काठमाडौँ । पूर्व सांसद गोपाल बमले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले आफ्नो काम नगरिदिएको भन्दै विभागमै गएर कर्मचारीसँग दुव्यवहार गरेका छन् ।
वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीका जिल्लाबासी पूर्व सांसद वमको रारा राष्ट्रिय निकुञ्जभित्र डाँफे लज रहेको छ । सो लजमा केही समयअघि आगलागी भएको थियो । आगलागीले क्षति भएको होटललाई पुनः सञ्चालनमा ल्याउनका लागि संरचना निर्माण गर्न निकुञ्ज विभागको अनुमति लिनुपर्ने भएको तर विभागले अनुमति नदिएको भन्दै मादक पदार्थ सेवन गरेर विभाग छिरेका पूर्व सांसद वमले कर्मचारीलाई बोल्नै नहुने शब्द प्रयोग गरेर दुव्यवहार गरेको कर्मचारीले बताएका छन् ।
विभागका एक जना कर्मचारीले नेपालकथासँग भने, उहाँ पूर्व सांसद जस्तो मान्छे, बोल्नै नहुने शब्द पनि बोल्नु भयो । कर्मचारीलाई मात्र होइन, मन्त्रीलाई समेत गाली गर्नुभयो । मादक पदार्थ सेवन गरेर उहाँले गरेको व्यवहार देखेर हामी कर्मचारीलाई लाज लागेर आयो ।
जिल्लाबासी वन मन्त्री भएका बेला आफ्नो काम विभागका कर्मचारीले रोकेको भन्दै उनले कर्मचारीहरुमाथि अपशब्द पनि प्रयोग गरेको निकुञ्ज विभागका ती कर्मचारीले बताएका छन् ।
घटना विवरण अनुसार विभागका महानिर्देशक डा. रामचन्द्र कँडेललाई लिएर वन मन्त्री ठकुरी चितवनमा जीप सफारीको उद्घाटन गर्ने कार्यक्रममा गएका थिए । विभागमा उपहानिर्देशक बेदकुमार ढकाल थिए । बुधबार बिहान विभाग प्रवेश गरेका पूर्वसांसद वमले महानिर्देशकको खोजी गरे । विभागमा महानिर्देशक नभेटिएपछि विभागको व्यवस्थापन शाखामा छिरेका वमले कर्मचारी र मन्त्री ठकुरीलाई नराम्रो शब्द प्रयोग गरेका छन् ।
विभागका कर्मचारीका अनुसार पूर्व सांसद वमले वन मन्त्री राजनीतिक रुपमा प्रतिष्पर्धी कांग्रेस पार्टीको भएको र जिल्लाबासी पनि भएकाले आफ्नो काम भित्रि मनले गर्न नचाहेको पनि बताएका थिए ।
रारा राष्ट्रिय निकुञ्जको कोर एरियामा रहेको वमको होटललाई सञ्चालन गर्न तत्कालिन वन मन्त्री पे्रम आले हुँदा म्याद थप गरिएको थियो । हाल उनको होटल म्याद बाँकी रहेको निकुञ्ज विभागले जनाएको छ ।
स्मरणीय छ, केही महिना अघि वन मन्त्रालयमा मन्त्री वीरेन्द्र महतो र सचिव डा. दिपक खराललाई राखेर हालका ऊर्जा मन्त्री दिपक खड्काले यस्तै ताण्डव मच्चाएपछि महिनौ रोकेर राखेको फायल वन सचिव डा. दिपक खरालले तत्कालै अघि बढाएका थिए र खड्काको वर्षाैँ अड्किएको काम फत्ते भएको थियो । वन मन्त्रालयमा काम रोकिएका खण्डमा यस्तै व्यवहार देखाउँदा तुरुन्तै काम हुन्छ भन्ने दृष्टान्त स्थापित गराउन बेला बेला यस्ता घटना हुने गरेका छन् ।






















