फेरी मौसम बिग्रिने

काठमाडौं । पूर्वमा बनेको न्यून चापीय रेखा र स्थानीय वायुको प्रभावले आगामी तीन दिनसम्म देशभरि नै बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बुधबार रातिदेखि कमजोर रुपमा पूर्वमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको प्रभावले बदलीसँगै हल्कादेखि मध्यम वर्षा गराउने महाशाखाका मौसमविद् मञ्जु बासीले जानकारी दिइन्।

उक्त प्रणली क्रमशः विकसित भई आगामी शनिबार सम्म कायम रहने बताइएको छ। काठमाडौँ उपत्यकामा आज दिउँसो केहीबेर मौसम खुल्ला भई घाम लाग्ने र अन्य स्थानमा भने तत्काल मौसम सफा हुने अवस्था नरहेको मौसमविद् बासीले जानकारी दिइन्।

राति देशको पूर्वी र मध्य भूभागमा आंशिक बदली रही पश्चिमी भू भागका एक दुई स्थानमा मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको बताइएको छ। शुक्रबार देशका मध्य भू भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

शुक्रबार देशका अधिकांश भू भागमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघगर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको औँल्याइएको छ। उच्च हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव ८ डिग्री र अधिकमत तापक्रम २६ दशमलव ६ डिग्री सेल्सियस छ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here