रसुवा । रसुवाको नौकुण्ड गाउँपालिका स्थित फलाँखु खोलामा दुई वटा जलविद्युत् आयोजना निर्माण भईरहेका छन् ।
बेत्रावती हाईड्रोइलेक्टिक कम्पनी र रसुवा हाईड्रोपावरले दुई वटा जलविद्युत् आयोजना निर्माण थालनी गरेको छ । नौकुण्ड गाउँपालिकाको यार्सा र सरमथली क्षेत्रमा १४ दशमल ७ क्षमताको बेत्रावती जदविद्युत् आयोजना र रसुवा हाईड्रोपावर कम्पनीले ५ मेगवाट क्षमताको फलाखुखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको कम्पनीका अध्यक्ष अनिल जोशीले बताउनुभयो ।

बेत्रावती आयोजनाको सुरुङलगायत निर्माणको काम चिनिया कम्पनीले जिम्मा लिएको छ । कुल २ हजार ७०० मिटर लामो टनेल मध्ये १५० मिटर टनेलको काम सम्पन्न भईसकेको छ ।
आयोजनाको पावरहाउस, ड्यामको काम भइरहेको छ भने सडक निर्माणको काम सम्पन्न भएको आयोजनाका निर्देशक विसम रिमालले बताउनुभयो । आयोजना यार्साको थाङदोर ड्याम निर्माण गरी २ हजार ७०० मिटर टनेल बन्ने र गुम्चेत आउटलेट रहने छ । १ हजार ८०० मिटर पेनस्टेक पाईप हुँदै ६२० मीटर रहने रिमाले बताउनुभयो ।
चिनियाँ कम्पनीले काम गरिरहेको यस आयोजना लागत प्रति मेगावाट १९ करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ । अतः आयोजनाको कुल २ अर्ब ८० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । त्यसैगरि रसुवा हाईड्रोपावर कम्पनीले ५ मेगावाट क्षमताको फलाँखुखोला जलविद्युत् आयोजना निर्माण सुरु गरेको छ । आयोजनाका निर्देशक विकास मोक्तानका अनुसार नौकुण्ड गाउँपालिकाको सरमथलीको साँगाचौमा ड्याम रहने र ८०० मिटर टनेल हुनेछ ।
दनुस्वारा गाउँ माथि आउटलेट रहने दनुश्वाराको पुल नजिकै विद्युत गृह रहने छ । आयोजनाको सडक, जग्गा मुआब्जा बितरण समाप्त लगायतका काम सम्पन्न भएको छ । आयोजनाको लागत १९ करोड रुपैयाँ लाग्ने अनुमान रहेको छ । अतः कुल लागत ९५ करोड रुपैयाँ अनुमान गरिएको छ । आयोजना विद्युत २ वर्ष भित्रमा विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको छ ।
स्थानीय तहमा विद्युत् आयोजनाको काम सुरु भएपछि स्थानीय उत्साही भएको नौकुण्ड गाउापालिका उपाध्यक्ष सिर्जना लामाले भन्नुभयो “ स्थानीयले रोजगारी पाउने तथा सेयरमार्फत पाउने गर्ने समेत अवसर प्राप्त हुने भएकोले आयोजनाबाट स्थानीयले लाभ पाउने छन् ।”
रसुवामा मैलुङ ५ मेगावाट र चिलिमे २२ मेगावाट क्षमताको दुई आयोजना निर्माण सम्पन्न भएका छन् भने दर्जन बढि आयोजना सञ्चालन भईरहेका छन् ।