महेन्द्रनगर । विश्वकै ठूलो झुण्डामा देखिने बाह्रसिङ्गा र थोरै क्षेत्रफलमा धेरै पाटेबाघ भएको कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रचार प्रसारका लागि स्थानीय तहले सक्रियता बढाएका छन् ।
तीन सय पाँच वर्गकिलोमिटरमा फैलिएको शुक्लाफाँटा वन्यजन्तु, जैविक विविधताले भरिपूर्ण निकुञ्ज भएपनि त्यसको प्रचारप्रसारले व्यापकता नपाउँदा पर्यटक आगमन न्यून भइरहेका बेला यहाँका स्थानीय तह त्यसको प्रचार र विकासका लागि अग्रसर भएका छन् । यहाँको भीमदत्त नगरपालिका तथा आसपासका अन्य नगरपालिका र गाउँपालिकाले संयुक्त र एकल रुपमा पनि पर्यटन प्रवद्र्धन हुने खालका दर्जनौँ कार्यक्रमका लागि बजेट विनियोजन गरेर कामलाई अघि बढाएका छन् ।
भीमदत्तनगरपालिकाको संयोजनमा यहाँ भएको सात दिने शुक्लाफाँटा पर्यटन महोत्सवमा हालसम्मकै सबैभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकले यहाँको अवलोकन गरे । शुक्लाफाँटाभित्रको संरचना निर्माण, पर्यटकमैत्री नगर र शुक्लाफाँटाको प्रचारप्रसारमा हातेमालो गर्न भीमदत्तनगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले पर्यटन व्यवसायीलाई आग्रहसमेत गर्नुभएको छ ।

उहाँले भीमदत्तनगरमा पर्ने शुक्लाफाँटासँगै एशियाकै लामो महाकाली नदीमा रहेको झोलुङ्गे पुल छेउमा उद्यान बनाउन पनि नगरपालिका बजेटसहित अघि बढिसकेको बताउनुभयो । “उत्तर शिरानमा रहेको धार्मिक पर्यटनको अर्को सम्भावनाको झिलमिला ताल पुग्ने पक्की सडक निमार्णाधीन अवस्थामा छ ।” उहाँले भन्नुभयो, “ताल क्षेत्रमा दृश्य अवलोकन केन्द्र निर्माणदेखि धार्मिक पर्यटनको विकासका योजना अघि बढेका छन् ।” भारतसित सिमाना जोडिएको कञ्चनपुरका पर्यटकीय सम्भावना उजागर गर्न यहाँका सबै नगर र गाउँपालिका लागि परेका छन् ।
पश्चिमी नाका गड्डाचौकीमा डिजिटल सूचना पाटी राख्नेदेखि यहाँका पहाडी जिल्लाका स्थानीय तहसित पनि पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि सहकार्य गर्ने निर्णय भइसकेको नगरपालिकाले जनाएको छ । “समृद्धिका लागि पर्यटन मात्र नभई पर्यटनका लागि सहकार्य गर्न स्थानीय तह तयार छन् ।” नगरप्रमुख विष्टले भन्नुभयो, “पर्यटकीय क्षेत्रको विकास र विस्तारका लागि पछि हटिन्न ।” भीमदत्तनगरपालिकाले नगरक्षेत्रको धार्मिक, पर्यटकीय र ऐतिहासिक क्षेत्र समेटेर वृतचित्र निर्माण गरेको छ ।
त्यसैगरी यहाँको बेदकोट नगरपालिकामा पनि थुप्रै पर्यटकीय क्षेत्र पर्दछन् । पछिल्लो केही वर्षयता निकै चर्चामा रहेको शिवलिङ्गा धार्मिक क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको छ । पर्यटकको चहलपहल बढेसँगै त्यहाँ संरचना निर्माणदेखि सडक सञ्जाल विस्तारका लागि बेदकोट नगरपालिका लागि परेको छ । चुरेफेदमा रहेको धार्मिक पर्यटकीयस्थल ‘शिवलिङ्गा’ले आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ हुन थालेको छ ।
यहाँ दैनिक तीनदेखि पाँचसय पर्यटक अवलोकनका लागि आउने गरेका छन् । वर्र्षौंदेखि माटो र ढुङ्गाको मिश्रणबाट शिव लिङ्गजस्तै देखिने आकारका ठूल्ठूला पहाडबाट प्राकृतिक रुपले बनेको शिवलिङ्गा हेर्न आउने जो कोही पर्यटक पनि उक्त दृश्य देखेर रमाउने गरेको नगरपालिकाका नगरप्रमुख अशोककुमार चन्दको भनाइ छ ।
केही महिनाअघि बेदकोट ताल र लिङ्गा क्षेत्रको अवलोकनका लागि उपराष्ट्रपति नन्दबहादुर पुन यहाँ आउनुभएको थियो । उपराष्ट्रपति पुनले यहाँको शुक्लाफाँटा, झोलुङ्गे पुल लिङ्गा र बेदकोट तालको अवलोकन गर्नुभएको थियो ।

