हरियाली हुने भयो सुन्धारादेखि दरबारमार्ग

काठमाडौँ । राजधानीको सुन्धारादेखि दरबारमार्गसम्म सडक किनारा हरियाली बनाउने अभियान सुरु गरिएको छ ।

सो अभियान अन्तर्गत सुन्धारादेखि दरबारमार्गसम्म वृक्षरोपण शुरु गरिएको छ । वन तथा वातावरण विभाग, काठमाडौँ महानगरपालिका र नेपाली सेनाको संयुक्त आयोजनामा थालिएको वृक्षरोपणको बिहीवार महानगरका प्रमुख विद्यासुन्दर शाक्यले शुभारम्भ गर्नुभयो ।

प्रमुख शाक्यले हरित शहर बनाउने महानगरपालिकाको अभियान निरन्तर अघि बढ्ने बताउनुभयो । उहाँले सार्वजनिक जग्गामा हरियाली उद्यान निर्माण गर्नेलगायत काममा महानगर निरन्तर लाग्ने बताउनुभयो ।

उहाँले यस्तो अभियान महानगरका ३२ वटै वडामा केन्द्रित रहेको भन्दै महानगरपालिकाले सार्वजनिक विद्यालयलगायत स्थानमा पनि वृक्षरोपण गर्ने कार्यक्रम अघि बढाइएको बताउनुभयो ।

महानगरपालिकाको शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले नेपाली सेना र महानगरपालिकाका बीचमा शहरी स्वास्थ्य, शिक्षा र वातावरणीय सुधारका क्षेत्रमा साझेदारीमा आधारित कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

वातावरण विभागका प्रमुख हरि श्रेष्ठले महानगरले शहर सफा राख्ने अभियानमा निरन्तर जारी रहेको बताउनुभयो । सो अवसरमा सडकको दुवैतर्फ विभिन्न प्रजातिका १६५ बिरुवा रोपण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here