धिरेन्द्र प्रधानको यात्रा : जिल्ला वनको रेञ्जरदेखि विभागको महानिर्देशकसम्म

काठमाडौँ । वन तथा भूसंरक्षण विभागको महानिर्देशकमा धिरेन्द्रकुमार प्रधानलाई सरुवा गरिएको छ ।


यस अघिका महानिर्देशक बद्री ढुंगानाले उमेर हदका कारण अनिवार्य अवकाश पाएपछि रिक्त भएको महानिर्देशक पदमा प्रधानलाई मन्त्रालयले शुक्रबार सरुवा गरेको छ । प्रधानलाई मन्त्रालयको वातावरण तथा जैविक विविधता महाशाखाबाट विभागमा सरुवा भएको हो । शुक्रबार अबेरतिर मन्त्रीस्तरीय निर्णय भएकाले सरुवाको चिठी भने प्रधानले पाउन सकेका छैनन् ।

जता जता प्रधानले बसेर काम गरेका छन्, उनीसँग काम गर्ने कर्मचारीको एउटै टिप्पणी रहने गरेको छ, ‘‘काम गर्न सहज छन्, नियमले हुने काम नाई भन्दैनन् । धेरै रिस्क लिन चाहादैनन् ।’’


यस्तो छ प्रधानको वन यात्रा
वन विज्ञानको प्रविणता प्रमाण पत्र तहको पढाई सकेर जागिरे जीवन सुरु गरेका गोरखामा जन्मिएका धिरेन्द्र प्रधानले सरकारी जागिर तत्कालिन वन विभागको रेञ्जर पदमा नियुक्ति लिएका हुन् । भर्खरको युवा उमेर अनि सधैँ हसिलो देखिने प्रधानले रेञ्जर पदको नियुक्ति लिएर विभागको दैलोमा धेरै दिन काम गर्न पाएनन् । उनलाई विभागले दैलेख कार्यक्षेत्र दिएर पठायो । गोरखाली प्रधान दैलेखी भूमिको वनजंगलमा रेञ्जरको पदमा दुई वर्ष जति काम गरे ।

दैलेखमा बस्दा एक जना स्थानीयले वन कार्यालयमा आएर धिरु रेञ्जर साफ कता हुनुहुन्छ भनेर सोधेको घटनाले कतिपयले उनलाई दैलेखमा पछिसम्म पनि धिरु रेञ्जर भन्ने गर्थे । प्रविणता प्रमाण पत्र तह पास गरेका प्रधानलाई पढाईको हुटहुटीले पछयाइ रह्यो र जागिर खाँदाखाँदै वन विज्ञान क्याम्पससमा स्नातक तह पढाईका लागि क्याम्पसतिर हानिए ।


वन विज्ञानको स्नातक तहको पढाई सकिए लगत्तै २०६३ सालमा सहायक वन अधिकृतमा नाम निकाल्न सफल भए । त्यसपछि प्रधानलाई वन विभागले सल्यान जिल्ला वन कार्यालयमा खटायो । आफ्नो पेशामा इमान्दार उनले सल्यानमा उत्कृष्ट खालका काम गरे । दैलेखमा रेञ्जर पदमा काम गर्दाको अनुभवले सल्यानमा सहायक वन अधिकृत हुँदा निकै सहयोग भएको उनले बताए ।


दुई वर्ष जति सल्यानमा रहेर काम गरेका प्रधानलाई विभागले कास्कीमा खटायो र त्यहाँ पनि दुई वर्ष जति कामको अनुभव लिने अवसर प्राप्त गरे । कास्कीबाट वन तथा भूसंरक्षण मन्त्रालयमा अढाई वर्ष जति काम गरेका प्रधानले २०७० सालमा भूसंरक्षण समुहमा उपसचिवमा नाम निकाले । २०५५ सालमा रेञ्जरमा छिरेका उनले १५ वर्षको जागिर दौरानमा उपसचिवको पदमा काम गर्ने अवसर पाए ।


२०३५ साल असोज १४ गते जन्मिएका प्रधानले जागिरे जीवनसँगै पढाईलाई अघि बढाउने क्रममा बेलायतबाट स्नाकोत्तर गर्न भ्याए । तत्कालिन भूसंरक्षण विभागमा उपसचिव भएर बस्दा विभागको योजना शाखामा काम गर्ने अवसर पाएका उनलाई विभागले त्यसपछि काभ्रेको भूसंरक्षण अधिकृत बनाएर पठायो । काभ्रेमा भूसंरक्षणका सबै कार्यक्रम कार्यान्वयन गर्न सफल प्रधानले २०७४ साल बैशाखमा सहसचिवका पदमा पदोन्नती हुने शौभाग्य पाए । सहसचिवको पदोन्नती भएका प्रधानलाई मध्यपश्चिम विकास क्षेत्रको क्षेत्रीय वन निर्देशकका रुपमा काम गर्न पठाइयो ।


