काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले संरक्षित क्षेत्र वरीपरी कुनै पनि वन्यजन्तुबाट हुने मानव मृत्युलाई रोक्नुपर्ने बताएका छन् ।
बर्दिया राष्ट्रिय निकुञ्जको स्थलगत भ्रमणका बेला उनले भने, वन्यजन्तुबाट हुने मानव मृत्यु नहुन दिने वातावरण सिर्जना गर्नु पर्छ । त्यसका लागि आफू जहिले पनि तयार रहेको र सरोकारावाला निकायले पनि सहयोग गर्नुपर्छ । उनले भने, वन्यजन्तुको संख्या बढेको छ, त्यो खुसीको कुरो हो तर वन्यजन्तुबाट मानिसको मृत्यु हुनु ज्यादै दुखद कुरो छ । यसलाई रोक्नका लागि काम गर्नुपर्छ ।
मन्त्री ठकुरीले कर्णाली नदीको भँगालो गेरुवामा पानी निरन्तर बगाउनका लागि आफूले सक्रिय रुपमा पहल गर्ने पनि बताए । कर्णाली नदीमा कैलालीतर्फको क्षेत्रमा ढुंगा, गिट्टी, बालुवाको उत्खनन बढी हुँदा नदीको पानी उतैतर्फ बढी बग्ने र गेरुवा भँगालोमा पानी सुक्ने गरेको छ । गत वर्ष हिउँदभरी गेरुवा भँगालोमा पानी बग्नै छाडेको थियो । बर्खामा कर्णाली नदीमा पानीको वहाव बढ्दा भँगालोमा पानी बगेपनि कात्तिक महिनापछि पानी सुक्ने गरेको छ ।
ठाकुरबाबा नगरपालिकाका प्रमुख तिलकराम लम्सालले सो अवसरमा गेरुवा भँगालोमा पानी सुक्दा बर्दियाको जनजीवन, कृषि प्रणाली, आर्थिक, सामाजिक अवस्था नै फेरबदल हुने अवस्था पुगेको बताए ।
जसका कारणले बर्दियाको ठाकुरबाबा र मधुवन नगरपालिकाको सिँचाई प्रभावित हुने गरेको छ भने निकुञ्जका वन्यजन्तु पानी खान नपाएर वस्तीतिर आउने गरेका छन् । फलस्वरुप यहाँ मानव वन्यजन्तु द्वन्द्वका घटना बढीरहेका छन्, बर्दियाको मध्यवर्ती क्षेत्रको आर्थिक, सामाजिक अवस्थामा नै असर पर्न थालेको छ । यही कुरालाई दृष्टिगत गर्दै मन्त्री ठकुरीले गेरुवा भँगालोको मुखमा रहेको करिब सात लाख घनमिटर ढुंगा, बालुवाको व्यवस्थापन गर्ने प्रतिवद्धता गरेका छन् ।
निकुञ्जको लालमाटी क्षेत्रको स्थलगत अवलोकनका क्रममा मन्त्री ठकुरीले गेरुवा भँगालोमा पानी बग्ने गरी दीर्घकालिन योजना बनाउन आफूले काठमाडौँ फर्केपछि पहल गर्ने बचन दिए । ठाकुरबाबा नगरपालिकाका प्रमुख तिलकराम लम्सालले सो अवसरमा गेरुवा भँगालोमा पानी सुक्दा बर्दियाको जनजीवन, कृषि प्रणाली, आर्थिक, सामाजिक अवस्था नै फेरबदल हुने अवस्था पुगेको बताए ।
सो अवसरमा गेरुवा भँगालोले वहाव परिवर्तन गर्दा स्थानीय किसानको करिब एक हजार विघा जमिन निकुञ्जतर्फ परेको कुरालाई पनि समाधानको माग राखिएको थियो । सो समस्या समाधानका लागि मन्त्री ठकुरीले आफू सकारात्मक रहेको बताए ।
मन्त्री ठकुरीको भ्रमण टोलीमा मन्त्रालयका सहसचिवद्वय डा. सिन्धुप्रसाद ढुंगाना, बुद्धिसागर पौडेल लगायत रहेका थिए । सो अवसरमा बर्दिया राष्ट्रिय निकुञ्जका बरिष्ठ संरक्षण अधिकृत डा. अशोककुमार रामले निकुञ्ज, मध्यवर्ती क्षेत्रमा भएका संरक्षणका गतिविधि, समस्या, चुनौती र अवसरका बारेमा प्र्रस्तुती गरेका थिए । मन्त्री ठकुरीले बर्दिया स्थित कृष्णसार संरक्षण क्षेत्र पनि अवलोकन गरेका थिए ।