हात्ती बेसारले उठाएको जिन्दगी

कैलासीगाउँ, बर्दिया । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर १ कैलासीगाउँका नयाँराम सुनारको हात, पाखुरा, लगाएको लुगामा समेत पहेलो रङ लागेको देखिन्छ । उनको दैनिकीसँग अचेल पहेलो रङको हिमचिम बढेको छ ।


त्यो पहेलो रङ पूजाआजामा प्रयोग गरिने रङ नभएर बेसार (हल्दि) को पहेलो रङले उनको जीवनलाई पहेलो रङ जस्तै सुन्दर बनाइदिएको छ । सुनार दिनभरी बेसार केलाउन्छन्, बेसार मेसिनमा पेल्छन् त्यस कारण उनको हात, पाखुरा र लुगामा बेसारको रङले छोपेको हुन्छ ।

मिहिनेतका प्रायवाची बनेका नयाँराम सुनार ।


सुनारको परिवार बेसार खेतीमा रमाउँदै आएको छ । सुनार परिवार मात्र बेसार खेतीमा रमाएको छैन कि ससानो जग्गाजमिन भएका वरपरका अरु परिवारलाई समेत रमाउने वातावरण सिर्जना भएको छ । नयाँराम सुनारका भनाईमा उनले विवाह गरेपछि परिवारको घरखर्च जोहो गर्न मौसमी रोजगारीका लागि भारत पसेका थिए । भारतका गडवालको टेहरी, गुजरातको सुरतसम्म उनले धाए । नयाँ दिल्लीमा पनि दुई वर्ष बसेर चौकीदारीको काम गरे ।

कैलासी गाउँमा गरिएको बेसार खेती ।

निकुञ्जका सरहरु पनि आउनुभयो । एनटीएनसीका सरहरुले हामीले नसोचेकै हिसावले समुहलाई सहयोग गर्नुभयो । समुहमा पाँच लाख रुपियाँ बीउ पूँजी दिनुभयो । त्यसपछि निःशुल्क बिउ विजन दिनुभयो, बेसार प्रशोधन गर्न मेसिन पनि किनिदिनुभयो । हामीलाई के खोज्छस् के …. आँखो भने जस्तै भयो ।


‘‘पल्लेदारीका काम गरेर के कति कमाइ हुन्थ्यो र ? आफूले पनि एक भोटो शरिर ढाक्ने गरी लगाउनै पर्यो र एक गाँस खानै पर्यो । त्यसबाट अलि अलि बचेको घरमा पठाउने गर्दा न घर खर्च राम्रोरी चल्थ्यो, न आफूलाई सुबिस्थाले खान पुग्थ्यो । भारतको पल्लेदारी काम त्यति राम्रो फलिफाप भएन’’, सुनारले ती दिन सम्झिदै नेपालकथासँग भने ।


लामो सुस्केरा हालेर उनले विगत सम्झिदै भने, ‘‘जति काम गरेपनि खल्तीमा पैसा नबच्ने भएपछि भारत छोडेर घर फर्किए । घरपरिवार छ, कमाई केही छैन । अनि केही त गर्नै पर्यो भनेर चार वर्षसम्म साइकिल पसल खोले । गाउँघरका साईकिल मर्मत गरे । गाउँघरमा बसेर समाजका लागि केही सकारात्मक काम गर्न पाए हुन्थ्यो लागि रहेको थियो । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको कैलासी सामुदायिक वनको अध्यक्ष पनि बने । यसले मलाई गाउँघर अनि समुदायसँगको सम्बन्ध बढायो । मलाई थप ऊर्जा मिल्यो ।’’

एनटीएनसीले दिएको बेसार पिध्ने मेसिन ।


जग्गा जमिन प्रशस्त भएको परिवार उनको होइन । घरबारी पाँच कठ्ठा र पाँच कठ्ठा खेत मात्र भएका सुनार जब सामुदायिक वनका अध्यक्ष बने अनि उनले आफ्ना र आफूजस्तै ससानो जग्गा जमिन हुने किसान किसानका लागि सपना बनाउन थाले । परिवार धेरै, जग्गा थोरै । गाउँघरको बास, न रोजगारी न उद्योगधन्दा । कसरी बालबच्चा पढाउने, मिठो मसिनो खाने र अरुको जस्तै लुगाफाटो कसरी जोहो गर्ने ? सुनारले भोगेको यो समस्या अरु किसानको पनि साझा समस्या थियो ।


छाडा चौपायाको कारण खेतीबाली नोक्सानी हुने एकातिर छदै थियो, अर्कातिर वन्यजन्तुले छरेको बिउ उम्रिन नदिने स्थिति देखेपछि उनले सामुदायिक वनको अध्यक्षको हैसियतमा यो समस्या लिएर बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालय ठाकुरद्धारा पुगे ।
उनले त्यो दिनको घटना सम्झिदै भने, ‘‘म सहित अरु गाउँलेहरु पनि निकुञ्ज कार्यालय गएका थियौँ । हामीले छाडा पशुवस्तु र वन्यजन्तुको समस्याले खेतीबाली लगाउन नपाएको गुनाशो पोख्यौँ । निकुञ्जबाट वैकल्पिक खेतीको लागि सहयोग गर्ने बचन पनि पायौँ ।’’

