेको अनुमान गरिएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलले हिउँचितुवा संरक्षणमा समुदाय, सरकार र संरक्षण साझेदार संस्थाको थप सक्रियता र प्रभावकारी काम आवश्यक देखिएको बताए । उनले हिउँचितुवाको चोरी शिकार हुने क्रम बढीरहेकोले स्थानीय समुदायलाई संरक्षण प्रति बढी सम्वेदनशिल बनाउन सचेतना जगाउनु पर्ने बताए । वन तथा भूसंरक्षण विभागका महानिर्देशक शिव वाग्लेले प्रकृतिको अनुपम उपहार हिउँचितुवालाई भावी पुस्तासम्मका लागि जोगाइ राख्न सरकारले संरक्षित क्षेत्र बाहिर पनि विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।
कञ्चनजङ्गाको सर्वेक्षण सार्वजनिक
कञ्चनजङ्गा क्षेत्रमा क्यामरा ट्रयापिङ विधिको माध्यामबाट गरिएको हिउँचितुवा सर्वेक्षणलाई बुधबार सार्वजनिक गरियो । कञ्चनजङ्गा संरक्षण क्षेत्रमा १३ वटा बयस्क हिउँचितुवा रहेको अनुमान गरिएको छ । निकुञ्ज विभागका बरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यका अनुसार यस अघि डोल्पा क्षेत्रका शेफोक्सुण्डो राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्र, हुम्ला, मनास्लु, गौरीशंकर संरक्षण क्षेत्रमा बिभिन्न निकाय तथा अनुसन्धानकर्ताहरुले गरेका अध्ययनहरुलाई पनि एकीकृत रुपमा सार्वजनिक गर्ने गरी तयारी विभागले गरिरहेको छ ।

शेफोक्सुण्डो राष्ट्रिय निकुञ्जभित्र ९० वटा र आसपासका क्षेत्रमा ३० वटा हिउँचितुवा रहेको अनुमान बिभिन्न अनुसन्धानकर्ताहरुको सर्वेक्षणबाट अनुमान गरिएको छ । हिउँचितुवा संरक्षण कार्ययोजना २०२४ — २०३० का अनुसार नेपालमा ३०१ देखि ४०० को हाराहारीमा हिउँचितुवा रहेको अनुमान गरिएको छ । सो अवसरमा आचार्यले नेपालमा हिउँचितुवको बासस्थान,आहारप्रजातिको अवस्था, मानव हिउँचितुवाबीचको द्वन्द्व, संरक्षणमा देखिएका चुनौती र अवसर बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
हिउँचितुवा नेपाल लगायत भारत, चीन, अफगानिस्तान, भुटान, रुस, काजकिस्तान, किर्गिस्तान, मङ्गोलिया, पाकिस्तान, ताजकिस्तान र उज्वेकिस्तानमा पाइन्छ
(प्रेस विज्ञप्ती)
