बेशीसहर । लमजुङको दोर्दीखोलामा निर्माणाधीन ५४ मेगावाटको सुपर दोर्दी जलविद्युत् आयोजना ‘ख’ मा स्थानीय बासिन्दाले लगानी गरेका छन् । आयोजनाका अनुसार सो आयोजनामा जिल्लाबासीले २५ करोड रुपैयाँ भन्दा बढी लगानी गरेका छन् ।
आयोजनाको प्रवद्र्धक सुपरदोर्दी इन्भेस्टमेन्ट कम्पनी लिमिटेडमार्फत जिल्लाका बासिन्दाले सो आयोजनामा लगानी गरेका छन् । प्रवद्र्धक कम्पनीको स्वपुँजी (इक्विटी) को १० प्रतिशत हुन आउने रकम जिल्लाका बासिन्दले लगानी गरेको कम्पनीका अध्यक्ष इजनकुमार बरालले बताउनुभयो ।
उहाँका अनुसार प्रवद्र्धकको स्वपुँजी ३० प्रतिशत अर्थात करिब दुई अर्ब ५० करोड रुपियाँ रहेको छ । यसको १० प्रतिशत रकम जिल्लाका ९१० जनाबाट जुटाइएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार चालु आर्थिक वर्षमा पिपुल्स हाइड्रो पावर कम्पनी प्रालिबाट लिमिटेडमा गैसकेको र सुपरदोर्दी इन्भेस्टमेन्ट कम्पनीलाई उक्त कम्पनीमा गाभ्ने तयारी भइरहेको छ । कम्पनीका सबै सेयरधनीहरु अब मूल कम्पनीको सेयरधनी बनाई आयोजनाबाट प्राप्त हुने प्रतिफल उपलब्ध गराउने कार्यमा दुबै कम्पनीको बीचमा सम्झौता भएको र त्यसलाई कानुनी मान्यता दिने प्रक्रियामा रहेको उहाँले बताउनुभयो ।
पिपुल्स हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको उक्त आयोजना साढे आठ अर्ब रुपैयाँमा निर्माण हुन लागेको हो । आयोजनामा नबिल बैङ्कको नेतृत्वमा नौ वटा बैङ्कले ७० प्रतिशत लगानी गर्ने छन् । आयोजना सत प्रतिशत स्वदेशी लगानीमा निर्माण हुन लागेको प्रवद्र्धक पिपुल्स हाइड्रोपावरका प्रबन्ध निर्देशक केशवबहादुर रायमाझीले बताउनुभयो ।
पिपुल्स हाइड्रो पावर कम्पनी लिमिटेडका अध्यक्ष उदय नेपाली श्रेष्ठले भूकम्प र नाकाबन्दीका कारण आयोजना निर्माणमा केही ढिलाइ भए तापनि तोकिएको समयमा निर्माण सक्ने बताउनुभयो ।
आयोजनाको मूल सुरुङ सात किलोमिटरको रहने छ । सबै गरेर कुल खन्नुपर्ने नौ किलोमिटर २७८ मिटर सुरुङमध्ये पाँच किलोमिटर २२९ मिटर खनिसकेको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार सुरुङको काम ५६ प्रतिशत सकिएको छ ।
हाइड्रो मेकानिकलतर्फ टेन्डर लागिसकेको र इलेक्ट्रो मेकानिकलको टेन्डर आह्वान गरी मूल्याङ्कन गरेर हस्ताक्षरको कार्य अन्तिम चरणमा पुगेको इन्भेस्टमेन्ट कम्पनीको चौथौ साधारण सभामा बताइएको थियो ।
दोर्दी गाउँपालिका ७ ढोडेनी र ७ फलेनीबीच बग्ने दोर्दी खोलामा निर्माणाधीन उक्त अयोजना २०७१ फागुन २० गते नेपाल विद्युत् प्राधिकरणसँग हिउँदमा ४ रुपैयाँ ८० पैसा र बर्खायाममा ८ रुपैयाँ ४० पैसामा विद्युत् खरिदविक्री सम्झौता (पीपीए) भएको थियो ।
उक्त आयोजनाको बाँध ढोडेनीको तुम्सीमा रहने आयोजनाले जनाएको छ । सुरुङमा पनेस्टक पाइपमार्फत पानी ल्याएर ढोडेनीको ताँजे गाउँको तल्लो भेग लोँदो र दोर्दी खोलाको तीरमा भूमिगत विद्युत् गृह निर्माण गरी विद्युत् उत्पादन गरिने भएको छ ।
नदीको बहाबमा आधारित (रन अफ द रिभर) प्रकृतिको उक्त आयोजनाको ग्रस हेड ६४० मिटरको हुनेछ । आयोजनाका अनुसार वार्षिक २८ करोड ६४ लाख युनिट विद्युत् उत्पादन हुनेछ ।