काठमाडौँ । भनिन्छ, आइपरे ढुंगा पनि चपाइन्छ । जन्मजात सक्षम, दक्ष कोही पनि हुदैनन्, शिक्षा, संस्कार, अनुभव अनि बेलाबखत आइपर्ने जिम्मेवारीले हरेकलाई सक्षम र दक्ष बनाउँदै जान्छ । जात, लिङ्ग, रङ, उचाई, मोटाई तथा वर्ग क्षेत्रका आधारमा कसैको क्षमता र दक्षतको मापन गर्न सकिदैन । एउटा सत्यता के हो भने जिम्मेवारी दिए ‘देर होगी अन्धेर नही होगी’ भनेझैँ ढिलो चाँडो कुनै पनि व्यक्तिकम त्यो जिम्मेवारी वहन गर्न क्षमताको विकास गराउन सकिन्छ ।
सन्दर्भ नेपालको संरक्षणमा महिला कर्मचारीको सहभागिताको हो । संरक्षण कार्य आफैमा जटिल विषय हो । तराईको उष्ण हावापानी देखि लिएर उच्च हिमाली बरफ जम्ने धुरासम्म काम गर्नुपर्ने कुरालाई ‘कम्ता आँकलन’ गर्न हुदैन ।
पछिल्ला चरणमा वन विज्ञान पढे, लेखेका महिलाको आकर्षणको विषय संरक्षण क्षेत्र पनि हुँदै आएको छ । माउते, गेम स्काउट, रेञ्जर, संरक्षण अधिकृत हुँदै सहसचिवसम्म संरक्षण क्षेत्रमा लागेका महिलाले आफ्नो जिम्मेवारी पूरा गरिसकेको छन् । वन विज्ञान पढेर नेपाल सरकारको सचिव पदमा हालसम्म पुग्ने भाग्यमानी महिला हामीले पाउन नसकेपनि केही वर्षभित्र त्यो अवसर पनि हामीले पाउने सम्भावना देखिदैछ ।
यस पटक ‘नेपालकथा’ ले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग अन्तर्गत रहेका बिभिन्न कार्यालयमा कार्यरत महिला रेञ्जरहरुका विषयलाई उठान गर्ने जमर्काे गरेको छ । फिल्डमा अग्रमोर्चामा खटिने व्यक्ति रेञ्जर पनि हो । निकुञ्ज प्रशासन र समुदायबीचको ‘सेतु’को भूमिका खेल्ने प्रमुख जिम्मेवारी रेञ्जरको हुन्छ । उनै फ्रन्ट लाइनका ‘अनुशासित पहरेदार’ रेञ्जरहरुका हिम्मतिला अनुभव र आँटिला प्रतिवद्धता यहाँ प्रस्तुत गरेका छौँ ।
ढुक्कसँग जिम्मेवारी पुरा गर्न सक्छु
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा जागिर सुरु गरेपछि सुधा ढुंगानाको पहिलो पोष्टिङ ढोरपाटन शिकार आरक्षमा भयो । भर्खर जागिर खाँदाको एउटा फरक अनुभूति त आफुभित्र थियो नै, उकाली ओराली हिड्दा हिड्दै, दिनभरी थाक्दा थाक्दै दुई वर्ष त्यहाँ बितेको उनलाई पत्तै भएन । पोखराबाट बागलुङ बजार, त्यहाँबाट हिडेरै हटिया अनि हटियाबाट बुर्तिबाङसम्को पैदल यात्रा । त्यहाँबाट पनि उकालो हिडेर बल्ल जागिर खाने कार्यालय पुग्नुपथ्र्याे उनले जागिर खाँदा । यसले सुधाको साहस अनि संरक्षणप्रतिको समर्पणलाई पनि छयाङ्ग देख्न सकिन्छ ।

ढोरपाटन पछि उनको दोस्रो पाठशाला बन्यो अन्नपूर्ण संरक्षण क्षेत्र । जहाँ सरकारी कर्मचारीका नाउमा उनी एक्लो वृहस्पति थिइन् । त्यो पनि एनटीएनसीले मुद्धा मामिला हेर्न नमिल्ने भएकाले एक्यापमा पर्ने मुद्धा समाल्ने जिम्मेवारी उनकै काँधमा थियो । पाँच वर्ष त्यहाँ बिताएकी सुधाका लागि एक्यापको मुद्धा फाँट जीवनलाई अझ उपयोगी बनाउने ‘टयुसन कक्षा’ जस्तै भयो । उनले नेपालकथासँग भनिन्, मैले जे सिके, जति ज्ञान कमाए, त्यो एक्यापको आँगनमा कमाए । त्यो ज्ञानले अहिले मलाई ठिक बाटोमा डोर्याइ रहेको छ । हाल सुधा चितवन राष्ट्रिय निकुञ्जको हेडक्वाटरमा मुद्धा फाँट हेर्ने जिम्मेवारीमा छन् ।