पिध्नका लागि बोरामा राखिएको कच्चा हलेदो ।


यही समयमा बर्दिया जिल्लामा दलित महिला उत्थान संघको गरिवी न्यूनीकरण कार्यक्रम चार वर्षका लागि सुरु भयो । सुनार परिवार आफैमा दलित भएकाले दलित महिला उत्थान संघले सुनार परिवार सहित अन्य परिवारलाई समेटेर बनाएको समुहलाई बीउ पूँजी दियो । सो बीउ पूँजीले सो गाउँका दलित परिवारले बेसार खेती सुरु गरे । अधिकांश दलित परिवारसँग थोरै जग्गा थियो, वैकल्पिक खेतीका लागि सुनारले नै नेतृत्वदायी भूमिका खेले ।


वन्यजन्तुबाट पीडित परिवारलाई समेटेर समुह निर्माण गरे । ससानो खेतबारीमा बेसार खेतीको सुरुवात गरे । बेसार उत्पादन त भयो, बिक्री गर्न बाहिर जानुपर्ने भयो । पहिलो वर्ष राम्रो मूल्य पाएपनि दोस्रो वर्ष खासै बिक्री भएन । लागत अनुसारको मूल्य नपाउने समस्याले पिरोल्न थाल्यो । बेसार केही समय थन्काउन पाएको भए बढी मूल्य पाइन्थ्यो कि भन्ने सोचमा रहेको समुहलाई बेसार राख्ने भवन निर्माण गर्न मधुवन नगरपालिकाले सहयोग गर्यो ।


नगरपालिकाले त्यति मात्र गरेन, सो क्षेत्रलाई बेसार पकेट क्षेत्र घोषणा गरेर किसानलाई खेतबाट बेसार ओसार्न तिन पाङग्रे साधन पनि किनिदिएको कुरा सुनारले सुनाए । सुनारले नेपालकथासँग भने, ‘‘उत्पादन त मज्जाले भयो, तर मूल्य नपाउने समस्या हुन थालेको कुरा हामीले निकुञ्जका कार्यक्रम भनेका थियौँ । एक दिन राष्ट्रिय प्रकृतिक संरक्षण कोषका सरहरु हाम्रो गाउँमा आउनुभयो । समुहको मिटिङ राख्यौँ । उहाँलाई सबै कुरा सुनायौँ । उहाँहरुले सहयोग गर्छु भनेर जानु भयो । उहाँको कुरामा सहयोग पाउने आशा र नपाउने निराशा बराबरी थियो । सहयोग गर्छु भन्ने धेरै हुन्छन तर वास्तवमा सहयोग गर्ने कम मात्रै भेटिन्छन् । तर केही दिन पछि उहाँहरु सहयोग गर्छु भनेर आउनुभयो, निकै खुसी लाग्यो ।’’

कैलासी गाउँमा गरिएको बेसार खेती ।


सुनारले अगाडि भने, ‘‘निकुञ्जका सरहरु पनि आउनुभयो । एनटीएनसीका सरहरुले हामीले नसोचेकै हिसावले समुहलाई सहयोग गर्नुभयो । समुहमा पाँच लाख रुपियाँ बीउ पूँजी दिनुभयो । त्यसपछि निःशुल्क बिउ विजन दिनुभयो, बेसार प्रशोधन गर्न मेसिन पनि किनिदिनुभयो । हामीलाई के खोज्छस् के …. आँखो भने जस्तै भयो ।’’


सुनारले भने, ‘‘एनटीएनसीबाट बेसारलाई बजारसम्म लैजाने कामका पनि सहयोग प्राप्त भयो । अहिले बेसार उत्पादन किसान समुहमा ४० परिवारबाट बढेर झण्डै डेढ सय परिवार पुगेका छौँ । समुह बाहिरका किसानबाट समेत हामीले बेसार किन्ने गरेका छौँ ।’’


एनटीएनसीले बेसारको ब्राण्ड निर्माण गर्न पनि सहयोग गरेको छ । यहाँ उत्पादन हुने बेसारलाई ‘हात्ती बेसार’ को नामबाट उत्पादन गर्न थालिएको छ । बेसार रोप्नेदेखि लिएर प्रशोधन र बिक्री वितरणसम्मको काममा समुहका मानिसहरुले रोजगारी पाएका छन् ।


समुहमा आम्दानी हुन थालेपनि बीउ पूँजी पनि वृद्धि हुँदै गएको कुरा सुनारले बताए । उनले भने, ‘‘अब त हामीलाई हिम्मत पनि बढी सकेको छ । हाम्रो उत्पादन पोखरा, काठमाडौँसम्म जान थालेको छ । यहाँको स्थानीय बजार ठाकुरद्धारा, बासगढी, चिसापानी, नेपालगञ्ज, कोहलपुर, दाङ, धनगढी र महेन्द्रनगरसम्म पनि जान थालेको छ ।’’

