काठमाडौँ । सरकारले एक महिने वृक्षरोपण अभियान घोषणा गरेको छ । सन् २०२५ देखि सन् २०४५ सम्म प्रत्येक वर्ष असार १४ देखि साउन १५ सम्म सगरमाथा वृक्षरोपण महाअभियान चलाएर वातावरणीय स्वच्छता कायम गर्ने वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।
नेपालले सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्य (नेट जिरो) गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धता गरेको छ । सोही प्रतिवद्धता अनुरुप सगरमाथा संवाद २०२५ ले हिमालय क्षेत्रमा बढ्दो जलवायु सङ्कट र त्यसको असरबारे विश्व जगतलाइ ध्यानाकर्षण गर्दै ‘हिमालय जोगाऔँ’ को आह्वान गरेको थियो ।
वृक्षरोपण गर्दै हरियाली प्रवर्धन मार्फत कार्बन उत्सर्जन न्यूनीकरण, हिमालय र त्यसको जलाधार क्षेत्रको संरक्षण, वातावरणीय पुनःस्थापना र जैविक विविधता प्रवर्द्धन, भावी पुस्ताका लागि सुरक्षित, हरित र समृद्ध वातावरणको निर्माण हुने विश्वास गरिएको
सोही संवादलाई आधार मानेर नेपालले हिमालय जोगाउने अभियानका साथ एक महिना वृक्षरोपण महाअभियानलाई चलाउने भएको कुरा वन तथा वातावरण मन्त्रालयका निमित्त सचिव डा. बुद्धिसागर पौडेलले जानकारी दिए । यही असार ८ गते बसेको मन्त्रिपरिषदको बैठकले २० वर्षसम्म प्रत्येक एक महिना वृक्षरोपण गर्ने निर्णय गरेको थियो ।
सामुदायिक वन तथा राजमार्गको दुबै किनार, खोला किनार, खाली पर्ती जमिन, विद्यालय तथा कार्यालय प्राङ्गण, सार्वजनिक तथा निजी जग्गामा फलफूलजन्य, जडीबुटी तथा उच्च मूल्यका वनस्पतिको वृक्षारोपण गर्न सरकारले आम नागरिक तथा समुदायलाई आग्रह पनि गरेको छ ।
वृक्षरोपण गर्दै हरियाली प्रवर्धन मार्फत कार्बन उत्सर्जन न्यूनीकरण, हिमालय र त्यसको जलाधार क्षेत्रको संरक्षण, वातावरणीय पुनःस्थापना र जैविक विविधता प्रवर्द्धन, भावी पुस्ताका लागि सुरक्षित, हरित र समृद्ध वातावरणको निर्माण हुने विश्वास गरिएको निमित्त सचिव डा. पौडेलले जानकारी दिए ।
यो अभियानमा सङ्घ, प्रदेश र स्थानीय सरकारहरू सहभागी हुने भएका छन् । वृक्षरोपण आफ्ना पूर्वजहरूको सम्झनामा, भावी पुस्ताको सुरक्षित भविष्यका लागि गर्न सकिने मन्त्रालयले जनाएको छ ।