उनी कति भाग्यमानी । जागिर गर्दा गर्दै जर्मनबाट स्नाकोत्तर पनि पास गरेर फर्किन् । घरपरिवार अनि जागिर समालिन् । अहिले उनी चितवन आएको धेरै त भएको छैन । शिक्षा आर्जनको एक उच्चतम बिन्दु चुमेकी सुधालाई एक्यापको अनुभव हेरेर नै होला चितवनमा मुद्धा फाँटका फायल पल्टाउने अवसर मिलेको छ । उनको हिम्मत त अझै बढी छ । भन्छिन्, मलाई मुद्धाको मात्र होइन, जुनसुकै जिम्मेवारी दिए पनि पूरा गर्न सक्ने आँट छ । मौका पर्दा रातविरात गस्तीमा जान्छु, परि हाले भिड्न तयार हुन्छु ।
घरपरिवार अनि कार्यालयको जिम्मेवारी पूरा गर्न सफल सुधाले अहिलेसम्म काम बिगारेर गाली खाएको अनुभव छैन । उनी भन्छिन्, बरु स्याबासी भए, गाली खानु परेन । सोचबिचार गरेर काम गर्दा प्रतिफल राम्रै हुन्छ । त्यसैले उनी जहाँ जान्छिन्, जिम्मेवारीबोधका साथ काम गर्छिन ।
निकुञ्ज विभाग भित्र ‘अब्बल दर्जा’ की रेञ्जर सुधाले भनिन्, काममा महिला र पुरुष भन्ने हुँदैन । आँट छ, हिम्मत छ, दिएको जिम्मेवारी पुरा गर्न सक्छु ।
हिम्मत गरेरैै लामटाङ आईपुगेकी हुँ

जागिरको पहिलो पोष्टिङ चितवन राष्ट्रिय निकुञ्ज भयो अमृताको । हेटौडाकी अमृतालाई बिएस्सीको पढाइ सक्दा नसक्दै जागिरको पत्र हातमा आइपुग्यो । पहिलो जागिर चितवनबाट सुरु हुँदा अमृताका लागि सुखद खवर नै थियो । सँगै जागिर खाने साथीभाइहरुले चाहेर पनि चितवन पाएनन् । उनी फयाट्ट लगाएर चिवतनका जंगलमा गस्तीमा हिड्ने भइन् । उनका कतिपय साथीले भनेपनि ‘अमृताले तिमीले त भाग्यमा लेखेरै ल्याएको रहिछौँ, चितवनजस्तो ठाउँमा पोष्टिङ भयो ।’
उनले नेपालकथासँग भनिन्, पढ्दा पढ्दै जागिर हुनु नै मेरो लागि खुसी थियो, त्यसमाथि चितवन पाउनु भनेको अर्काे सुखद क्षण थियो । अनि मलाई भित्रैबाट काम गर्ने जोश जाँगर पनि आयो, मैले काम गरेर देखाउनु पर्छ भन्ने अन्तरमनले सधै झक्झक्याइ रह्यो पनि ।
उनले चितवनमा बस्दा सधैँ फिल्डको मोर्चा समालिन् । बनकट्टा, अमलटारी र लौखानी रेञ्जरपोष्टमा उनले आफ्ना पदचाप फैलाइन् । उनले ती पोष्टमा बस्दा हिम्मतका साथ काम गरिन्, कहिल्यै लरखर लरखर खुट्टा कमाइनन् । उनी भन्छिन्, मैले जे जति काम सिके, चितवनमै सिके । अहिले त मलाई काम गर्न निक्कै सहज भइरहेको छ ।
चितवनमा काम गर्दा वन्यजन्तु अपराध सम्बन्धी थुप्रै मुद्धामा अनुसन्धान गर्दाको क्षण उनलाई अझै झस्काउन्छ । अपराध गर्ने मानिस समात्यो कि ठूलठूला मानिसको फोन हाकिमलाई आउने घटनाले नेपालको राजनीति के रहेछ भन्ने उनले प्रष्टसँग बुझ्ने मौका पाइन् ।