बिक्रीका लागि राखिएको हात्ती बेसार ।


हरेक वर्ष बेसार खेती राम्रो नहुने भएपछि किसानहरुले वर्ष बिराएर बेसार खेती गर्न थालेका छन् । एक वर्ष धान खेती र अर्काे वर्ष बेसार खेती गर्दा बेशार राम्रो उत्पादन हुने गरेको सुनारले बताए । समुहभित्र बेशार खेती गर्ने किसानको संख्या हेरेर हरेक वर्ष बेसार उत्पादन हुने किसिमले उत्पादन प्रणाली निर्माण गरेको पनि उनले बताए ।


अहिले हरेक परिवारले बेसार खेतीबाट दुई, चार पैसा कमाएर घरखर्च टारेको कुराले उनले बताए । सुनारका अनुसार समुहसँग आवद्ध हुन खोज्ने परिवारको संख्या निकै बढेको छ । तर सबै परिवारलाई समुहमा आवद्ध गर्न सकिने अवस्था छैन । यो समुहले गरेको असल कामको सिको अरु वरपरका गाउँका वन्यजन्तु पीडित परिवारले पनि गर्न थालेका छन् ।
आफ्नो समुहले उत्पादन गरेको हात्ती ब्राण्डको बेसार बढीजसो होटलबाट माग हुन थालेको उनले सुनाए । सुनारले नेपालकथासँग भने, ‘‘बिक्रीको समस्या अब छैन । वन्यजन्तुले पनि हानी नोक्सानी गरेको छैन । वन्यजन्तुले बेसारको गन्ध मानेर नखाने रहेछ ।’’

हरेक वर्ष बेसार खेती राम्रो उत्पादन नहुने भएपछि लगाइएको धानखेती ।


घट्यो हात्तीसँगको द्वन्द्व
सुनारमा वन्यजन्तुप्रतिको अनुभव पाँच, छ वर्षको छोटो समयमा परिवर्तन भएको छ । विगतमा वन्यजन्तु गाउँघरमा आए लखेट्नुपर्छ, सके मार्नुपर्छ भन्ने उनको मानसिकता अहिले वन्यजन्तुमैत्री खेती प्रणाली विकास गर्न सके र वन्यजन्तुको आनीबानी अनुसार आफ्ना आनीबानी परिवर्तन गर्न सके मानव वन्यजन्तु द्वन्द्व आपसेआप घट्ने कुरामा बदलिएको छ ।
सुनारका भनाईमा अहिले गाउँमा हात्ती आउन खोज्छ, बेसारको गन्धले खेतबाटै भाग्छ । अहिले हात्ती आउँदा न कोलाहल गर्नुपर्छ, न आगो बालेर धपाउनु नै पर्छ ।


२०७४ सालमा गाउँमा पसेको हात्तीले घर भत्काउँदा बर्खाका बेला बैनी ज्वाईको परिवार आफ्नो घरमा बस्नु परेको घटना देखेका सुनारले भने, ‘‘बेशार लगाउन थालेपछि यस्ता खालका घटना देख्न पाएको छैन । यो कुरा निकुञ्ज वरीपरीका सबै समुदायले अनुभव गर्न सके वन्यजन्तुले मान्छे मार्ने र क्षति हुने कुरा कम हुने थियो ।’’


थप सहयोगको अपेक्षा
निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दाका लागि एनटीएनसीले वैकल्पिक खेती प्रवर्धनको काम गरिरहेको छ । एनटीएनसीले किसानलाई बीउबिजनदेखि लिएर तालिम समेत दिएको छ ।


हात्ती बेसारको ब्राण्डलाई प्रवर्धन गर्न बेला बेला बजारसम्म जोडिदिने काम पनि एनटीएनसीले गर्दै आएको छ । बेसारको उत्पादन बढ्दै जाँदा माग पनि बढ्दै गएको छ । यद्दपी बजारमा राम्रो प्याकेजिङ खोज्ने प्रचलन पनि भएकाले गुणस्तरीय प्याकेजिङका लागि एनटीएनसी जस्ता संरक्षण साझेदार संस्थाहरुबाट थप सहयोगको अपेक्षा गरिएको सुनारले बताए ।

बेसार खेतीलाई वैकल्पिक खेतीको रुपमा प्रयोग गर्दै आएको कैलासी गाउँको थारु घर ।


अहिले समुहले मधुवन नगरपालिका मात्र नभएर ठाकुरबाबा, गेरुवा, राजापुर नगरपालिका भित्रका किसानको समेत बेसार खरिद गर्न थालेको छ । सुनारका अनुसार अहिले हात्ती बेसार ब्राण्डको माग चारैतर्फ बढ्न थालेपछि बेसार उत्पादन गर्ने किसानहरु यही बेसार बेच्न थालेका छन् ।


त्यसैले बेसार पिध्ने, प्याकेजिङ गर्ने र सुकाउने सोलार मेसिन आवश्यक भएकोले एनटीएनसीले समुहलाई यो अवस्थामा पुरयाएकोले थप सहयोगको पनि अपेक्षा रहेकोे उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here