पर्यटकीयस्थल बन्दै बाबा बर्दगोरिया

नवलपरासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–११ केरावानी स्थित बाबा बर्दगोरिया क्षेत्र धार्मिक पर्यटकीयस्थल बनेको छ । भारतको हरिद्वारको झल्को दिने गरी सो क्षेत्रलाई धार्मिकस्थलका रुपमा विकास गर्न योजना अघि बढाइएको छ ।

उक्त क्षेत्रमा धार्मिक संरचनासहित आचार्यकुलम, जडीबुटी प्रशोधन, गौशाला निर्माण, योगको प्रयोगशाला र प्राकृतिक चिकित्सालय स्थापनालगायत कामका लागि योजना अघि बढाइएको हो । शिवभक्त नन्दीकेश्वरको तपोभूमिका नामले परिचित सो धामको दाहिनेतर्फ पानभार नदी र बायाँतर्फ भूमही नदी बग्छन् । उक्त क्षेत्रमा मामीसती सवरिया मन्दिर र अमरपोखरी ताल छ । यही मन्दिरसँग जोडिएको अर्काे मन्दिर हो मामीसती सबरिया मन्दिर । यो मन्दिर सुनवल–११ भँडरीमा पर्दछ ।

बाबा बर्दगोरिया र मामीसती सवरिया, दुवै नाम सुन्दा फरक भए पनि यी दुवै मन्दिरको इतिहास एउटै रहेको पाइन्छ । सो क्षेत्रको धार्मिक पर्यटकीय विकासका लागि सुनवल नगरपालिका, पतञ्जलि योगपीठ नेपाल, पतञ्जलि योग समिति नेपाल र बाबा बर्दगोरिया धाम विकास समितिको सहकार्यमा योजना अघि बढाइएको नगर प्रमुख भीमबहादुर थापा ‘भरत’ले जानकारी दिनुभयो ।

धार्मिक किंवदन्तीका अनुसार यही भडँरीमा हाल दोभान भनेर चिनिने भलुही र पानभार खोलाको नजिकै राजाको दरबार थियो । प्राचीन समयमा हालको भडँरीमा राजाराम नामका राजा बस्दथे । उनका रानी मामीसती र एउटा भाञ्जा पर्शुराम पनि थिए । यहाँ अहिले ठूलो सिमलको रुख छ । दरबार अगाडि तुल्सीको मन्दिर थियो । राजाको नौलाख गाई र ती गाई हेर्ने चरुवा पनि थिए । चरुवा गाईलाई चराउँदै नेपालका विभिन्न ठाउँ र भारतको हस्तिनापुरसम्म पुग्ने गर्दथे । चर्न गएका गाई कहिले छिट्टै त कहिले महीना दिनसम्म पनि फर्किंदैन्थे । चर्न गएका गाई फर्कंदा दरबार आउनुभन्दा पहिले पानी पिउन हालको केरवानीमा अवस्थित अमर पोखरी पुग्थे । अमर पोखरीको पानी खाएपछि अमर भइन्छ भन्ने विश्वास थियो ।

पतञ्जलि योग समिति नेपालका संरक्षक ज्ञानेन्द्रविक्रम महतले उक्त क्षेत्रलाई स्थानीय तहको सहकार्यमार्फत् पूर्णरुपमा धार्मिकस्थलका रुपमा विकास गर्ने योजना रहेको बताउनुभयो । पतञ्जलि योग समिति नेपालका केन्द्रीय प्रभारी एवं वरिष्ठ योग गुरु लवदेव मिश्रले सो क्षेत्रलाई योगको प्रयोगशाला र प्राकृतिक चिकित्सालयका रुपमा विकास गर्ने योजना रहेको बताउनुभयो । बाबा बर्दगोरिया क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा पूर्ण रुपमा विकास गर्न करीब १० वर्ष लाग्ने अपेक्षा गरिएको छ । लामो समय लाग्ने योजना भए पनि भविष्यमा धार्मिक हिसाबले उक्त क्षेत्रको विकास गर्नसके महत्वपूर्ण धार्मिकस्थल बन्ने अपेक्षा गरिएको छ । ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थललाई धार्मिक पर्यटनको केन्द्र बनाउन यहाँ लामो समयदेखि प्रयास गरिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here