‘मैले सधैँ फिल्डमा बसेर काम गर्ने अवसर पाए, त्यसैले म भाग्यमानी रेञ्जर हुँ । तराईमा काम गरिसकेपछि पहाड, हिमालतिरको काम गर्न हिम्मत गरेरै लामटाङ आईपुगेकी हुँ, अमृताले लामटाङ पुग्नु पछाडिको कारण खोलिन् ।
लामटाङमा काम गर्न गाह्रो नभएको बताउने अमृताले प्रत्येक दिन हिडेरै दैनिक १५÷२० किलोमिटर गस्ती गर्ने गरेका कुरा सुनाइन् । उनले भनिन्, चिफ वार्डेन महिला भएर पनि मलाई काम गर्न सहज भएको छ ।
हाल उनी लामटाङ राष्ट्रिय निकुञ्जको कालीकास्थान पोष्टमा कार्यरत छन् । प्रायः जसो फिल्डमा बस्न रमाउने अमृताले लामटाङको छोटो बसाईमा धेरै अनुभव बटुलेकी छिन् । विशेष गरेर रेडपाण्डाको चोरी शिकार हुने त्यो क्षेत्रमा उनले स्थानीय समुदायलाई सचेतना जगाउने अभियानको थालनी गरेकी छन् ।
उनले नेपालकथासँग भनिन्, राम्चे क्षेत्रमा तामाङ बस्तीहरुको बाहुल्यता छ । मैले त्यो समुदायलाई संरक्षणमा लगाउने अभियान थालनी गरेकी छु । मलाई चिफ वार्डेन म्यामको पूरा सहयोग हुँदै आएको छ । स्मरणीय छ, लामटाङमा चिफ वार्डेन सुष्मा राना छन् ।
जिम्मेवारी पाउँदा पछि हट्ने कुरै भएन

के गर्दै हुनुहुन्छ ? नेपालकथाको पहिलो जिज्ञासामा रेञ्जर बिमला पौडेलले चित्तलको मासु बेचबिखन सम्बन्धी मुद्धाको फायल अध्ययन गरिरहेको कुरा सुनाइन् । माडी क्षेत्रमा छापा मार्दा चित्तलको मासुको सुकुटी बनाएर राखेको भेटिएपछि अभियुक्तलाई थुनामा राखेर कारवाही प्रक्रिया अघि बढेको रहेछ । न्यायिक प्रक्रियामा रहेको मुद्धाको विषय भएकाले हामीले तत् सम्बन्धी धेरै सोधखोज गरेनौँ र विषयान्तर भयौँ ।
चितवन राष्ट्रिय निकुञ्जको कसरा सेक्टरमा कार्यरत रेञ्जर पौडेलसँग दुई वर्ष भन्दा बढी ढोरपाटन शिकार आरक्षमा काम गरेको अनुभव छ । सुरुको जागिर ढोरपाटनमा । उकाली ओराली हिड्दाको थकथकी अनि संरक्षण कुरो नबुझ्ने समुदायसँगको किचकिच । यी सबै झन्झट व्यहोर्दै पाको भएर चितवन झरेकी पौडेलले शनिवार बिहान भन्नुभयो, हामी गस्तीमा जान थालेको छौँ । बिना अनुमति निकुञ्ज प्रवेश गरेको सूचना आएकोले हतारमै हिड्न थालेको हो ।
चितवन र ढोरपाटनमा के फरक पाउनुभयो ? नेपालकथाको जिज्ञासामा उनले भनिन्, ढोरपाटनमा समुदाय पनि अलि अक्कडी खालको थियो । वन जंगल हाम्रो हो, यहाँको रतुवा हामीले किन मार्न नपाउने ? यहाँको जडिबुटी हामीले किन लिन नपाउने भनेर झकडा गर्ने समुदाय थियो । तर चितवनमा त्यति साह्रो चैँ छैन ।

