काठमाडौँ । वन तथा वातारण मन्त्री ऐनबहादुर शाही ठकुरीले जडिबुटीको समुचित विकास गर्न सके स्वदेशमा रोजगारी सिर्जना गरी मुलुकलाई समृद्ध बनाउन सकिने धारणा राखेका छन् ।
जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीले गरेको कार्यप्रगति जानकारी लिने क्रममा आइतबार मन्त्री ठकुरीले नेपालका बहुमूल्य जडिबुटीलाई कच्चा पदार्थका रुपमा निर्यात गर्नुभन्दा पनि प्रशोधन गर्दै बढी मूल्यमा निकासी गर्ने तर्फ लाग्नु पर्ने बताए ।
कर्णालीमा प्रशस्त जडिबुटी छन्, तिनको विकास, प्रवर्धन र सदुपयोग गरेर कर्णाली प्रदेशलाई मात्र होइन, देशकै आर्थिक विकासमा टेवा पुग्न सक्ने कुरालाई ध्यान दिन जरुरी छ ।
मन्त्री ठकुरीले बढ्दो वेरोजगारीको समस्यालाई सम्बोधन गर्न पनि जडिबुटी जस्ता प्राकृतिक सम्पदाको सदुपयोग गर्नुपर्ने र त्यसले मुलुकलाई समृद्धिको बाटोतर्फ लैजान मद्धत गर्ने धारणा राखे ।
नेपालकै जडिबुटीबाट रुघाखोकी, ज्वरो लगायतका बिरामीलाई प्रयोग गरिने ‘सञ्चो’ ब्राण्ड अन्तर्राष्ट्रिय बजारसम्म पुग्न सफल भएको भन्दै मन्त्री ठकुरीले आगामी दिनमा कम्पनीले आफ्ना उत्पादनलाई बिबिधिकरण गरी गुणस्तरीयता प्रति ध्यान दिन पनि निर्देशन दिए ।

कर्णालीमा ध्यान दिन जरुरी
पाँच औले, सुगन्धवाल, यार्सागुम्बा लगायतका बहुमूल्य जडिबुटीको खानी मानिने कर्णाली प्रदेशलाई जडिबुटीको पकेट क्षेत्र घोषणा गरी जडिबुटीको विकास र प्रवर्धनको कामलाई सरकारले प्राथमिकतामा राखेको उनले बताए ।
उनले भने, ‘‘जहाँ जे सम्भावना छ, त्यसलाई अवसर मानेर काम गर्न सके, मुलुकको गरिवी हटाउन सजिलो हुन्छ । कर्णालीमा प्रशस्त जडिबुटी छन्, तिनको विकास, प्रवर्धन र सदुपयोग गरेर कर्णाली प्रदेशलाई मात्र होइन, देशकै आर्थिक विकासमा टेवा पुग्न सक्ने कुरालाई ध्यान दिन जरुरी छ ।’’
जल, जङ्गल, जडिबुटीको खानी रहेको कर्णाली प्रदेशको सम्भावनाको पहिचान गर्नुपर्ने बताउँदै मन्त्री ठकुरीले भने, ‘‘अब यी चिजहरु खेर जान दिनु भएन, हाम्रा नीति, कार्यक्रम तथा योजनाले हालसम्म सम्बोधन गर्न नसकेको भएपनि आउँदा दिनमा सम्बोधन गरिनेछन् ।’’
मध्यवर्ती क्षेत्रका बासिन्दाबाट वन्यजन्तुले बालीनाली हानी नोक्सानी गरिदिएको गुनाशो जहिले पनि आउने गरेको छ । ती क्षेत्रमा वन्यजन्तुले नखाने मेन्था खेतीलाई बिस्तार गर्न सके किसानको आम्दानी पनि हुने र कम्पनीलाई पनि सहज रुपमा कच्चा पदार्थ उपलब्ध हुने भएकाले अब मध्यवर्ती क्षेत्रमा मेन्था खेतीलाई प्रवर्धन गर्नुपर्छ । त्यसका लागि मन्त्रालय सकारात्मक छ ।
जडिबुटी कम्पनीले हाल प्रत्यक्ष रुपमा उपभोग गर्न सकिने सञ्चो, बाम, सञ्चो जटाकेश तेल, हिमालय मसाज आयल लगायतका वस्तुहरु र बिभिन्न औद्योगिक प्रतिष्ठानले प्रयोग गर्न सकिने तेलहरु (इसेन्सिएल आयल) गरी दुई किसिमका वस्तुको उत्पादन गर्दै आइरहेको छ । प्रत्यक्ष उपभोग हुने उत्पादनको नेपाल भित्र प्रशस्त बजार भएपनि औद्योगिक प्रतिष्ठानको कच्चा पदार्थको रुपमा प्रयोग हुने वस्तुलाई अन्तर्राष्ट्रिय बजारसम्म लैजान पनि निर्देशन दिए ।

मध्यवर्ती क्षेत्रमा मेन्थालाई प्रवर्धन
कम्पनीले आफ्ना उत्पादनमा मेन्थालाई प्रमुख कच्चा पदार्थको रुपमा प्रयोग गर्दै आइरहेको छ । मन्त्री ठकुरीले सो अवसरमा संरक्षण क्षेत्र वरीपरीका मध्यवर्ती क्षेत्रमा मेन्थाको खेती विस्तार गर्ने कार्ययोजना पेश गर्न पनि निर्देशन दिए ।
मन्त्री ठकुरीले भने, ‘‘मध्यवर्ती क्षेत्रका बासिन्दाबाट वन्यजन्तुले बालीनाली हानी नोक्सानी गरिदिएको गुनाशो जहिले पनि आउने गरेको छ । ती क्षेत्रमा वन्यजन्तुले नखाने मेन्था खेतीलाई बिस्तार गर्न सके किसानको आम्दानी पनि हुने र कम्पनीलाई पनि सहज रुपमा कच्चा पदार्थ उपलब्ध हुने भएकाले अब मध्यवर्ती क्षेत्रमा मेन्था खेतीलाई प्रवर्धन गर्नुपर्छ । त्यसका लागि मन्त्रालय सकारात्मक छ ।’’
सो अवसरमा मन्त्री ठकुरी तथा वन तथा वातावरण राज्यमन्त्री रुपा विकलाई कम्पनीका महाप्रवन्धक संगिता यादवले जडिबुटी कम्पनीको वर्तमान अवस्था, भावी कार्ययोजनाका बारेमा जानकारी दिइन् । कम्पनीको औद्योगिक योजना, मेसिन उपकरण, उत्पादन विधि, गुणस्तरीयता लगायतका विषयमा अवलोकन गरियो ।