प्लाष्टिक झोलामा प्रतिबन्ध लगाउन माग

काठमाडौँ । राष्ट्रियसभा आइतवारको बैठकमा सांसदले पुनः प्रयोग नहुने प्लाष्टिकका झोला प्रतिबन्ध गर्ने राजपत्रको सूचना तत्काल कार्यान्वयन गर्न ध्यानाकर्षण प्रस्ताव राख्नुभएको थियो ।

सांसदत्रय पौडेल, रामनारायण बिंडारी र कालीबहादुर मल्लका तर्फबाट २० गुणा ३५ इञ्च साइज र ४० माइक्रोन मोटाइसम्मका प्लाष्टिकका झोलामा प्रतिबन्ध लगाउन माग गर्दै प्रस्ताव प्रस्तुत गरिएको थियो । सांसदले उक्त प्रस्तावका सम्बन्धमा राजपत्रमा प्रकाशित सूचनाको प्रभावकारी कार्यान्वयन र अनुगमन अवस्थाका बारेमा जानकारी गराउन वन तथा वातावरणमन्त्री शक्तिबहादृुर बस्नेतको ध्यानाकर्षण गराउनुभएको थियो ।

सांसदको ध्यानाकर्षण प्रस्तावका सम्बन्धमा जवाफ दिँदै मन्त्री बस्नेतले पुनःप्रयोग नहुने प्लाष्टिकमा प्रतिबन्ध लगाउने सम्बन्धमा नीति परिमार्जन गर्दै दृढताका साथ अघि बढेको बताउनुभयो । उहाँले देशभर ३० माइक्रोनभन्दा कमको प्लास्टिक प्रतिबन्ध गर्ने व्यवस्था रहेको र उपत्यकामा ४० माइक्रोनभन्दा कमको प्लास्टिक झोला प्रयोग गर्न नपाइने बारेमा जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “वैकल्पिक व्यवस्थाका रूपमा कपडाका झोला प्रयोग गर्ने, घटाउने, पुनः प्रयोग र प्रशोधीकरण गर्ने व्यवस्था छ, लागू गर्नलाई नै सूचना प्रकाशन गरिएको हो, यसबीचमा १९ उद्योगलाई कारवाही भएको छ, जागरणका लागि प्रवद्र्धनात्मक एवं प्रचारप्रसारका काम अघि बढाइएको छ ।”

उत्पादनका सम्बन्धमा पनि बोल्नुपर्ने आवश्यकता महसुस गरेर कानून संशोधनको प्रक्रियामा रहेको मन्त्री बस्नेतले बताउनुभयो । फोहरमैला व्यवस्थापन र जलवायु परिवर्तनमा पनि असर गर्ने भएकाले उपयुक्त व्यवस्थापन गरिने मन्त्री बस्नेतको प्रतिबद्धता थियो । प्रस्ताव प्रस्तुत गर्दै सांसद पौडेलले ४० माइक्रोनभन्दा कमका प्लाष्टिकका झोला उत्पादनलाई नै नियन्त्रण गरिनुपर्ने बताउँदै प्लाष्टिकको अधिक प्रयोगले वातावरण र मानवीय स्वास्थ्यमा गम्भीर असर पु¥याउने गरेको धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “प्लाष्टिकले देशभरका नदी, शहर र बजारलाई प्रदूषित बनाएको छ, फोहरका रूपमा फालिने प्लाष्टिक जलाइँदा मानवीय स्वास्थ्यमा असर गर्ने, क्यान्सरजस्ता भयानक रोगसमेत लाग्न सक्छ ।”

तत्कालीन विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयले २०७१ साल चैत १८ गते नेपाल राजपत्रमा सूचना प्रकाशन गरी उल्लिखित साइजका प्लाष्टिकका झोलाको आयात, भण्डारण, बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाउने जनाएको थियो । प्रकाशित सूचना कार्यान्वयनमा नआई बजार र सडकपेटीमा खुल्लमखुला बिक्रीवितरण र प्रयोग भई वातावरणमा प्रदूषण बढाइरहेको प्रस्तावमा उल्लेख छ ।

सांसद पौडेलले राजधानीमा जताततै प्लाष्टिकका झोलाले असर गरेको, छिटो जलवायु परिवर्तमा पनि यसले सहयोग गरेको तथा युगाण्डा र सोमालिया जस्ता देशले पनि यसमा प्रतिबन्ध लगाएको जानकारी दिनुभयो । उहाँले काठमाडौँमा दिनदिनै प्लाष्टिकको झोला प्रयोग बढ्दै गएको र इलाम नगरपालिकाले आफैँ प्लाष्टिक झोलामा प्रतिबन्ध लगाएको जानकारी दिँदै २०७१ सालमा प्रकाशित सूचना कार्यान्वयन नभएको र खारेज पनि नभएका सम्बन्धमा ध्यानाकर्षण गराउनुभएको थियो ।

प्लाष्टिकका वार्षिक दश लाखभन्दा बढी झोला एक पटक मात्र प्रयोग भएर फालिने गरेको तथ्याङ्क सांसद राईले प्रस्तुत गर्दै प्लाष्टिक माटामा परिणत हुन ५०० वर्षसम्म लाग्छ भन्नुभयो । त्यस्ता प्लाष्टिकको प्रयोग घटाउने, पुनः प्रयोग गर्ने र पुनः प्रशोधीकरण गर्नुपर्ने प्रस्तावमा उल्लेख छ । बैठकमा सांसद बिंडारीले फोहर व्यवस्थापनका लागि सडकको दायाँबायाँ किनारमा ठूला कण्टेनर राखिनुपर्ने बताउनुभयो । उहाँले पुनःप्रयोग नहुने प्लाष्टिकको उत्पादनमा रोक लगाउने विषय राजपत्रको सूचनामा उल्लेख किन नभएको भन्दै प्रश्न गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here