मुलुक संघीयता कार्यान्वयन हुने चरणमा थियो । हिजोको वन तथा भूसंरक्षण मन्त्रालयबाट प्रदेश स्थित वन मन्त्रालयमा गठन भई काम गर्ने दौरानमा प्रधानलाई कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सचिवको जिम्मेवारी दिइयो ।

अहिलेको परिवर्तित वन विभागमा नेतृत्व समाल्ने अवसर पाउँदा विभागको महत्व र योगदानलाई पुर्नपरिभाषित गर्ने काममा प्रधानको ध्यान जाने र त्यस कर्ममा लाग्ने आशा उनलाई चिन्ने, जान्ने फरेष्टरहरुले गरेका छन् ।


प्रदेश सचिव भएर कर्णाली प्रदेशमा पुगेका प्रधानले त्यति बेला नेपालकथासँग भनेका थिए, भर्खर प्रदेश मन्त्रालय स्थापना भएको छ, काम गर्न चुनौती त धेरै छन् । तर पनि चुनौतीसँग डराउने कुरा भएन, सामना गर्दै हिड्ने कोशिस गरिरहेको छु ।
हुन पनि हो, प्रदेश संरचनामा काम गर्ने कानुनी, भौतिक तथा नीतिगत पूर्वाधार नभएका बेला प्रदेश मन्त्रालयमा गएर काम गर्न निकै चुनौती नै थियो । ती सबै चुनौतीसँग भिडेर कर्णाली प्रदेश हाँक्दा हाँक्दै उनको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रमा सरुवा भयो र केन्द्रमा झण्डै दुई वर्ष काम गर्ने अवसर प्राप्त गरे ।


बेलायत, जर्मनीको उच्च शिक्षा र तालिम लिएका प्रधान कर्मचारी वृतमा सबैसँग मिल्ने कर्मचारी मानिन्छन् । हेर्दा जस्तो देखिन्छन्, व्यवहार पनि उस्तै सरल र सहज व्यक्तिका रुपमा उनले आफ्नो पहिचान बनाएका छन् । जता जता प्रधानले बसेर काम गरेका छन्, उनीसँग काम गर्ने कर्मचारीको एउटै टिप्पणी रहने गरेको छ, ‘‘काम गर्न सहज छन्, नियमले हुने काम नाई भन्दैनन् । धेरै रिस्क लिन चाहादैनन् ।’’


भूजलाधार व्यवस्थापन र दीगो वन व्यवस्थापनसँग दर्जनौँ राष्ट्रिय, अन्तराष्ट्रिय सम्मेलन, गोष्ठीमा भाग लिइसकेका प्रधान अध्ययनशिल र पठनशिल स्वभावका छन् । उहिलेको वन विभाग भए केही सिर्जनात्मक र दीर्घकालिन योजना सहित प्रस्तुत हुन सक्ने क्षमता राख्ने प्रधान अहिलेको परिवर्तित वन विभागमा नेतृत्व समाल्ने अवसर पाउँदा विभागको महत्व र योगदानलाई पुर्नपरिभाषित गर्ने काममा प्रधानको ध्यान जाने र त्यस कर्ममा लाग्ने आशा उनलाई चिन्ने, जान्ने फरेष्टरहरुले गरेका छन् ।


उमेरले ४७ वसन्त पार हुन नपाउँदै वन तथा भूसंरक्षण विभागको महानिर्देशक हुने अवसर पाएका प्रधानले यस अघि एक वर्ष जति वन निगमको प्रमुख कार्यकारी अधिकृत भएर काम गरेका छन् । वन तथा वातावरण मन्त्रालय बनेपछिको मन्त्रालय अन्तर्गतको वन तथा जलाधार व्यवस्थापन महाशाखामा एक वर्ष काम गरेको अनुभव भएका प्रधानलाई बागमति प्रदेशमा करिब ११ महिना सचिव भएको अनुभव पनि छ ।


बागमति प्रदेशबाट राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको सदस्य सचिवमा सरुवा भएका प्रधान सो कार्यालयमा भने गएनन् । समितिमा हाजिर नभई मन्त्रालयको वातावरण तथा जैविक विविधता महाशाखा प्रमुखको रुपमा नौ महिनाको अनुभव लिएका प्रधान कम उमेरमा वन विभागको महानिर्देशक हुने फरेष्टर मध्य एक हुन् । यस अघि डा. विश्वनाथ ओली, डा. राजेन्द्र केशी पनि कम उमेरमा वन विभागको महानिर्देशक बनेका थिए ।

धिरेन्द्र बारे तत्कालिन हाकिमको टिप्पणी
धिरेन्द्र त्यो पदका लागि एप्रोपिरेट मान्छे हुन्
डा. पेमनारायण कँडेल, तत्कालिन भूसंरक्षण विभाग महानिर्देशक