ढोरपाटनको माथिल्लो भेगमा जाँदा समुदायमा गएर खान, बस्नकै समस्या हुने गरेको थियो । उनले भनिन्, दिनभरी जाँडरक्सी खाने मानिसहरु हुन्थे, काम थिएन । अनि हामीले भनेको कुरा बुझ्ने त कुरै भएन । संरक्षणका लागि काम गर्ने कर्मचारीप्रति उनीहरुको धारणा निकै नकारात्मक थियो तैपनि काम गरेर आइयो ।
हाल लकडाउनका समयमा चोरी शिकारका घटना बढ्ने भएकाले सेक्टरको सबै टिमसँग उनी पनि सचेत भएर बस्ने गरेकी छन् । उनले भनिन्, पहिलेको भन्दा अहिले परिस्थिति निकै फरक भएको छ । गस्तीको संख्या र समय वृद्धि भएको छ । दैनिक गस्तीमा गइन्छ अनि अरु कार्यालयको काममा व्यस्त हुनुपर्छ ।
पौडेलले संरक्षणमूखी जागिर प्रतिको प्रतिवद्धता यसरी व्यक्त गरिन्, वन्यजन्तुको संरक्षणका खातिर जस्तो सुकै समस्यासँग पनि जुध्छु भनेर जागिर खाएको हुँ । जिम्मेवारी पाउँदा पछि हट्ने कुरै भएन, सिक्दै अनुभव बटुल्दै जिम्मेवारी पूरा गर्न म सक्षम छु जस्तो लाग्छ । हालसम्मका कुनै जिम्मेवारीबाट म भागेकी छैन र भविष्यमा पनि डटेर ‘परफरमेन्स’ गर्ने छु ।
मुटु दरो गरेर काम गर्ने गरेकी छु

कलेजको पढाई सक्दा सक्दै जागिर खान पुगेकी लक्ष्मी खालिङको पहिलो पोष्टिङ कोशी टप्पु वन्यजन्तु आरक्षमा भएको हो । तीन वर्ष अघि जागिर खाँदाका बखत खालिङसँग वन विज्ञानको किताबी ज्ञान मात्र थियो । अहिले भने संरक्षणको विषयमा फ्रन्ट लाइनमा बसेर काम गर्दा उनी थोरै भएपनि ‘अनुभवी रेञ्जर’ भइसकेकी छन् ।
उनकै शब्दमा ‘किताबी ज्ञानले के पुग्थ्यो र ? काम गर्दै जाँदा पो थाहा हुन्छ । संरक्षणका काम कति गाह्रो र चुनौतीपूर्ण छ । ती सबै कुरा ‘फेस’ गर्छु भनेर जागिर खाएकोले सिक्दै, गर्दै जाने हो ।
आरक्षको हेडक्वाटरमा हुँदा उनले योजना फाँट हाँकेकी थिइन् । पछि उनी प्रकाशपुर रेञ्जपोष्टमा पुग्दा उनले काम गर्ने ‘लेडिज टिम’ पाइन् । उनी सहित सिनियर गेमस्काउट र तीन जना गेम स्काउट पनि महिला भएपछि उनलाई काम गर्न सहज भयो ।
उनले शनिवार बिहान आफ्नो अनुभव सुनाउँदै भनिन्, फिल्डमा महिलाको टिमसँग काम गर्न धेरै कुरामा सहज हँुदो रहेछ । यद्धपी उनी सहित महिलाको टोली फिल्ड गस्ती जाँदा कहिलेकाँही अप्ठ्यारो परेको थुप्रै अनुभवहरु पनि उनीसँग छन् ।

महिलाले नेतृत्व गरेर फिल्डमा जाँदाको तीतो अनुभव उनले यसरी सुनाइन्, कहिलेकाँही गल्ती गरेको मान्छेलाई पक्राउ गर्दा त उल्टो हेपेर बोल्ने, धम्की दिने समेत गर्छन् । जो चोर उसकै ठूलो स्वर, समातेर गाडीमा हुलेपछि बल्ल राम्रोसँग बोल्ने के यहाँका मान्छेहरु त । फिल्डमा हेप्नेलाई मैले देखाई दिने गरेकी छु ।
सोलुखुम्बु घर भएकी खालिङले भनिन्, फिल्डमा काम गर्न ‘मुटु दरो’ भएको हुनुपर्छ । अनि मात्र काम गर्न सकिन्छ । हुन पनि हो, खालिङले अहिलेसम्म जुन जुन जिम्मेवारी पाइन्, मुटु दरो गरेर निर्वाह गरेकी छन् ।
मैले समातेपछि मारे, काटे पनि छाड्दिन

