३९ अर्ब कर तिर्न एनसेल लाई ७ दिने म्याद

काठमाडौँ । ठूला करदाता हरुको कारोवार हेर्ने ठूला करदाता कार्यालयले एनसेल कम्पनीले पूँजीगत लाभकर ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार ५६६ रुपैयाँ ७१ पैसा कर निर्धारण गरी सात दिनभित्र बुझाउनु पर्ने निर्णय गरेको छ ।

एनसेल प्रकरण नेपालको सबैभन्दा बढी चर्चामा रहेको र सबैभन्दा बढी रकम नेपाल सरकारलाई तिर्नुपर्ने कारोवारको विषय हो ।

सर्वोच्च अदालतले तीन महिनाभित्र एनसेलको पूँजीगत लाभकर निर्धारण गरी उठाउन सरकारलाई आदेश दिएपछि ठूला करदाता कार्यालयले मंगलबार प्रेस बिज्ञप्तिमार्फत कर निर्धारण गरेको जनाएको छ । कर कार्यालयले एनसेललाई यसबारे पत्रमार्फत जानकारी गराइसकेको पनि जनाएको छ।

अहिलेसम्म एनसेलले २३ अर्ब भन्दा बढी कर बुझाइसकेको भन्दै करदाता कार्यालयले अब सात दिनभित्र थप ३९ अर्ब बुझाउनुपर्ने निर्णय गरेको हो।

टेलिया सोनेराले एक्जियटालाई एनसेलको ८० प्रतिशत शेयर बिक्री गरेको थियो। तर त्यसको लाभकर तिर्नु नपर्ने भन्दै हालसम्म एक्जियटाले आनाकानी गर्दै आएको छ।

यसअघि एनसेलले तिरिसकेको कर मिलान गरी अब तिर्नुपर्ने रकम कर निर्धारण गरेको हो।
यसबारे अदालतमा मुद्दा परेपछि सर्वोच्चका प्रधानन्यायाधिससहित पाँच जना न्यायाधिशको पूर्ण इजलासले एनसेल र एक्जियटाले लाभकर तिर्नु पर्ने फैसला सुनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here