म भूसंरक्षण विभागको महानिर्देशक भएको बेला धिरेन्द्र प्रधान उपसचिव भएर योजना शाखामा काम गरे । विभागभरीमा उनी मिहिनेती कर्मचारीको सूचीमा पर्थे । लोकसेवाका तयारीका लागि होस् वा विभागको योजना शाखाका काममा होस्, उनले मसँग नजिक भएर काम गरे । लोकसेवा तयारीका लागि उनलाई मैले गाइड पनि गरे । उनको काम गराई मन परेर मैले योजना शाखामा राखेको थिए ।

हुन त उनले विभागमा बस्नु भन्दा जिल्लामा जाने इच्छा गरेका थिए, विभागमा उनको आवश्यकता महसुस गरेर राखियो । जसले गर्दा उनले काम सिक्ने मौका पनि पाए । फिल्डको पनि राम्रो अनुभव छ । पछिल्ला दिनमा उनले कर्णाली र बागमति प्रदेशमा सचिव भएर काम गरेको मैले नजिकबाट देखेको छु । आफूसँग काम गरेको भाईहरु अहिले त्यो जिम्मेवारीमा पुगेको देख्दा, सुन्दा खुसी लागेको छ । विभागमा महानिर्देशक खाली भएको बेला अहिले धिरेन्द्र त्यो पदका लागि एप्रोपिरेट मान्छे हुन् । उनको सरुवा ठिक छ, अरु कुरामा टिप्पणी गरिहाल्ने बेला भएको छैन । जे होस् उनले राम्रो काम गर्न सक्छन् भन्ने मैले भित्रि मनबाट भन्न सक्छु ।

धिरेन्द्रजीमा अल्छीपना मैले देखिन
धनञ्जय पौडेल, तत्कालिन जिल्ला वन अधिकृत सल्यान

मेरो २०६४ सालमा उपसचिवमा बढुवा भएपछि सल्यानको डिएफओ बनाएर विभागले पठायो । त्यहाँ धिरेन्द्र प्रधान सहायक वन अधिकृत थिए । उनी निकै मिहिनेती कर्मचारी पाए । त्यतिबेला इन्टरनेटको समस्या थियो, हामी एउटै भवनमा बस्थ्यौँ । मैले अह्राएको एउटा काम धिरेन्द्रले रातभरी नसुतेर गरेको मलाई अझै याद छ । काम गर्दा फाष्ट छन् उनी । सल्यानमा गाडी थिएन, अफिसमा मोटरसाइकिल थिए, उनले जस्तोसुकै कठिनका बेला पनि फिल्डको काम मोटरसाइकिलमा कुदेर फत्ते गरे । धिरेन्द्रजीमा अल्छीपना मैले देखिन । मैले त्यो पाटोलाई अत्यन्तै राम्रो रुपमा लिएको थिए, त्यतिबेला ।

पछि उनको सरुवा भएपछि बिष्णु श्रेष्ठ सहायक वन अधिकृतमा आए । उनी पनि अब्बल थिए । कहिलेकाँही एउटा कर्मचारी सरुवा भएर अर्काे आउँदा केही न केही कमी फिल हुने गर्छ तर धिरेन्द्रजी सरुवा भएर बिष्णु श्रेष्ठजी आएपछि त्यस्तो फिल भएन मलाई । धिरेन्द्र जस्तै बिष्णुले पनि खटेर काम गरे । अहिले धिरेन्द्रजीले विभागको महानिर्देशक हुने अवसर पाए, मसँग काम गरेको हुँदा म निकै खुसी पनि छु । अहिले विभाग पहिलेको जस्तो सरुवा लगायतका काममा अल्झिने खालको त छैन तर भित्रि रुपमा हेर्दा जग्गाको भोगाधिकार लगायतका बहुत महत्वपूर्ण काममा ध्यान दिन सक्नु भयो भने उहाँको कार्यकाल राम्रो होला भन्ने लागेको छ ।

धिरेन्द्रजी ए वन मान्छे हो
रमेश बहादुर चन्द, तत्कालिन जिल्ला वन अधिकृत दैलेख

म डिएफो हुँदा धिरेन्द्रजी रेञ्जर पदमा आउनु भएको हो । माइ डिअर लाग्यो मलाई त उहाँ । भर्खर जागिर खाएको बेला धेरै जाने, सिकेका हुँदैनन् । तर पनि उहाँमा जिज्ञासा राख्ने, काम गर्न खोज्ने भावना मैले देखेको थिए । गाउँ गाउँमा दौडेर काम गर्नेमा उहाँ पनि हो, मसँग । धिरेन्द्रजी ए वन मान्छे हो, त्यहाँ जागिर खाँदा खाँदै पढ्न गएको थाहा छ, पछि त म पनि पढ्न गए । हामीले धिरु रेञ्जर भन्थ्यौँ । धिरु रेञ्जर भनेपछि अच्छा मान्छे, त्यहाँका जनताका लागि पनि । आज उहाँ त्यो पदमा पुगेको सुन्दा खुसी लाग्यो । हामी त रिटायर्ड भयौँ, यस्तै खबर सुन्न पाइयोस्, धिरेन्द्रजी महानिर्देशक भएको सुन्दा आहा भन्न मन लाग्यो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here