२० दिनमा सकिदै गौतम बुद्ध बिमानस्थलको कालोपत्रे

भैरहवा । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग कालोपत्रेको काम २० दिनमा सकिने भएको छ ।

विमानस्थल आयोजनाका अनुसार चार तहसम्म निर्माण हुने धावनमार्गको कालोपत्रे गर्ने काम अब अन्तिम चरण मात्रै बाँकी छ ।

यसबीचमा वर्षा तथा हावाहुरीका कारण कालोपत्रे गर्न समस्या भएको आयोजनाले जनाएको छ । धावनमार्ग तीन किलोमिटर लम्बाइको छ । अन्तिम सतहको कालोपत्रे साढे सात सेन्टिमिटरको हुनेछ ।

धावनमार्गको अन्तिम चरणको कामसँगै ‘ट्याक्सी वे’ पनि कालोपत्रे गरिने विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिनुभयो । “कुनै बाधा अवरोध नआए २० दिनमा धावनमार्ग निर्माण सम्पन्न हुन्छ”, उहाँले भन्नुभयो ।

धावनमार्ग ‘ट्याक्सी वे’ सँग जोडिने छ । धावनमार्ग पूर्णरूपमा तयार भएपछि आपतकालीन अवस्थामा काठमाडौँमा अवतरण हुन नसक्ने अन्तर्राष्ट्रिय उडानलाई यहाँ अवतरण गराउन सकिने आयोजना प्रमुख अधिकारीले बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय उडान तथा अवतरणका लागि आवश्यक पर्ने ‘आईकाओ’ बाट प्रमाणपत्र प्राप्तिलगायत सम्पूर्ण कार्य पनि सन् २०१९ भित्र पूरा हुने जानकारी दिनुभयो ।

सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई लक्षित गर्दै सोही वर्षको पहिलो महिनाभित्रै अन्तर्राष्ट्रिय उडान भर्ने अधिकारीले जानकारी दिनुभयो तर त्यसअघि विमानस्थलमा परीक्षण उडान सम्पन्न गराउने योजना रहेको उहाँले बताउनुभयो । विमानस्थलका अन्य भौतिक पूर्वाधार निर्माण कार्य पनि समानान्तर रूपमा भइरहेका छन्, अधिकारीले भन्नुभयो, तोकिएको अवधिभित्र भौतिक संरचना निर्माण सम्पन्न हुन्छ ।

अहिले विमानस्थलको धावनमार्गमा अन्तिम तहको कालोपत्रे, टर्मिनल भवन, पानी ट्याङ्की, कन्ट्रोल टावरलगायतको काम धमाधाम भइरहेको छ । टर्मिनल भवनको छाना हाल्न बाँकी छ । छानाका सामान आइसकेका र केही दिनभित्रै छाना हाल्ने काम सुरु हुने प्रमुख अधिकारीले बताउनुभयो । त्यस्तै टर्मिनल भवनको आगमन र प्रस्थान एवं प्रशासनिक भवनको पनि निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । त्यहाँ विद्युत् जडान र अन्य काम पनि भइरहेको छ ।
सात तलाको हुने कन्ट्रोल टावर निर्माण भइसकेको छ । फिनिसिङ तथा उडान, अवतरणमा प्रयोग हुने विद्युतीय उपकरण जडान गर्न बाँकी रहेको आयोजनाले जनाएको छ । विमान पार्किङ स्थल (एप्रोन)को काम पूरा भइसकेको छ । विमानस्थलको भौतिक निर्माण कार्य ७० प्रतिशत सम्पन्न भएको आयोजना प्रमुख अधिकारीले जानकारी दिएको गोरखापत्रले समाचार छापेको छ ।

कुल छ अर्ब २२ करोड ५१ लाख २० हजार २२७ रुपियाँ लगानीमा निर्माणाधीन यस विमानस्थलमा एसियाली विकास बैङ्क (एडीबी) को ४०.५ प्रतिशत ऋण तथा १८ प्रतिशत अनुदान रहेको छ । त्यस्तै ओपेक फन्ड फर इन्टरनेसनल डेभलपमेन्टको ३०.५ प्रतिशत र थप ११ प्रतिशत तथा मूल्य अभिवृद्धि कर नेपाल सरकारले लगानी गर्नेछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने सक्ने सबै प्रकारका जहाज यो विमानस्थलमा अवतरण गर्न सक्छन् । यसको दीर्घकालीन लक्ष्य दैनिक १६ हजार यात्रुलाई सेवा दिने रहेको छ । दैनिक १६ हजारको दरले वार्षिक करिब ६० लाख यात्रु यो विमानस्थल भएर यात्रा गर्ने आकलन छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here