काभ्रेकी स्मृति लामाले चितवन राष्ट्रिय निकुञ्जमा काम गरेको दुई वर्ष भन्दा बढी भइसकेको छ । लकडाउनका बेला घाँस, दाउराका लागि विना अनुमति निकुञ्जको ‘कोर एरिया’ मा प्रवेश गर्ने हुल देखेर चिन्तित रेञ्जर लामाले नेपालकथासँग भनिन्, यहाँका बासिन्दालाई कति सम्झाउने ? आज सम्झाएर पठायो, भोली त्यही मानिस जंगलमा पसेको भेटिन्छ, एक हप्तापछि पनि त्यही अनुहार देखा पर्छ ।
हाल चितवनको बनकट्टा रेञ्जर पोष्टमा कार्यरत रेञ्जर लामासँग चितवनकै बिसहजारी क्षेत्र देवनगर पोष्ट र हेडक्वाटरमा काम गरेको अनुभव पनि छ । बनकट्टा पोष्टले माडी क्षेत्रलाई पनि हेर्नुपर्छ । माडी क्षेत्र त चितवन राष्ट्रिय निकुञ्जको ‘गलगाँड’ हो भन्छन् नि भन्ने नेपालकथाको प्रश्नमा लामाले हाँस्दै भनिन्, ख्वै त्यस्तै हो कि ? जति राम्रो गरे पनि एकले सपोट गर्छ, अर्काेले बिरोध गरिहाल्नु पर्छ यहाँ । पोल्टिसाइज नभएको इस्यु नै हुँदैन कि जस्तो लाग्छ माडी क्षेत्रमा ।
किन कुरो नबुझेर होला कि ? हाम्रो जिज्ञासामा उनले भनिन्, नबुझेको त होइनन् होला तर बढी बुझेर पनि यस्तो भाको हो कि ?
त्यसो भए काम गर्न निकै गाह्रो छ है ? त्यस्तो गाह्रो त होइन, नियम कानूनले दिएको परिधि भित्र रहेर काम गर्ने हो ।
फोटोग्राफीको औधी रुची भएकी रेञ्जर लामा चितवन बसाई पछि चराको जानकार हुन थालेकी छन् । उनले भनिन्, देवनगर पोष्टमा बस्दा बिसहजारी ताल क्षेत्रमा सयौँ प्रजातिको चराहरु हेर्दा हेर्दै अब त ‘चरा गाइड’ पो बनु कि जस्तो लागेको छ । वाटर बड्जहरुको बारेमा धेरै जानकारी राख्ने लामाले निकुञ्जमा बस्दा बस्दै फोटोग्राफीको व्यवहारिक ज्ञान समेत बटुल्न पाएकी छन् ।

समुदायसँग भिज्न सक्ने क्षमता भएकी रेञ्जर लामाले भनिन्, समुदायलाई बुझ्नै गाह्रो हुन्छ । घरैपिच्छे फरक मत पाइन्छ, समाजमा कति बिचार बाझिन्छन् । यस्तो बेला कानूनी हिसाबले सही के हो ? समाजका लागि बढी लाभ के कुराले हुने गर्छ ? त्यसलाई हेरेर मैले आफ्ना धारणा राख्ने गर्छु, युवा जोश जाँगरकी लामाले समुदायसँग काम गर्दाको अनुभव सुनाइन् ।
काम गर्ने दौरानमा कार्यालयले दिएको जिम्मेवारी सबै निर्वाह गरेको बताउने लामाले भनिन्, पद पो रेञ्जरको छ, तर आइपर्दा कार्यालयमा सबै तहको मानिसले गर्ने काम गर्नैपर्छ । समुदायमा गइसकेपछि आएका इस्युलाई समाधान गरेरै फर्किनुपर्छ ।
गलत गर्ने मान्छेलाई समात्न नपाउँदै ‘छाड भनेर’ आउने दवावले नेपालको संरक्षणमा चुनौती थप्दै गएको उनको अनुभव छ । उनले भनिन्, मैले समातेपछि मारे, काटे पनि छाड्दै छाड्दिन । बरु हेडक्वाटर पठाइसके भन्छु । हेडक्वाटरमा फोन आउन्जेलसम्म दोषीलाई कारवाहीको प्रक्रियाको थालनी गरिसकेकी हुन्छु ।