नगरपालिकाले बेदकोट ताल क्षेत्रमा पर्यटकको सुविधाका लागि निर्माण गरेको दृश्यावलोकन केन्द्र सञ्चालनमा आइसकेको छ । चालू वर्षलाई बेदकोट भ्रमण वर्षका रुपमा नगरपालिकाले मनाइरहेको छ ।
त्यसैगरी यहाँको शुक्लाफाँटा नगरपालिकाले पनि पर्यटन प्रर्वद्धनका लागि बजेट बिनियोजन गरेर अघि बढेको प्रवक्ता जगतबहादुर सिंहले जानकारी दिनुभयो । “यहाँ धार्मिक पर्यटनका धेरै गन्तव्य छन् ।” प्रवक्ता सिंहले भन्नुभयो, “तिनको संरक्षण र विकास विस्तारका लागि नगरपालिका सक्रियरुपमा लागेको छ ।” नौवटा स्थानीय तह रहेको कञ्चनपुरका सबै तहले पर्यटनको क्षेत्रमा सक्रियरुपमा योजनासहित अघि बढेका छन् ।
निकुञ्जभित्रै रहेको ५५ वर्गकिलोमिटरमा फैलिएको घाँसै मैदान पनि तराईका संरक्षित क्षेत्रभित्रको सबैभन्दा ठूलो फाँट हो । सोही फाँटमा करीब दुई हजार बढीको सङ्ख्याको बथानमा बाह्रसिङ्गा हेर्न सहजै पाइन्छ । १६ वटा पाटे बाघ र १७ वटा गैँडा रहेको शुक्लाफाँटामा ४५४ प्रजातिका चराचुरुङ्गीको बासस्थान पनि हो ।
झोलुङ्गे पुल मर्मतका लागि रु ५० लाख
झण्डै डेढ दशकअघि दोधारा चाँदनीका स्थानीयवासीको आवागमन सहज बनाउनका लागि महाकाली नदीमा निर्माण गरिएको एशियाकै लामो झोलुङ्गे पुल यसपटक मर्मतसम्भार हँुदैछ ।

आवागमनका लागि बनाइएको भए पनि एक हजार ४५० मिटर लम्बाइ भएको झोलुङ्गे पुल पर्यटकीय गन्तव्य बनेको छ । दैनिक सयौँको सङ्ख्यामा यहाँ पर्यटक पुल अवलोकनका लागि आउने गर्दछ । पूर्वाधार विकास कार्यालय धनगढीका प्रमुख श्याम खड्काले महाकाली नदीको झोलुङ्गे पुल मर्मतका लागि चालू आवमा रु ५० लाख बजेट विनियोजन भएको बताउनुभयो ।
“लागत अनुमान बनाएर अब केही दिनमै ठेक्का प्रक्रियामार्फत् पुल मर्मत शुरु हुन्छ ।” उहाँले भन्नुभयो, “अहिले प्रक्रियागत रुपमा काम अघि बढेको छ ।”