मुग्लिन–आँबुखैरेनी सडक नियमित सञ्चालन

मुग्लिन । दैनिक नौ घण्टा बन्द हँुदै आएको मुग्लिन–आँबुखैरनी सडक नियमित सञ्चालनमा आएको छ । चितवन र तनहुँ जोड्ने त्रिशूली नदीमा निर्माण सम्पन्न भएको पक्की पुलको दायाँबायाँ दुवैतर्फको सडकको पर्खाल सतह काटेर टेवा पर्खाल लगाउने काम तथा सडक कालोपत्र गर्नुपर्ने भएकाले यही जेठ १६ देखि ३० सम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र राति ९ बजेदेखि २ बजेसम्म बन्द गरिएको थियो ।

भित्ता काट्ने काम सम्पन्न भएकाले बिहीबार साँझदेखि नियमित सवारी सञ्चालनमा आएको ठेकेदार कम्पनी एलाइट एड्भेञ्चर लोहनी जेभीका मोतीलाल शर्माले जानकारी दिनुभयो । विसं २०७५ को चैत मसान्तमा काम सम्पन्न गर्नुपर्नेमा ठेकेदार कम्पनी एलाइट एड्भेञ्चर लोहनी जेभीले विविध कारण देखाउँदै समय थप मागेको थियो । थपिएको समय यही जेठ मसान्तसम्ममा पुल निर्माणकार्य सम्पन्न गरिएको हो ।

एक सय ६० मिटर लामो सो पुलको भाग १२० मिटर रहेको छ । सात दशमलव पाँच मिटरमा गाडी गुड्ने गरी बनाइएको पुल फुटपाथसहित ११ मिटर चौडा रहेको छ । मुग्लिन र आँबुखैरेनी जोड्ने निर्माणाधीन आरसिसी मोटर गुड्ने ‘आर्कब्रीज’ सञ्चालनमा आएपछि दुईतर्फी आवागमन सहज हुने अपेक्षा गरिएको छ ।

विश्व बैंकको रु १२ करोड लागतमा यो पुल निर्माण गरिएको हो । पृथ्वी राजमार्गअन्तर्गत त्रिशूली नदीमा रहेको मुग्लिनको पुरानो पुल जीर्ण र कमजोर भएपछि २०७१ सालबाट नयाँ पुलको निर्माण शुरु गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here