फेरी रोकियो नलगाड जलविद्युतको काम

जाजरकोट । जाजरकोट नलगाड नगरपालिका–७ दल्लीमा निर्माण हुन थालेको नलगाड जलविद्युत् कम्पनीको सुरुङमार्गको काम रोकिएको छ ।

तीन सय ४५ मिटर लामो भूमिगत सुरुङ निर्माण गरी माटोको अवस्था पत्ता लगाउन विगत ३५ महीनादेखि काम शुरु भएकामा अहिले रिप, रिङ सुरुङभित्र माटो, ढुङ्गा अड्याउने साधन नहुँदा काम रोकिएको छ ।
एकतीस महिनाभित्र डिपिआर विस्तृत योजना प्रतिवेदन तयार पारेर कम्पनीलाई दिनुपर्ने हो तर निर्धारित अवधिमा छ महीना थपे पनि सो मिति सकिन लाग्दासम्म कामले गति लिनसकेको छैन ।

विद्युत गृह निर्माणका लागि ३४५ मिटर सुरुङ निर्माण गरी माटोको अवस्था पत्ता लगाउन काम शुरु भए पनि मिति सकिन दुई महीना बाँकी रहँदासम्म १८५ मिटर मात्र निर्माण गरिएको आयोजनाका इञ्जिनीयर पदम थापाले बताउनुभयो ।

इञ्जिनीयर थापाले भन्नुभयो, “डिपिआर तयार गर्न बारेकोट गाउँपालिकाको अँधेरीखोलामा चार वटा ६० मिटर गहिराइका प्वाल पार्नुपर्ने भए पनि अहिलेसम्म दुई प्वाल ४० मिटर गहिराइमा छेडिएको छ भने बाँकी दुई प्वाल २५ मिटर छेडिएको छ, ३५ मिटर अझै छेड्न बाँकी छ” । स्मेक कम्पनीले सेन्चुरी कन्स्ट्रक्सन प्रालि सानेपा ललितपुरलाई भूमिगत प्वाल पर्ने जिम्मा दिएअनुसार काम भएको कन्स्ट्रक्सनका प्रमुख वसन्त डिसीले बताउनुभयो ।

५० भन्दा बढी माटो, ढुङ्गा अड्याउने रिप, रिङ मेसिन आवश्यकता पर्ने भएकाले सो मेसिन नहुँदा अहिले काम रोकिएको प्रमुख डिसीले जानकारी दिनुभयो ।
हप्ता दिनभित्र सबै रिप निर्माण हुने, त्यसपछि मात्र काम शुरु हुने बताउनुभयो । निर्माणका लागि तोकिएको मिति आउन दुई महीना मात्र बाँकी रहँदासम्म धेरै काम बाँकी रहेकाले निर्माण हुन समस्या रहेको नलगाड सरोकार समितिका अध्यक्ष तथा सांसद गणेशप्रसाद सिंहले बताउनुभयो ।

उहाँले भन्नुभयो, “काम निरन्तर नगर्दा र ढिलासुस्ती गरिरहेकाले तोकिएको मितिमा काम पूरा नहुने देखिन्छ, बाँधतिर जाने सडकदेखि सुरुङ निर्माणको काममा सम्बन्धित निकायको उदासीनताले जाजरकोटवासी दुखी हुनुपर्ने अवस्था सिर्जना भएको छ ।”

नलगाड जलविद्युत् कम्पनी बाँध निर्माणस्थल बारेकोट गाउँपालिका अँधेरीखोला जानका लागि निर्माणकार्य भइरहेको सडक निर्माण व्यवसायीले गतिमा काम नगर्दा समस्या भएको सांसद सिंहले सदरमुकाम खलङ्गामा पत्रकार सम्मेलन गरेर जानकारी दिनुभयो ।

पहुँचमार्गको काम पूरा गर्न अझै कडा चट्टान भएको दुई किलोमिटरभन्दा बढी भूभाग बाँकी रहेको छ भने खारास्थित नलगाड नदीमा निर्माण हुने भनिएको पुल शुरु नै गरिएको छैन । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने भनी थालिएको काम पाँच वर्ष बित्न लाग्दासम्म पूरा हुन नसकेको सांसद सिंहले बताउनुभयो ।

बारेकोट गाउँपालिकाको अँधेरीखोलामा जलाशययुक्त बाँध निर्माण गरी भूमिगत सुरुङमार्फत नलगाड नगरपालिका–७ दल्लीमा विद्युत् उत्पादनगृह निर्माण गर्ने लक्ष्य लिइएको छ । कालीमाटी खन्टाकुरा, सिके हुँदै अँधेरीखोला सडकको लम्बाइ साढे २२ किलोमिटर र कालीमटी, खारा, लैखम हुँदै अँधेरीखोलाको लम्बाइ साढे १० किलोमिटर रहेको कम्पनीले जनाएको छ ।
बाँधस्थल अँधेरीखोलादेखि दल्ली विद्युत् उत्पादनगृहसम्मको सुरुङमार्गको लम्बाइ आठ किलोमिटर निर्माण गर्नुपर्ने प्राविधिक अनुमान रहेको छ ।

ताँसुगाड बीचमै अलपत्र

त्यस्तै नलगाड जलविद्युत् कम्पनी निर्माणका लागि आवश्यक विद्युत् उत्पादन गर्ने उद्देश्यले निर्माण गर्ने भनिएको ताँसुगाड जलविद्युत् आयोजनाको डिपिआर निर्माणकार्य अलपत्र परेको छ । डिपिआर निर्माणको जिम्मा लिएको डिजाएड कन्सल्टेन्ट नयाँ बानेश्वरले बीचमै काम छाडेर सम्पर्कमा नआएपछि समस्या भएको हो ।

सो कामका लागि रु ८८ लाखमा ठेक्का लिएर रु ४३ लाख रकम भुक्तानी लिएको र बाँकी रकम नलिएरै सम्पर्कमा नआएको सरोकार समितिका अध्यक्ष गणेशप्रसाद सिंहले बताउनुभयो । कन्सल्टेन्टका प्रमुख दीपेन्द्र बमसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुनसकेको छैन ।

ताँसुगाड जलविद्युत् आयोजनाबाट चार दशमलव पाँच मेगावाट विद्युत् उत्पादन गरेर नलगाड जलविद्युत् कम्पनी निर्माण गर्ने लक्ष्य राखिएको छ । दुई वर्षभित्र प्रतिवेदन बुझाउने सम्झौता भए पनि डिजाएडले पाँच वर्ष पूरा भए पनि प्रतिवेदन बुझाएको छैन ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here