म निरन्तर देश र जनताको सेवामा लागि रहनेछु : वन मन्त्री ठकुरी

काठमाडौँ । गत असार ३२ गते सोमबार दिउँसो चार बजेतिर सिंहदरबारस्थित वन तथा वातावरण मन्त्रालयको परिसरमा रुद्राक्षको बोट रोपेर आफ्नो मन्त्रीपदको पदबहाली गरेका वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले धर्ति छोएर प्रतिज्ञा गर्दै भनेका थिए, मैले पदमा बसुन्जेल यस्तै असल काम गर्न सकुँ ।


पदबहाली भएको १०० दिन पुगेको अवसरमा बिहीबार सिंहदरबारस्थित कानून मन्त्रालयको हलमा दिउँसो तीन बजे तिनै मन्त्री ठकुरीले आफ्नो १०० दिने कामको फेहरिस्ता सुनाउँदै भने, म यो अवधिमा निरन्तर रुपमा देश र जनताको सेवामा लागि रहेँ । अझै लागि रहने छु ।

गत असार ३२ गते पदबहाली गर्ने दिनमा रुद्राक्ष रोपण गर्दै गर्दाको समाचार सहित मन्त्री ठकुरी ।


गत असार ३२ गते उनीसँग केही मुगाली नेता, जनता थिए, बधाइ दिनका लागि सिंहदरबार छिरेका । बिहीबार उनीसँग वन मन्त्रालयको सिंगो कर्मचारीको टोली थियो र उनले आफुले गरेका कामकारवाही बारे सुनाउन बोलाएका पत्रकारहरु हलमा खचाखच भरिएका थिए । मन्त्रीको अगाडि क्यामरा तेर्सिएका थिए ।

उनले पत्रकार सम्मेलनको सुरुवात गर्दै भने, मैले पाएको अवसरलाई सदुपयोग गर्न खाजेको छु, निरन्तर देश र जनताका लागि काममा लागिरहेको छु । म मन्त्री पदमा बहाली भएपछिको १०० दिनमा मेरो नेतृत्वमा मन्त्रालयले गरेका कामहरुको विवरण सुनाउने म अनुमति माग्न चाहन्छु ।


मन्त्री ठकुरीले आफुले संघीयता कार्यान्वयनको पक्षपाती भएको कुरा सबैभन्दा पहिलो बुँदामार्फत व्यक्त गरे । उनले भने, ‘‘मैले मन्त्रालय सम्हाले पछि संघीयता सवलीकरण र संघीयता कार्यान्वायनका लागि वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित नीतिगत सुधारमा मेरो पहिलो ध्यान गयो । फलस्वरुप दीर्घकालिन असर पार्ने खालका बिभिन्न आठ वटा नीतिहरुलाई तयार पार्ने काम गर्न भ्याए ।’’


कार्वन व्यापारबाट प्राप्त भएको रकमको ८० प्रतिशत रकम स्थानीय समुदायलाई पुग्ने गरी लाभ बाँडफाँटको योजना स्वीकृत गरेको उनले बताए । हाल वन विकास कोषमा रहेको छ करोड ५९ लाख रुपियाँ सोही नीति अनुसार परिचालन गर्ने नीति पनि लिएको मन्त्री ठकुरीले बताए । लामो समयदेखि यो कोषको रकम परिचालन हुन सकिरहेको छैन ।


मन्त्रालय अन्तर्गत सञ्चालन भइरहेको समृद्धिका लागि वन कार्यक्रम अनुदान सहायताबाट सञ्चालन गर्ने गरी एक अर्ब ६० करोड रुपियाँ अनुदान सहायताको व्यवस्था मिलाउन सफल भएको उनले दावी गरेका छन् । जलवायु परिवर्तनसँग सम्बन्धित कोषबाट पाउने रकम ऋणमा लिन नहुने दवाव चौतर्फि आइरहेका बेला मन्त्री ठकुरीले सो अन्यौलताको अन्त्य भएको बताए ।


मन्त्री ठकुरीले यो अवधिमा सन् २०१९ का अध्ययनले नेपालको कुल वन क्षेत्र ४५.३१ प्रतिशत देखाएको भएपनि पछिल्ला दिनमा थप अध्ययन गर्दा वनजंगल क्षेत्र वृद्धि भएर ४६.०८ प्रतिशत पुगेको र सो काम आफ्नो कार्यकालमा भएको उनले बताए । उनले पत्रकार सम्मेलनमा भने,राष्ट्रिय प्राथमिकता प्राप्त विकासका आयोजनाका लागि जग्गा प्रदान गर्ने काम द्रुत गतिमा भयो र विकासका कामका अवरोधहरु निकै हदसम्म हटेको महसुस प्रवर्धकले गरेका छन् ।


त्यसैगरी यो अवधिमा विकासे आयोजनाका वातावरणीय अध्ययन प्रक्रियालाई सहज र सरल बनाउने काम पनि भएको उनले बताए । उनले दीगो वन व्यवस्थापनका लागि राष्ट्रिय मापदण्ड तर्जुमा गर्ने काम सम्पन्न भएको बताए । यो अवधिमा दीगो वन व्यवस्थापनको मापदण्ड तयार भएको, सामुदायिक वन व्यवस्थापनलाई सहजीकरण गर्ने गरी सामुदायिक वन मार्गदर्शन तयार भएको,बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरिएको, रातो बाँदरलाई घोषणा गर्ने तयारी भइरहेको पनि उनले बताए । त्यसैगरी यो अवधिमा राष्ट्रिय बाँस तथा वेत विकास रणनीति २०८१ बाह्य मिचाहा प्रजाति नियन्त्रण रणनीति २०८१ तयार भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here