जंगलमा बस्छौँ, बिरामी भए के गर्ने वनमन्त्री ज्यू ?

काठमाडौँ । लकडाउनका भएको बिसौँ दिनमा वन तथा वातावरण मन्त्रालयले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग अन्तर्गतका कार्यालय प्रमुखहरुसँग सिंहदरबारबाट पहिलो पटक भिडियो वार्ता गरेको छ ।

भिडियो वार्तामा सबै संरक्षण क्षेत्रका प्रमुखसँग वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, सचिव डा. विश्वनाथ ओली तथा विभागका महानिर्देशक गोपालप्रकाश भट्टराईले कुराकानी गरेका छन् ।

लकडाउनका बेला वन्यजन्तु चोरी तस्करीका घटना वृद्धि भएको सन्दर्भलाई हेरेर मन्त्रालयले निकुञ्ज प्रमुखहरुसँग यस्तो वार्ता गरेको जनाएको छ ।

फिल्ड स्तरबाट नयाँ लगाउनुपर्ने ठेक्कापट्टाको काम रोकिएको, लगाइ सकेका ठेक्कापट्टाको काम पनि हुन नसकेको, फिल्ड स्तरमा बस्दा खानपिनको समस्या देखिएको, दैनिक गस्तीमा जाँदा स्यानीटाइजर, मास्क लगायतका साधन पनि नभएको गुनाशो मन्त्री समक्ष प्रमुख संरक्षण अधिकृतहरुले राखेका छन् ।

केही दिन अघि पर्सा राष्ट्रिय निकुञ्जका एक जना कर्मचारी सामान्य बिरामी परे । कोरोना भाइरसको त्रासको मनोविज्ञानमा निकुञ्जभरी खैलाबैला नै मच्चियो । गस्तीमा जानु पर्छ तराईमा दिनप्रतिदिन गर्मी बढ्दै गइरहेका बेला हुनसक्ने समस्याका बारेमा लकडाउनका बेला बाहिर जान नसकिने अवस्थाको पनि प्रमुख संरक्षण अधिकृतहरुले मन्त्री, सचिव र महानिर्देशक समक्ष बेलिबिस्तार गरेका छन् ।

एक जना प्रमुख संरक्षण अधिकृतले भने, जागिर त हामी सबैले खाएकै छौँ । वनजंगलको बीचमा बस्नुपर्ने, रातदिन गस्तीमा जानुपर्ने अवस्था छ । बिरामी भयो भने बचाउने आउने कोही छैन, बाहिर जान सकिने अवस्था छैन भन्ने कुरा हामीले मन्त्री समक्ष राख्यौँ ।

सबै प्रमुख संरक्षण अधिकृतसँग भएको भिडियो वार्ता पछि सचिव डा. विश्वनाथ ओलीले भन्नुभयो, फिल्ड स्तरको सबै गतिविधि र समस्या बारे हामीले जानकारी लियौँ । कतिपय समस्या समाधानका लागि आजै निर्देशन दिइसकिएको छ । कतिपय समस्या समाधानका लागि फिल्डमा काम गर्ने वातावरण सिर्जना गर्न मन्त्रालयले भोलीदेखि थप काम गर्ने योजना बनाएको छ ।

सचिव डा. ओलीले भने, लकडाउनका बेला चोरी शिकारीका घटना बढ्न सक्ने तर्फ सचेत रहन, कर्मचारीलाई फिल्ड नछाड्न र गस्ती बढाउन निर्देशन दिइएको छ । फिल्ड स्तरमा चाहिने आवश्यक स्यानीटाइजर, मास्क, सावुन लगायतका सुरक्षाका सामग्रीको व्यवस्थापन गर्न विभागलाई पनि निर्देशन दिइसकेको छ ।

लकडाउनको समयावधिमा फिल्डस्तरमा भएको घटनाको प्रकृति, पक्राउ पर्ने व्यक्ति र कारवाही गरिएको विवरण, कर्मचारीको अवस्था, खानपानको व्यवस्था तथा असहजता, नेपाली सेनासँगको समन्वयको स्थिति, संयुक्त गस्तीको परिचालन रणनीति लगायतका विषयमा फिल्डस्तरको यथार्थता सुनेर वन मन्त्री बस्नेत, सचिव डा. ओली र महानिर्देशक भट्टराई निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here