काठमाडौँ । सप्तरीको कञ्चनरुप नगरपालिका– १० को बस्तीमा प्रवेश गरेको पाटे चितुवाले शुक्रवार साँझ आक्रमण गर्दा पाँच जनालाई घाइते बनाएको छ ।
कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएको पाटे चितुवाको आक्रमणमा परी कञ्चनरुप–१० बस्ने ६० वर्षीया राजवतीदेवी चौधरी, ३७ वर्षीय भरत चौधरी, हिरानन्द चौधरी, महावती चौधरी र सत्यनारायण चौधरी घाइते हुनुभएको छ ।
राजवतीको बाँया तिघ्रा र घुँडामा चोट लागेको छ । उहाँलाई स्थानीय धर्मेश्वर अस्पताल ठेलियामा, दाहिने हातमा चोट लागेका भरत तथा शरीरको बिभिन्न भागमा चोट लागेका हिरानन्द, महावती र सत्यनारायणलाई गोल्डेन अस्पताल विराटनगरमा उपचार गराउन लगिएको छ ।
इलाका प्रहरी कार्यालय कञ्चनरुपको प्रहरी टोली र कोशीटप्पु वन्यजन्तु आरक्ष पथरी पोष्टबाट रेन्जरसमेतको टोलीले स्थानीयवासीको सहयोगमा चितुवालाई जालले छोपी नियन्त्रणमा लिएका छन् । चितुवासमेत घाइते भएकाले उपचारको लागि कोशीटाप्पु वन्यजन्तु आरक्षको कार्यालय कुशाहा लगिएको छ ।